
भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो । आयोजकका अनुसार दर्शक पनि अनुमान गरेको भन्दा ठूलो संख्यामा जुटेका थिए ।
‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुशीका यी आँसु र हाँसोको मूल्य नै बढी छ ।’
अवसरको खोजीमा युरोपको यो कुनासम्म आइपुगेका नेपालीमाझ नेपथ्य कन्सर्टको माहोल केही दिनअघि नै शुरू भइसकेको थियो । कतिपयका भोगाइ आफैंमा कथाजस्ता थिए । जस्तो कि, मनिष रायमाझी ।
६ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनिषले केही वर्षअघि ‘शिरफूल शिरैमा’ सुनेका थिए । लगत्तै गीतमा उल्लिखित रुट पछ्याए । स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे ।
‘नेपथ्यले मलाई मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दिने गरेको छ,’ मनिष भन्छन्, ‘यस्तो ब्यान्ड पोर्चुगल आउन लागेको जानकारी पाएकै क्षणदेखि म खुशी थिएँ ।’
अन्ततः आइतबारको रात प्रतीक्षाको त्यो घडी सामुन्ने आइपुग्यो । बेलुकी ‘लिस्बोआ अओ भिभो’ हलका ढोकाहरू खुले । हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो ।
मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत शुरू भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो- ‘नेपथ्य, नेपथ्य’। त्यही नाराका बीच मञ्चमा गायक अमृतले पहिलो कोसेली सुनाए- ‘कोशीको पानी यो जिन्दगानी’। त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दिए । दुवै तर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।

‘हामी नेपाली जहाँ गए पनि भाषाले एकापसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यस भाषालाई भावी सन्ततिसम्म विस्तार गरौं है ।’
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत ‘आँगनैभरि’देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको ‘कर्नालीका छाइला’सम्ममा दर्शक उत्तिकै रमाएर नाचे । ‘जोगले हुन्छ भेट’ जस्ता कतिपय गीतमा शुरूदेखि अन्त्यसम्म सिङ्गो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो ।
किबोर्डको धुन बज्नेबित्तिकै अब ‘यो जिन्दगानी’ गाइँदै छ भन्ने भेउ दर्शकले पाइसकेका थिए । यो गीत प्रस्तुत गर्ने क्रममा अमृतले स्वदेशमा पढ्ने अवसर नपाएका केटाकेटीका निम्ति सक्दो योगदान गर्न युरोपका मनकारी दर्शकलाई अनुरोध पनि गरे ।
दर्शक घेरामै बेल्जियमको राजधानी ब्रसेल्सदेखि आएका दावा शेर्पा पनि थिए । ‘बेल्जियममा हुने कन्सर्टमा सहभागी हुन नभ्याउने भएपछि म पोर्चुगलकै शो भ्याउन आइपुगेको हुँ,’ दावा भन्दै थिए, ‘आफू बसेको ठाउँमा सबैजसो नेपाली कार्यक्रम हेर्ने गरेको भए पनि यस ब्यान्डका मामलामा चाहिँ यसरी लामै यात्रा गरेरै भए पनि छुटाउन मन लागेन ।’ कन्सर्ट हेरिसकेपछि चिताएको भन्दा बढ्ता रमाइलो र ऊर्जावान् लागिरहेको प्रतिक्रिया उनले दिए ।
अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि नेपालका पर्यटकीय स्थलका महत्त्वको बयान गर्दै बिदामा घर गएको बेला पदयात्रा गर्न दर्शकलाई आह्वान पनि गरेका थिए । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

पोर्चुगलको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अर्को मुलुक बेल्जियम पुगिसकेको छ । सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’मा अबको प्रस्तुति रहनेछ । बेल्जियमको प्रस्तुतिसँगै एक महिनाअघि लन्डनको वेम्बली एरिनाबाट शुरू भएको नेपथ्यको युरोप यात्रा सम्पन्न हुनेछ ।
युरोपका सबै कन्सर्टमा जस्तै बेल्जियममा पनि दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने ब्यान्डले जनाएको छ ।
सबै तस्वीर : दिपित राज / नेपालय