
पश्चिम नवलपरासीस्थित बर्दघाटका निर्मल खरेल र रोहित खरेल वैदेशिक रोजगारीका लागि पोल्यान्ड जान भनी असार २९ गते घरबाट बिदा भएर काठमाडौं आए ।
बिहान ७ बजे काठमाडौं आइपुगेका उनीहरू पुरानो बसपार्कस्थित मित्रनगरमा रहेको गेस्ट हाउसमा बसे । नाताले निर्मल रोहितका सहोदर काका हुन् ।
गेस्ट हाउसमा केहीबेर आराम गरेपछि उनीहरू सैलुनमा पुगेर कपाल र दाह्री काटे । जुत्तामा पोलिस पनि गराए । नजिकै रहेको रेस्टुरेन्टमा गएर तन्दुरी र बटर चिकेन खाए । साँझ बिजी मलनजिकै एउटा सेकुवा कर्नरमा छिरे । त्यहाँ उनीहरूले सेकुवा, सुकुटी, साँधेको चाउचाउसँगै बीयर र ह्विस्की खाए ।
उनीहरू गेस्ट हाउसमा पुग्दा रातिको ८ बजिसकेको थियो । बसेकै गेस्ट हाउसमा खानाको अर्डर गरिसकेका थिए । ३०/३५ मिनेटमा खाना तयार हुने बताएपछि खुट्टा तन्काउने भन्दै काका–भतिज पुन: बाहिर निस्किए ।
बसपार्कभित्र टहल्दै गर्दा केही युवाले उनीहरूलाई केटी मिलाइदिने भन्दै डान्सबारमा जान अफर गरे । ‘१८/१९ वर्षका कलेज पढ्ने केटीहरू छन्, तपाईंहरूलाई चाहिने भए हिँड्नुस्, म मिलाइदिन्छु,’ भनेर एक युवाले प्रस्ताव राखे ।
निर्मल र रोहित ‘जाऊँ न त, कस्तो हुँदो रहेछ’ भन्दै कानेखुसी गरेर डान्सबारतिर लागे । माछापोखरीमा रहेको एउटा डान्सबारमा पुर्याइएका उनीहरू ‘यहाँ राम्रो छैन’ भनेर बाहिर निस्किए ।
डान्सबारका गार्डले ‘यहाँ राम्रो नभए, अन्त मिलाइदिन्छु’ भन्दै पुन: अर्को डान्सबारमा पुर्याउँदा त्यहाँ उनीहरूसँग पहिल्यै पैसा मागियो । ‘शुरूमै पैसा माग्ने भए हामी जाँदैनौं’ भन्दै काका–भतिज बाटो लागे ।
पहिल्यै भेटेका गार्ड फेला परे । ती गार्डले ‘शुरूमा पैसा नमाग्ने डान्सबारमा लगिदिन्छु’ भनेर पुरानै डान्सबारमा लगिदिए । निर्मल बाहिरै बसे । रोहित डान्सबारभित्र छिरे ।
डान्सबारभित्र छिर्नेबित्तिकै रोहितसँग ६ हजार मागियो । रोहित काका निर्मलसँग माग्छु भनेर बाहिर निस्किए । फेरि पहिल्यै पैसा माग्दोरहेछ भनेर दुवैजना उक्त डान्सबारबाट हिँडे ।
त्यति नै बेला गार्डले फोन गरेर १०/१२ जना केटा बोलाएपछि काका–भतिज त्यहाँबाट भागे । माछापोखरी र बसपार्क जोड्ने पुलमाथि चिया पिउन उनीहरू अड्किए ।
त्यति नै बेला पुलमा शुरूमा डान्सबार जान प्रस्ताव गर्ने विजय तामाङसँग उनीहरूको भनाभन भयो । तर, रोहित र निर्मलले त्यहाँ भनाभन र झगडा भएको व्यक्ति अरू नै भएको बयान दिएका छन् ।
आफूहरूलाई अपरिचित व्यक्तिले अश्लील गाली गरेकाले रिस थाम्न नसकेर दुई/चार झापड हानेको उनीहरूको बयान छ । त्यहाँ समात–समात भन्दै केटाहरू पछाडि लागेपछि भागेको उनीहरूले बताएका छन् ।
रातको साढे ११ बजिसकेको थियो । निर्मल र रोहितले बिहान बुक गरेको गेष्ट हाउसको लोकेसन पनि ठम्याउन सकेनन् । अर्कै होटलमा बस्न पुगे । असार ३० गते बिहान ४ बजे टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोली उनीहरूलाई पक्राउ गर्न होटलमै पुग्यो ।
त्यति बेलासम्म आफूहरूलाई प्रहरीले किन पक्राउ गरेको भन्ने दुवैले भेउ पाएका थिएनन् । प्रहरीले उनीहरूलाई ‘तिमीहरूले पुलबाट मान्छेलाई फालेछौ, त्यो मान्छेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ भन्यो । अनि दुवैजना झल्याँस्य भए । गोंगबुका विजय तामाङको उपचारका क्रममा ट्रमा सेन्टरमा असार ३१ गते मृत्यु भयो । परिवारका तर्फबाट विजयका दाइ राकेशले निर्मल र रोहितविरुद्ध कर्तव्य ज्यान मुद्दामा पूरक जाहेरी दिएका थिए ।
प्रहरीसँगको बयानमा निर्मल र रोहितले भनेका छन्, ‘हामी काका–भतिज पोल्यान्ड जान भनेर घरबाट बिदाबारी भई काठमाडौं आएका थियौं । डान्सबार पनि गएकै हौं । चित्त नबुझेपछि फर्किँदा माछापोखरी पुलमा चिया पिउने क्रममा एक जनासँग सामान्य भनाभन भएको हो, कसैलाई कुटपिट गरेको छैन ।’
दुवै जनाले मृत्यु भएको भनिएका विजयले आफूहरूलाई डान्सबारमा लगेको, तर पुलमा भनाभन परेका व्यक्ति उनी नभएको दाबी बयानमा गरेका छन् ।
घटनाका प्रत्यक्षदर्शीसँग समेत प्रहरीले सोधपुछ गरेको थियो । निर्मल र रोहितसँग विजयको भनाभन परेको र हातले धकेल्दा विजय अचानक पुलमुनि खसेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख छ ।
प्रहरीले निर्मल र रोहितको पोलिग्राफ परीक्षण समेत गरेको छ । परीक्षण रिपोर्टमा कुनै छलकपटको संकेत नभएको उल्लेख छ । प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान टुंग्याएर सरकारी वकिलमार्फत बुधबार मात्रै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक निराजन थापाका अनुसार निर्मल–रोहितले विजयलाई हातपात गरेको र धकेल्दा पुलमुनि खसेपछि उनीहरू भागेको एकजना प्रत्यक्षदर्शीले बताएको तथा सीसीटीभी फुटेजमा समेत उनीहरू भागेको देखिएपछि मुद्दा चलाइएको हो ।
डीएसपी थापाले भने, ‘निर्मल र रोहितले विजयलाई मार्ने उद्देश्यले नभएर हात हालाहालको अवस्थामा धकेल्दा विजय एक्कासि पुलमुनि खसेका हुन्, घटना वारदातमा उनीहरूकै संलग्नता देखिएको प्रमाणले पुष्टि गरेको छ ।’