
बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँको अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
टोखाका स्थानीय कृषक केदार बिडारीले जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौँ उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताए । “काठमाडौँ उपत्यका कृषिका लागि उर्वर भूमि हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्,” उनले भने ।
नेपालमा धान उत्पादन र किसानको श्रमको सम्मान गर्न प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । टोखाकै अर्का किसान साम्बाल श्रेष्ठले पछिल्लो समय काठमाडौँभित्रका खेतीयोग्य जमिनमा घर बन्न थालेकाले यहाँको खेती हराउँदै गएको बताए ।
पछिल्ला वर्षमा सहर विस्तार, अव्यवस्थित बस्ती विकास तथा खेतीयोग्य जमिन घडेरीमा रूपान्तरण हुने क्रम बढेसँगै धान रोप्ने खेतहरू निरन्तर घटिरहेको उनको भनाइ छ । यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा चुनौती थपिएको उनले बताए ।
पछिल्लो समय युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण, सिँचाइको अभाव, उन्नत बीउ तथा मलको सीमित उपलब्धता र खेतीयोग्य जमिनको खण्डीकरणले धान खेती प्रभावित भइरहेको छ । टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठकले टोखाभित्र मात्र हाल ४०० हेक्टर जग्गा खेतीयोग्य रहेको बताइन् । टोखा क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले प्रविधियुक्त खेती प्रणालीको विकासमा जोड दिएको उनको भनाइ छ ।
टोखाले विभिन्न समयमा किसानलाई मल, बीउ, बिरुवालगायत उपलब्ध गराउँदै आएको छ । यसबाहेक टोखाले तरकारीमा आत्मनिर्भर बनाउन छतमा तरकारी खेतीलाई समेत प्रोत्साहन गरेको छ । कृषियोग्य जमिन संरक्षण, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी सिँचाइ व्यवस्था र किसानलाई प्रोत्साहन गर्ने नीति टोखाले लिएको उनको भनाइ छ । टोखाले प्रत्येक वर्ष असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।
उक्त धान दिवस कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय किसानको सहभागिता रहेको थियो । सोही अवसरमा टोखाभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई धान रोप्ने तरिकाबारे सिकाइएको थियो । सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । टोखा नगरपालिकाको वडा नं. १, २ र ३ मा हालसम्म खेतीयोग्य जमिन रहेको छ । अन्य वडा भने क्रमशः सहरीकरण हुँदै गएका छन् ।