
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध १७ करोड ७२ लाख ७ हजार १७४ रूपैयाँ ठगी गरेको भन्दै विभिन्न कसूरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम संगठित रूपमा ठगी गरेको भन्दै गुरुङविरुद्ध आइतबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।
‘यसरी निज प्रतिवादी ज्योती गुरुङले सहकारी संस्थाको जम्मा ठगी गरेको रकमको निजले फिर्ता गर्नुपर्ने साँवा, ब्याजसहित हुन आउने रकम १४ करोड २९ लाख २४ हजार ७५४ रूपैयाँ, ज्योती बहादुर भण्डारी समेतसँग मिलेमतो गरी स्क्याममा पारी ठगी गरेको बैंक खातामा जम्मा भएको ३ करोड ३७ लाख ४९ हजार ६२० रूपैयाँ, मेनुका केसीले कुम्भराज गुरुङबाट नगदै लिएको ४ लाख ५० हजार रूपैयाँ र हर्क बहादुर बुढाथोकीले लिनुपर्ने रकम कृपेश घिमिरेले कृष्ण बहादुर रानाबाट नगदै लिएको रकम ८२ हजार ८ सय रूपैयाँ गरी गरी ज्योती गुरुङ समेतले स्क्याममा पारी ठगी गरेको जम्मा रकम ३ करोड ४२ लाख ८२ हजार ४२० रूपैयाँ गरी जम्मा ठगी भएको रकम १७ करोड ७२ लाख ७ हजार १७४ रूपैयाँ देखिएको,’ अभियोगपत्रमा उल्लेख छ ।
ज्योति गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाका १४२ जना बचतकर्ताहरूको ९ करोड ८८ लाख २५ हजार ११३ रूपैयाँ अपचलन गरेकी अभियोगपत्रमा उल्लेख छ ।
२०८१ असोज सम्मको ब्याज ४ करोड ४० लाख ९९ हजार ६४१ रूपैयाँ भई १४ करोड २९ लाख २४ हजार ७५४ रूपैयाँ बचतकर्ताकै ठगी भएको अभियोगपत्रमा उल्लेख छ ।
ज्योति गुरुङका साथै ज्योती बहादुर भण्डारी, सुवास खत्री, अर्जुन आरम, प्रदीप भन्ने प्रितम अधिकारी, सुरेश अधिकारी, विजय कुमार राई र कुम्भराज गुरुङलाई समेत प्रतिवादी बनाइएको छ ।
ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजय कुमार राई र प्रदीप भन्ने प्रितम अधिकारी समेतका नाममा पक्राउ पूर्जी जारी हुन समेत माग गरिएको छ ।
उनीहरूविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा,नेपाल राष्ट्र बैंक ऐन बमोजिम, तथा संगठित अपराध निवारण ऐन बमोजिमको कसुरमा सजाय हुन माग गरिएको छ ।
२०७६ माघ १८ देखि फरार रहेकी ज्योति गुरुङ हाल अमेरिकामा रहेको बताइएको छ ।
यही सहकारी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति गुरुङ भने उन्मुक्ति पाएका छन् । सीआईबीले उनीसँग दुईपटक बयान लिएपनि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदा प्रतिवादी बनाएन ।
त्यसअघि एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी सम्बन्धी छानबिन गर्न भनेको संसदीय विशेष समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको थियो ।