
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको एक वर्षे रिपोर्ट सार्वजनिक गरिएको छ ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले मन्त्री प्रकाशमान सिंहको एक वर्षे अर्थात् आर्थिक वर्ष २०८१/८२ को वार्षिक उपलब्धि सार्वजनिक गरेका हुन् ।
एक वर्षमा मन्त्रालयको वित्तीय प्रगति ५८.०६ प्रतिशत भएको छ । जहाँ मन्त्रालयको कूल बजेट ६८ अर्ब १४ करोड ३६ लाख ३८ हजार विनियोजन गरिएको थियो ।
यस वर्षभित्र ‘राष्ट्रिय शहरी नीति, २०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भइ कार्यान्वयनमा आएको प्रवक्ता मैनालीले बताए । त्यस्तै, विशिष्ट संरचना तथा सम्मेलन केन्द्र (गठन) विकास समिति (सञ्चालन तथा व्यवस्थापन) आदेश, २०८१ नेपाल सरकार (मन्त्रिपरिषद्)बाट स्वीकृत भइ कार्यान्वयनमा आएको उनले बताए ।
‘नेपाल स्मार्ट शहर सम्बन्धी सूचक २०८१ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भइ कार्यान्वयनमा आएको छ । डुम्रे भन्सार जग्गा एकीकरण आयोजना र मासटार जग्गा एकीकरण आयोजनाको अवधारणा योजना स्वीकृत तथा नेपाल सरकार मन्त्रिपरिषद्बाट जग्गा प्रतिको निर्णय भइ कार्यान्वयनमा आएको छ । बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा भइ छलफलको क्रममा रहेको छ’, उनले भने, ‘शहरी विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर छलफल हुँदैछ । वेबसाइटमा सरोकारवालाको राय/प्रतिक्रियाको लागि राखिएको छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२ मस्यौदा तयार भएको छ ।’