
मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएको गोरखापत्र दैनिकले समाचार छापेको छ ।
यो सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान हो । यसभन्दा पनि बढी क्षतिको अनुमान छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा नपरेको समाचारमा उल्लेख छ । सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ ।
सबैभन्दा धेरै सवारीसाधन सडक विभागका नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताउनुभयो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन् ।