
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको दुई महिनामा १ सय ५४ व्यापारिक प्रतिष्ठानलाई कारबाही गरेको छ । विभागले उनीहरूलाई ९२ लाख ८० हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय २२ पटक अनुगमन गरिएको थियो । यसमध्ये १५४ व्यापारिक प्रतिष्ठानमा कैफियत भेटिएपछि उनीहरूलाई जरिवाना गरिएको हो ।
कारबाहीमा पर्नेहरूमा विभिन्न कन्सल्टेन्सी, खाद्य वस्तु, रेडिमेड तथा थान कपडा पसल, अटो पार्ट्स, कस्मेटिक, होटल तथा रेष्टुराँ, फर्निचर, जुत्ता चप्पल, इलेक्ट्रिक, डेरी, डिपार्टमेन्ट स्टोर, स्कूल तथा कलेज धेरै छन् ।
विभागले कन्सल्टेन्सीलाई ३१ लाख ७० हजार, अन्यलाई १४ लाख ९७ हजार, खाद्य वस्तु प्रतिष्ठानलाई १० लाख ८८ हजार, रेडिमेट कपडा पसललाई ४ लाख १७ हजार, अटो पार्ट्सलाई ३ लाख ३५ हजार, होटल तथा रेष्टुराँलाई ४ लाख ८१ हजार, फर्निचरलाई ३ लाख २३ हजार, स्कूल तथा कलेजलाई २ लाख ५५ हजार, डेरीलाई २ लाख २५ हजार र इलेक्ट्रिक पसललाई २ लाख २५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
अनुगमनका क्रममा ५५ हजार रुपैयाँ बराबरको गुणस्तरहीन सामग्री नष्ट गरिएको अनुगमन निर्देशक झाले जानकारी दिए ।
नियमित अनुगमन बाहेक पनि विभागले चाडबाड लक्षित ६ वटा संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।