
दुबईमा आधारित नेपाली संगीत समूह काव्या ब्यान्डले नयाँ देशभक्तिपूर्ण गीत ‘म त केवल नेपाली’ सार्वजनिक गरेको छ।
हालैको जेनजी आन्दोलनले जगाएको राष्ट्रिय चेतना र युवाको बलिदानी भावनालाई समेट्दै ब्यान्डले यो गीत ल्याएको जनाइएको छ । गीतलाई ब्यान्डले सम्पूर्ण नेपालीहरूको आत्मा समेट्ने आवाजका रूपमा प्रस्तुत गरेको छ।
गीतले सहिदहरूप्रतिको श्रद्धाञ्जली मात्र होइन, एक नयाँ, न्यायपूर्ण र स्वाभिमानी नेपालको आकाङ्क्षा बोकेको भावपूर्ण सन्देश दिन्छ। ‘म त केवल नेपाल’ शब्दले नेपाली हुनुको गौरव, देशप्रेम, र परिवर्तनको हुंकारलाई बलियो रूपमा बोकेको छ।
ब्यान्डले वक्तव्यमा भनेको छ, 'यो गीत हामी सबैका लागि एउटा सङ्कल्प हो चाहे जहाँ बसौँ, हाम्रो पहिचान भनेको नेपाल नै हो। हामी माटोभन्दा टाढा हुन सक्छौँ, तर भावना सधैं यही देशमा बस्छ।' गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरूमा हेर्न सकिनेछ ।