
चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।
अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् । गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताए ।
उनले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताए ।