
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश कार्यसमितिका प्रथम उपाध्यक्ष दीपक कार्कीलाई १०० दिनका लागि निलम्बन गरिएको छ।
संस्थाको आधिकारिक निर्णयविना उपमहानगरपालिकामा निवेदन दिई लोक नृत्य प्रतियोगिता स्थगित गराएको र यसले संस्थालाई प्रत्यक्षरूपमा हानि पु-याएको भन्दै सचिवालय बैठकको निर्णयअनुसार कार्कीमाथि अनुशासनात्मक कारबाही गरिएको हो।
बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट अनुसार विनियोजित ५ लाख रुपैयाँबाट लोक नृत्य प्रतियोगिता सञ्चालन गर्न सम्झौता भइसकेको अवस्थामा संस्थाको आधिकारिक जानकारीबिना उनले कार्यक्रम रोकेको प्रमाणित भएपछि कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यस विषयमा असार २५ गते बसेको सचिवालयको निर्णयअनुसार कार्कीलाई स्पष्टीकरण मागिएको थियो। तर, असार २८ गतेको पूर्ण बैठकमा प्रस्तुत स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै दुई तिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा कारवाहीको निर्णय लिइएको अध्यक्ष दिपु मगरले बताए ।