देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै खानेपानीको अभाव देखिएको छ । यसभन्दा पहिल्यै सिंहदबार अगाडि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य कार्यक्रमसहित उद्घाटन गरेका मेलम्ची खानेपानी आयोजनाका ढुंगे धाराहरू अहिले सुक्खा छन्।
मेलम्चीको पानी वितरण गर्न उद्घाटन गरिए पनि ती धारामा अहिले पानी बग्दैन । सिंहदरबारजस्ता उच्च प्रशासनिक क्षेत्रमै मेलम्चीको पानी नपुगेपछि जार र बोतलको पानीको भरमा दैनिकी चलिरहेको छ ।
त्यति मात्र होइन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा उद्घाटन गरेको मेलम्चीकै धाराको हालत पनि उस्तै छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राई मेलम्चीको पानी नियमित रूपमा वितरण गर्न कठिन रहेको बताउँछन् ।
‘वर्षायाममा प्राकृतिक कारणले अवरोध आउँछ’, उनले भने, ‘तर, अब आउने वर्षदेखि मेलम्चीको पानी नियमित वितरण गरेर जार र बोतलको पानी विस्थापन गर्ने योजना बनाएका छौं ।’
खर्बौं लगानीको मेलम्ची आयोजनाको लाभ काठमाडौं उपत्यकावासीले अझै पूर्ण रूपमा पाउन सकेका छैनन् । उद्घाटन गरेर फोटो खिचाउने कार्यक्रममा तामझाम भए पनि दैनिक उपभोगका लागि मेलम्चीको पानी अझै सपना जस्तै बनेको छ ।
हेर्नुहोस् लोकान्तरको भिडियो रिपोर्टिङ :