
सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।
पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको जनाउँदै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गरे ।
“बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरियो,” उनले भने, “दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुक्न लागेको छ ।”
साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन । मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।