०६ असार २०८३, शनिबार
पारिजातको बगैँचामा फक्रिएका फूलहरू

नेपाली जुडोको पर्याय बनेको ‘पाम’ : स्कूलदेखि ओलम्पिकसम्मको गौरवशाली यात्रा

साउन १०, २०८२
काठमाडौं

‘इतिहास त दुख्यो दुख्यो, वर्तमान पनि जति दुख्छ दुखोस्, एउटै चाहना बाँकी छ- भविष्य नदुखी दिए पुग्छ’ । 

चर्चिच साहित्यकार विष्णुकुमारी वाइबा अर्थात् पारिजातको कुनै रचनाको अग्रभागमा लेखिएको पंक्ति हो यो ।  

साहित्यकार पारिजात आज हामीमाझ छैनन् । आजभन्दा ३२ वर्षअघि २०५० मंसिर १९ गते यी चर्चित साहित्यकारले सदाका लागि यो धर्तीबाट बिदा लिएकी थिइन् । उनै पारिजातले स्थापना गरेको एउटा संस्थाले भने अहिले पनि नेपाली खेलकुदमा भुल्नै नसकिने गुन लगाउँदै आएको छ ।

सम्पूर्ण जीवन संघर्षमा बिताएकी पारिजातले २०४८ सालमा एउटा सामाजिक संस्था स्थापना गरेकी थिइन् । काठमाडौंको रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) नामक त्यो संस्था अहिले पनि मानवीय सेवामा निरन्तर क्रियाशील छ ।

आफ्नो पुस्तकमा लेखिएझैँ पारिजातले त्यो संस्था इतिहास र वर्तमान दुवै दु:खेका व्यक्तिहरूकै लागि स्थापना गरेकी थिइन् । जानेर वा नजानेर आफूले गरेको अपराधको सजाय भोग्न कारागारमा रहेका बन्दीका कलिला सन्तानलाई आश्रय दिने र उनीहरूको भविष्य सुखद बनाउने उद्देश्यले पारिजातले पाम स्थापना गरेकी थिइन् ।

कालजयी साहित्यकार पारिजातले स्थापना गरेको त्यही संस्था नै कालान्तरमा नेपाली खेलकुदसँग अभिन्न रूपमा जोडिन पुग्ला भनेर सायदै कसैले कल्पना गरेको थियो । नेपाली जुडो खेलसँग गाँसिएका अनगिन्ती इतिहास अहिले ‘पाम’सँगै गएर ठोकिन्छन् ।

अभिभावकविहीन बनेका कैदी बन्दीका स-साना सन्तानलाई उनले आफ्नो संस्थामा आश्रय दिएकी थिइन् । पारिजातले स्थापना गरेको यो संस्थालाई निरन्तरता दिन रानीवनका स्थानीयले लगाएको गुन पनि बिर्सिनसक्नुको छ ।

‘यो संस्था आजको अवस्थामा आइपुग्नुमा स्थानीयको ठूलो योगदान छ । लामो समय स्थानीयले गरेको मुठ्ठी दानबाटै संस्था चलेको थियो । पाममा आश्रित बालबालिकाका लागि एक मुठ्ठी अन्न नछुट्याएसम्म कसैको घरमा खाना पाक्दैनथ्यो । हामीले विगत भुलेका छैनौं,’ पामका कार्यकारी निर्देशक एवं इन्स्ट्रक्टर सूर्यनारायण श्रेष्ठ भन्छन् ।

पारिजातको निधनपछि सुकन्याको जिम्मा

२०५० सालमा पारिजातको निधनपछि उनकी बहिनी सुकन्या वाइबाले संस्थालाई निरन्तरता दिएकी थिइन् । तर, विस्तारै आर्थिक समस्याका कारण संस्थाको अवस्था नाजुक बन्दै गयो । २०६० सालको अन्त्यतिर आइपुग्दासम्म संस्था ऋणमा डुब्न पुग्यो ।

null

‘आयको गतिलो स्रोत थिएन । आश्रित बालबालिकालाई उधारो ल्याएर खुवाउनु पर्थ्यो । अवस्था कतिसम्म नाजुक बन्न पुग्यो भने संस्थामाथि करिब १० लाख रूपैयाँ ऋण थियो । साहुहरूले उधारो तिर्न संस्थामाथि दबाब बढाउँदै लगेका थिए । बालबालिकामाथि पनि मानसिक दबाब परेको थियो,’ लामो समयदेखि संस्थासँग जोडिएका एक पूर्वसदस्य भन्छन् ।  

सोही क्रममा सुकन्याको भेट डा. नारायणकाजी श्रेष्ठसँग भयो । अमेरिकाबाट अध्ययन गरेर फर्किएका नारायणकाजी विभिन्न सामाजिक कार्यमा सक्रिय थिए । सुकन्याले संस्थाको बारेमा बताएपछि उनले २०६१ सालमा संस्थामाथि लागेको १० लाख रूपैयाँ ऋण तिरिदिए र आश्रित बालबालिकाको पनि उद्धार गरे ।

आर्थिक संकट टरे पनि दिशाहीन संस्था

डा. नारायणकाजीले ऋण तिरेर बालबालिकाको उद्धार गरे पनि संस्थाले सही दिशा भने लिन सकेन । संस्थामा व्यवस्थापकीय भूमिकाको निकै अभाव थियो । सही मार्गदर्शनको अभावमा बालबालिकामा अनुशासनको कमी हुँदै गयो ।

बालबालिका स्थानीय सरकारी विद्यालय बालविकास स्कूलमा अध्ययन गर्थे । अभिभाकत्व नभएपछि मन लागे विद्यालय जाने मन नलागे नजाने प्रवृत्ति बढ्दै गयो । बालबालिकाहरू अनुशासनमा चिप्लिन थाले ।  

विद्यालयबाट पनि निरन्तर गुनासो आइरहन्थ्यो । संस्था सञ्चालकका लागि पनि यो चिन्ताको विषय बनिरहेको थियो । यसरी नै २०६६ सालसम्म संस्था अगाडि बढ्दै गयो । त्यतिबेला संस्थामा २३ जना बालबालिका आश्रित थिए ।

अनि शुरू भयो जुडोको ऐतिहासिक यात्रा

२०६६ सालमा डा. नारायणकाजीले संस्थाको दयनीय अवस्थाको विषयमा आफ्ना एक आफन्त सूर्यनारायण श्रेष्ठसँग चिन्ता व्यक्त गरेछन् । त्यतिबेला सूर्यनारायण आफ्नै व्यवसाय गरेर बसेका थिए । तर, उनी आफ्नो समयका चर्चित जुडो खेलाडी थिए ।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व पनि गरिसकेका थिए । पारिजातले स्थापना गरेको संस्था भनेपछि उनमा पनि उत्सुकता बढेछ । त्यसपछि उनले प्रारम्भमा ६ महिनाका लागि संस्थाको रेखदेख गर्ने जिम्मेवारी लिए ।

‘डा. नारायणकाजी संस्थामा आश्रित बालबालिकाको विषयलाई लिएर निकै चिन्तित हुनुहुन्थ्यो । २०६६ सालको साउनतिर मैले ६ महिनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएँ । त्यतिबेला संस्थामा २३ जना बालबालिका थिए,’ सूर्यनारायणले विगत सम्झिए ।

त्यसपछि उनले बालबालिकालाई नियमित रूपमा शारीरिक व्यायाम गराउनेदेखि उनीहरूको अध्ययनमा समेत ध्यान दिन थाले । ‘शुरूमा मैले बालबालिकाको मनोविज्ञान बुझ्ने प्रयास गरेँ । अन्य बालबालिकाजस्तै उनीहरूको चाहना पनि सीमित थियो । विभिन्न परिवेशबाट आएका उनीहरू अभिभावकत्व र मायाको खोजीमा थिए । चकलेट र म:म खाना खोज्थे । त्यसपछि विस्तारै शारीरिक अभ्यास र जुडोको कला पनि सिकाउन थालेँ,’ उनी भन्छन् ।

यसरी रानीवनमा रहेको एउटा भवनको सानो कोठाबाट पाममा आश्रित बालबालिकालाई जुडोको कखरा सिकाउने काम शुरू भएको थियो । ‘जुडो निकै अनुशासित खेल हो । त्यसैले जुडोको अभ्यास गराउन थालेपछि बालबालिका अनुशासनमा बाँधिन थाले । पुरस्कार पनि दिइन्थ्यो । पहिलो हुनेलाई पाँच, दोस्रो हुनेलाई तीन, तेस्रो हुनेलाई दुई र हार्नेलाई एउटा चकलेट । चकलेट पुरस्कार पाएपछि बालबालिका पनि लोभिएका थिए,’ सूर्यनारायण भन्छन् ।

null

अर्कोतिर, बालबालिकाको अध्ययनमा पनि क्रमश: सुधार आउँदै गयो । ६ महिनाको प्रयासमा बालबालिकामा सुधार आएको देखेपछि उत्साही बनेका सूर्यनारायणले थप ६ महिना यो जिम्मेबारी वहन गर्ने निर्णय लिए ।

उनी भन्छन्, ‘बालबालिकामा आएको सुधारलाई लिएर म पनि उत्साही थिएँ । उनीहरूले अध्ययनसँगै जुडोमा पनि राम्रो गरिरहेका थिए । सिक्ने चाहना पनि गजबको थियो । मैले पाममा जुडोको अभ्यास गराइरहेको कुरा नेपाल जुडो संघलाई समेत थाहा थिएन ।’

पहिलो सहभागितामै च्याम्पियन

२०६७ सालको भदौमा त्रियोग स्कूलले अन्तर विद्यालय जुडो च्याम्पियनसिप आयोजना गरेको थियो । प्रतियोगितामा आफ्नो संस्थाका बालबालिकालाई पनि सहभागी गराउने निर्णय लिए, सूर्यनारायणले । त्यसपछि पामका बालबालिकाले आफू अध्ययन गरिरहेको बालविकास स्कूलको नामबाट त्रियोग जुडो च्याम्पियनसिपमा सहभागिता जनाए ।

पामका बालबालिकाले पहिलो सहभागितामै चमत्कार गरेर देखाए । त्यो प्रतियोगितामा बालविकास स्कूल टिम च्याम्पियन बन्यो । प्रतियोगितामा पामका बालबालिकाले चार, स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेर सबैलाई अचम्ममा पारे । प्रतियोगितामा पामकै देवकीमाया श्रेष्ठ छात्रातर्फ र विकाश भुजेल छात्रतर्फ सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए ।

‘वास्तवमै यो अप्रत्यासित नतिजा थियो । एकातिर निजी विद्यालयहरूले प्रतियोगिताका लागि निरन्तर तयारी गरेका थिए । अर्कोतिर, पामका बालबालिकाको कतै चर्चासम्म थिएन । यो प्रतियोगिताले हाम्रा बालबालिकाको मनोबल मात्र बढाएन, उनीहरूलाई जीवनको नयाँ लक्ष्य पनि दिएको थियो,’ सूर्यनारायण भन्छन् ।​

जुडोको पर्याय बन्न पुग्यो पाम

पहिलो सहभागितामै च्याम्पियन बनेपछि पामका खेलाडीले विद्यालय र जुनियरस्तरका हरेक प्रतियोगितामा एकछत्र राज गर्दै गए । २०६७ सालमै आयोजना भएको पहिलो नेकोस अल नेपाल जुनियर जुडो च्याम्पियनसिपमा पनि पाम टिम च्याम्पियन बन्यो । त्यो प्रतियोगितामा पामका खेलाडीले तीन स्वर्ण, दुई रजत र ६ कांस्य जितेका थिए ।

२०६९ सालमा आयोजना भएको दोस्रो कनसिन कप इन्टर चिल्ड्रेन्स होम जुडो च्याम्पियनसिपमा पनि ६ स्वर्ण, पाँच रजत र पाँच कांस्य पदकसहित पाम टिम च्याम्पियन बन्यो । पामका उत्तम प्रधान त्यो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

सोही वर्ष आयोजना भएको दोस्रो नेकोस जुनियर जुडो च्याम्पियनसिपमा पनि पाम टिम च्याम्पियन बन्यो । पामका खेलाडीले त्यो प्रतियोगितामा आठ स्वर्ण, चार रजत र तीन कांस्य पदक जितेका थिए । प्रतियोगितामा पामकी मनिता प्रधान गर्ल्सतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

null

यतिमात्र होइन, त्यसपछि आयोजित दर्जनौं प्रतियोगितामा पामका खेलाडीले एकपछि अर्को सफलता हात पार्दै गए । हरेक प्रतियोगितामा टिम च्याम्पियन पाम र सर्वोत्कृष्ट खेलाडी पनि पामकै । अवस्था कस्तोसम्म रह्यो भने त्रियोगले आयोजना गर्ने प्रतियोगितामा त पामलाई सहभागिताका लागि आमन्त्रण नै गर्न छाडिएछ ।

स्कूलदेखि ओलम्पिकसम्मको यात्रा

पामको पहिलो ब्याचका खेलाडीले स्कूलस्तरका प्रतियोगिताबाट शुरू गरेको यात्रा अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै ओलम्पिकसम्म फैलिसकेको छ । पामको पहिलो ब्याचमा मनिता प्रधान, इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ, सुरेश दोङ, सरोज श्रीवास्तव, पूजा श्रीवास्तव, रोशन दोङ, सुशन दोङलगायत थिए ।

पहिलो ब्याचकी उत्पादन मनिता प्रधानले त सन् २०२४ मा फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिकमा समेत राष्ट्रको प्रतिनिधित्व गरिन् । विश्व खेलकुदकै महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउनु कुनै पनि खेलाडीका लागि चानचुने उपलब्धि होइन ।

पामबाटै जुडोको कखरा सिकेकी मनिताले २५ वर्षको उमेरमा ओलम्पिकको अनुभव बटुल्नुअघि क्याडेट हुँदै जुनियरदेखि सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पदक जितेकी थिइन् । उनले खेलेको पहिलो प्रतियोगिता पनि त्रियोग जुडो च्याम्पियनसिप नै हो । उनले आफ्नो पहिलो सहभागितामै स्वर्ण जितेकी थिइन् ।

पिस साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिप उनले पदक जितेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी मनिताले दुईवटा दक्षिण एसियाली खेलकुदमा पनि पदक जितेकी छन् । उनले दुईवटा एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेकी छन् ।

मनिताले ओलम्पिक खेल्दा सबैभन्दा खुसी सूर्यनारायण नै थिए । ‘गुरुका लागि यो सबैभन्दा खुसीको क्षण हो । आफूले तयार पारेको खेलाडी विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकसम्म पुग्छ भने एउटा प्रशिक्षकको लागि त्योभन्दा खुसीको क्षण के हुन सक्छ,’ सूर्यनारायण भन्छन् ।

मनितासँगै इन्द्र र देवकी पनि पामबाटै तयार भएका चर्चित जुडो खेलाडी हुन् । तीन दाजु–वहिनी इन्द्र, देवकी र निशा पाममै हुर्किएका हुन् । पामले यसदेखि बाहेक पनि थुप्रै प्रतिभावशाली जुडो खेलाडी उत्पादन गरिसकेको छ । 

यात्रा जारी छ

पामले हालसम्म एक सय ५० भन्दा बढी जुडो खेलाडी उत्पादन गरेर राष्ट्रलाई समर्पित गरिसकेको छ । एउटा सानो कोठाबाट शुरू भएको पामको जुडो प्रशिक्षण यात्रा अहिले एउटा सुविधासम्पन्न हलसम्म विस्तार भएको छ ।

पामको कार्यालय भवन, आश्रित बालबालिकाको आवास र प्रशिक्षण हल करिब साढे तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशिक्षण हल भने देश र विदेशका विभिन्न दाताहरूको सहयोगमा तयार भएको हो । प्रशिक्षण हल तयार पार्न मुख्य सहयोगी जर्मनीको जीएलएस, शिव सापकोटा, उनकी श्रीमती इल्से सापकोटा, ब्रिगिट (हल्याण्ड नागरिक),  अस्ट्रियन ओलम्पियन सब्रिना फिल्जमोइजर र हल्यान्डका जुडोका विश्व च्याम्पियन डेनिस भानको पनि विशेष योगदान रहेको छ ।

‘डेनिस भानले त पामको कभर्ड हल निर्माणका लागि डेनमार्कमा टेलिभिजन क्विज कार्यक्रमसमेत चलाउनु भएको थियो,’ सूर्यनारायण भन्छन् । त्यही प्रशिक्षण भवनमा विद्यार्थीका लागि लाइब्रेरी, अध्ययन कक्षलगायतका विभिन्न सुविधा पनि उपलब्ध गराइएको छ ।

null

सूर्यनारायण अहिले पनि पाममार्फत प्रतिभाशाली जुडो खेलाडी उत्पादन गर्न तल्लीन भएर लागेकै छन् । पाममा आश्रित बालबालिका मात्र होइन, उनले पामको कभर्ड हलमा स्थानीय बालबालिकालाई पनि जुडोको प्रशिक्षण दिँदै आएका छन् ।

अहिले पाममा आठदेखि १९ वर्षसम्मका १६ छात्र र १२ छात्रा गरी कूल २८ जना आश्रित छन् । यी सबैले अध्ययनसँगै नियमित रूपमा जुडोको अभ्यास गर्छन् । जुडो प्रशिक्षणमा उनीहरूसँगै स्थानीय बालबालिका पनि मिसिन्छन् ।

हाल पाममा रहेका २८ मध्ये दुईजना १२ कक्षाको परीक्षा दिएर बसेका छन् । ‘१२ कक्षा अध्ययन गर्दासम्म हामीसँग रहन्छन् । हाम्रो विधानमा स्नातक तह पढाउने व्यवस्था छैन । त्यसैले १२ कक्षा सकिएपछि हामी व्यक्तिगत पहलमा उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउँछौं,’ सूर्यनारायण भन्छन् ।

पामबाट उत्पादन भएका थुप्रै प्रतिभाशाली जुडो खेलाडी अहिले नेपाल पुलिस क्लबलगायतका विभिन्न विभागीय क्लबमा आबद्ध भइसकेका छन् । मनिता पनि पुलिस क्लबमै छिन् । केही अघिसम्म इन्द्रबहादुर पनि पुलिस क्लबमा थिए ।

तर, अहिले उनी पीएसआई नामक एउटा अन्तर्राष्ट्रिय प्रशिक्षण संस्थामा प्रशिक्षक बनेर दुबई पुगिसकेका छन् । पामबाट उत्पादन भएका कतिपय जुडो खेलाडी अहिले विदेशमा पनि विभिन्न कर्ममा सक्रिय छन् ।

स्थानीयसँगै नगरपालिका र वडाले पनि पामको गतिविधिमा सहयोग पुर्‍याउँदै आएको छ । पामका आर्थिक पक्षलाई दिगो बनाउन छुट्टै पाम फण्ड पनि स्थापना गरिएको छ । पछिल्लो समय विभिन्न व्यक्तिले आफ्नो जन्मदिनदेखि लिएर थुप्रै गतिविधि पामकै बालबालिकामाझ गर्ने गरेको सूर्यनारायण बताउँछन् ।

पामकै उत्पादनलाई जिम्मेवारी हस्तान्तरणको तयारी

पामले हालसम्म थुप्रै क्षमतावान जनशक्ति तयार पारिसकेको छ । त्यसमध्ये अधिकांश देश–विदेशमा विभिन्न क्षेत्रमा सक्रिय छन् । त्यसैले पामको नेतृत्व पनि क्रमश: यहीँका उत्पादनलाई हस्तान्तरण गर्दै जाने नीति लिइएको कार्यकारी निर्देशक सूर्यनारायण बताउँछन् ।

‘उनीहरूले दु:ख बुझेका छन् । पामका आश्रितहरू जहाँ पुगे पनि यो उनीहरूको घरजस्तै हो । अहिले र भविष्यमा यहाँ आश्रित हुनेहरूको दु:ख पनि उनीहरूले नै राम्ररी बुझ्न सक्छन् । त्यसैले यहाँको नेतृत्व पनि उनीहरूले नै सम्हाल्नु पर्छ । हामीले अहिले बोर्डमा मनितालाई पनि ल्याएका छौं,’ सूर्यनारायण भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्