
जापानमा नेपाली संगीतको महोत्सव हुने भएको छ ।
‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव आगामी अगस्ट महिनामा जापानका चार ठूला शहर; टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।
‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित शुरू हुन लागेको यो फेस्टिभलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
फेस्टिभलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूहरू स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन्। परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना चर्चित गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत् दर्शकको मन जित्ने तयारी गरेको छ ।
भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत् युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो फेस्टिभललाई आफ्नो २५ औं वार्षिकोत्सवकै रूपमा विशेष बनाउँदैछ । नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ ।
फेस्टिभल अगस्ट ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट शुरू हुनेछ, जुन क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ ।
प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रमको टिकट मेरोटिकटमार्फत् अनलाइन उपलब्ध हुनेछ । अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भीआईपी प्याकेजसहितका टिकट डिजिटल रूपमा बिक्रीमा ल्याइनेछन् । जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ ।
तीनवटै भाषामा (नेपाली, जापानी र अङ्ग्रेजी) हुने प्रचार अभियान, कलाकारहरूको डिजिटल सन्देश, पोस्टर र ब्यानरमार्फत् कार्यक्रमको व्यापक प्रचार गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
फेस्टिभल इनडोर स्थानहरूमा आयोजना गरिने भएकाले व्यावसायिक ध्वनि प्रविधि, प्रकाश व्यवस्था, सुरक्षाकर्मी, द्विभाषिक कर्मचारी र आपतकालीन तयारीसहित सुरक्षित वातावरण सुनिश्चित गरिने आयोजकले बताएका छन् ।