०७ असार २०८३, आइतबार
संसद्‌मा शेर्पा, बस्नेत र दुलालको सक्रियता

प्रदेशसभामा जनआवाज बोल्ने तीन माननीय​

साउन १७, २०८२
विराटनगर
प्रदेशसभामा जनआवाज बोल्ने तीन माननीय​
तस्वीरमा बायाँबाट क्रमशः शेर्पा, बस्नेत र दुलाल

प्रदेशसभाप्रति आम नागरिकमा वितृष्णा बढिरहेका बेला केही माननीयहरूले भने आशा जगाउने काम गरिरहेका छन् । जनताको आवाज बोल्ने थलो संसद्‌मा अधिकांश सांसदहरू ‘जागिरे’ मानसिकताले मात्रै उपस्थित हुने गरेको आरोप लागिरहेका बेला कोशीका तीन सा‌सदले जनसरोकारका मुद्दा उठाएर प्रदेशसभालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन् ।  नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा, नेकपा (एमाले)का रमेश बस्नेत र किशोरचन्द्र दुलालजस्ता सांसदहरूले प्रदेशसभाको गरिमालाई उँचो राख्ने प्रयास गरिरहेका छन् ।

जब प्रदेशसभामा बोल्ने पालो आउँछ, माओवादी केन्द्रका सांसद गोम्बुको प्रस्तुति अरुभन्दा भिन्न हुन्छ । उनी परम्परागत भाषणभन्दा पनि गीतको माध्यमबाट जनताका समस्या र सरकारका कमजोरीहरूमाथि व्यङ्ग्यात्मक प्रहार गर्छन्, यही पृथक शैलीका कारण उनी ‘गीताङ्गे माननीय’को उपनामले समेत चिनिन थालेका छन् ।

शेर्पाले प्रदेशसभाको शून्य समयमा २९ पटक, सैद्धान्तिक छलफलमा १६ पटक र एकपटक विशेष समय लिएर बोलेका छन् । उनका हरेक प्रस्तुतिमा जनताका आवाज मुखरित हुने गरेका छन्, जसले गर्दा उनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् ।

विशेषगरी, कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा उनले गाएको व्यङ्ग्यात्मक गीतले व्यापक चर्चा पाएको थियो । भ्रष्टाचार र असमानताजस्ता विषयमा पनि उनका गीतहरूले सरकारलाई निरन्तर झक्झकाइरहेको हुन्छ । कतिपय सांसदहरूले समेत उनको पालो आउँदा ‘आज कुन गीत सुनाउने हुन् ? भनेर उत्सुकतापूर्वक पर्खिने गरेको पाइन्छ ।

गोम्बु शेर्पाको व्यङ्ग्यात्मक प्रहार, बस्नेतको तथ्यमा आधारित बहस र दुलालको विकास निर्माणका मुद्दाले प्रदेशसभामा फरक तर, गहिरो प्रभाव छाडेको छ । तीनैको प्रस्तुति शैली फरक भए पनि साझा उद्देश्य जनसरोकारका मुद्दा उठाउनु हो ।

उनको यो शैलीले प्रदेशसभाको गम्भीर बहसमा एक प्रकारको नयाँपन थपेको छ भने जनताको ध्यानाकर्षण गर्न पनि सफल भएको छ । कतिपयले उनको शैलीलाई औपचारिक नभएको भनेर टिप्पणी गरे पनि, धेरैले यसलाई जनताको आवाजलाई जीवन्त रूपमा प्रस्तुत गर्ने एक प्रभावकारी माध्यमको रूपमा लिएका छन् ।

कोशी प्रदेशसभालाई जीवन्त राख्न योगदान दिने अर्का महत्वपूर्ण सदस्य हुन् रमेश बस्नेत । बस्नेतले ३८ पटक प्रदेशसभामा जनआवाज उठाएका छन् । उनले शून्य र सैद्धान्तिक छलफलमा १७/१७ पटक तथा ३ पटक विशेष समय लिएर बोलेका छन् ।

उनका सम्बोधनहरू प्राय: जनसरोकारका मुद्दामा केन्द्रित हुने गरेका छन् ।  हालसालै उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए । उनी एमालेका हुन् ।

त्यस्तै, तेह्रथुमबाट निर्वाचित एमालेकै सांसद किशोरचन्द्र दुलाल पनि प्रदेशसभामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनले ३६ पटक सभामा बोलेका छन्, जसमा शून्य समयमा २१ पटक, सैद्धान्तिक छलफलमा १४ पटक र अन्य विषयमा १ पटक बोलेको तथ्याङ्क छ । दुलालले पनि जनताका आधारभूत आवश्यकता र विकास निर्माणका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने गरेका छन् ।

उनीहरूले प्रदेशसभालाई केवल औपचारिकता पूरा गर्ने थलोको रूपमा मात्र नभई, जनताका समस्याको समाधान खोज्ने एक सशक्त मञ्चको रूपमा स्थापित गर्न प्रयास गरिरहेका छन् ।

प्रदेशसभाको कामकारबाही प्रभावकारी नभएको र संघीयताको मर्मअनुसार जनताले प्रत्यक्ष लाभ पाउन नसकेको गुनासो बढिरहेको छ । राजनीतिक अस्थिरता र सरकार परिवर्तनको शृंखलाले पनि प्रदेश सभाप्रतिको विश्वासमा कमी ल्याएका बेला यी सांसदहरूले भने केही सकारात्मक सन्देश दिएका छन् ।

यस्तो, निराशाजनक परिवेशमा, गोम्बु शेर्पा, रमेश बस्नेत र किशोर चन्द्र दुलालजस्ता सांसदहरूको सक्रियताले आशाको सञ्चार गरेको छ । उनीहरूले प्रदेश सभालाई केवल औपचारिकता पूरा गर्ने थलोको रूपमा मात्र नभई, जनताका समस्याको समाधान खोज्ने एक सशक्त मञ्चको रूपमा स्थापित गर्न प्रयास गरिरहेका छन् । निरन्तरको सक्रियता र जनपक्षीय आवाजले अन्य सांसदहरूलाई पनि जिम्मेवार बन्न प्रेरित गर्ने उनीहरूको विश्वास छ ।

कमेन्ट गर्नुहोस्