०७ असार २०८३, आइतबार
डिजिटल युगमा नेपाल

डिजिटल दशैं : किराना सामान, लत्ता–कपडादेखि दक्षिणासम्म अनलाइनमा !

असोज १६, २०८२
काठमाडौं
डिजिटल दशैं : किराना सामान, लत्ता–कपडादेखि दक्षिणासम्म अनलाइनमा !

कञ्चनपुरका भीम बढुवालले जापानबाट आफ्ना भाइ मुकेशको खातामा ६० हजार रुपैयाँ पठाइदिए । भीमले दशैंका लागि लत्ताकपडा खरिद गर्न भनेर उक्त रकम पठाएका थिए । तर, गज्जबको कुरा त के भने भीमका भाइ गाउँमा बस्ने भए पनि सम्पूर्ण रकम अनलाइनबाटै खर्च गरे ।

मुकेशले आफ्ना लागि लत्ताकपडादेखि घरका लागि टिभी, आमाका लागि मोबाइल र किचेनका सामाग्रीहरूसम्म खरिद गर्दा अनलाइनबाटै भुक्तानी गरेको सुनाए । 

‘आफ्ना लागि कपडा खरिद गरेको भुक्तानी अनलाइनबाटै गरें । घरका लागि नयाँ टीभी, आमाका लागि नयाँ मोबाइल र किचेनको सामान खरिद गर्दा पनि अनलाइनबाटै भुक्तानी गरें’, मुकेशले सुनाए, ‘अन्य सामानहरूका लागि पनि अनलाइनबाटै भुक्तानी गरें । अहिले गाउँका पसलहरूमा पनि क्यूआर हुन्छ । निकै सजिलो भएको छ । पैसा निकाल्नै पर्दैन ।’

मुकेशले अनलाइन शपिङ प्लेटफर्म दराजबाट एयरवर्ड खरिद गरेर अनलाइनमार्फत नै भुक्तानी गरेको बताए । 

***

यता काठमाडौंको कोटेश्वरमा बस्दै आएका अभिषेक भण्डारी करिब ४ वर्षदेखि भौतिक रूपमा बैंकमा नगएको सुनाउँछन् ।

बैंकमा खाता खोले पनि अहिलेसम्म कुनै पनि कामका लागि बैंक नगएको उनको भनाइ छ । यसका साथै नगद रकम र नगद कारोबार पनि बिरलै गर्ने उनले बताए ।

‘करिब ४ वर्ष भयो होला, अहिलेसम्म बैंक गएको छैन । त्यही खाता खोल्दा मात्रै होला, त्यसपछि जानुपरेको छैन’, उनले भने, ‘सबै कारोबार अनलाइनमार्फत नै गर्ने गर्छु । मालसामान खरिद गर्नका लागि पनि अनलाइनमार्फत नै भुक्तानी भइहाल्छ । नगद बोकिरहनु पर्दैन ।’ 

सबैभन्दा बढी अनलाइनमार्फत शपिङ गर्ने उनी सानातिना कारोबार पनि मोबाइल बैंकिङ र वालेटहरूबाटै गर्छन् ।

‘अहिले प्राय:जसो दशैं पूर्णरूपमा डिजिटल भएको छ भन्दा फरक पर्दैन । दशैंका लागि शपिङदेखि दक्षिणासम्म सबै डिजिटल नै हुन्छ’, उनले भने, ‘डिजिटलाइजसनले निकै सजिलो पनि बनाइदिएको छ । हाम्रो त यो आवश्यकता नै बनिसकेको छ ।’

बैंकिङ पहुँच र डिजिटलाइजेसनतर्फ

आजभन्दा करिब १२ वर्षअघि २०७० सालमा फर्कँदा नेपालमा कुल १ करोड १४ लाख ३ हजार ८५ वटा बैंक खाता खोलिएका थिए, जुन २०८२ सम्म आइपुग्दा साढे ६ करोड बढी पुगिसकेको छ । 

१२ वर्षअघि देशभर १ हजार ४९९ वटा पैसा निकाल्ने मशिन अर्थात् एटीएमहरू  सञ्चालनमा थिए । अहिले ५ हजार २ सय बढी एटीएम मशिनहरू देशभर सञ्चालनमा छन् । तत्कालीन समयमा भौतिक रूपमा उपस्थित भएर कारोबार गर्ने नेपालीहरू अहिले मोबाइलबाटै अधिकांश बैंकिङ कारोबार गर्ने गर्दछन् । 

गत असारमा इतिहासकै सर्वाधिक डिजिटल कारोबार भएको थियो । सो महिनामा मात्रै ११३ खर्ब ३५ अर्ब २२ करोड १० लाख रुपैयाँको डिजिटल कारोबार भएको हो ।

नेपाली समाजको परम्परागत लेनदेन र भुक्तानीको तरिकाले नयाँ स्वरूप लिएको यसबाटै अनुमान गर्न सकिन्छ ।

तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाहरूमा भौतिक रूपमा उपस्थित भएर रुपैयाँको कारोबार हुने गर्दथ्यो । तर, पछिल्लो ४/५ वर्षमा नेपालले डिजिटल प्रणालीहरूमार्फत हुने कारोबारलाई बढाउँदै लगेको देख्न सकिन्छ । 

नेपालमा यसरी विकास हुँदैछ डिजिटल प्रणालीमा आधारित कारोबार 

२०७० असार मसान्तसम्म नेपालमा २०७ वटा बैंक तथा वित्तीय संस्थाहरू रहेका थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार यति बेला १ करोड १४ लाख ३ हजार ८५ नेपालीहरूको बैंकमा खाता रहेको देखिन्छ । देशभर १ हजार ४९९ वटा पैसा निकाल्ने मशिन अर्थात् एटीएमहरू सञ्चालनमा थिए । 

एक वर्षपछि अर्थात् २०७१ असार मसान्तसम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेर २०४ पुगेको थियो ।

यति बेलासम्म बैंकहरूमा १ करोड ३१ लाख २९ हजार ५७४ खाताहरू खुलेको देखिन्छ । र, एटीएमहरू १ हजार ६५२ वटा सञ्चालनमा आइसकेका थिए । 

२०७२ असार महिनासम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १९२ मा झरिसकेको थियो । बैंकहरूमा १ करोड ४९ लाख ३४ हजार ६१८ निक्षेप खाताहरू खुलिसकेका थिए । देशभर १ हजार ७२१ वटा एटीएम पनि सञ्चालनमा आइसकेका थिए । देशका कुना–कुनामा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पनि बढिरहेको थियो । जसले गर्दा बैंकिङ साक्षरता बढ्दै जाँदै थियो ।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको अभिलेख

२०७३ सालमा केही वित्तीय संस्थाहरू बन्द तथा केही मर्ज भएर देशमा १७९ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका थिए । बैंकहरूमा १ करोड ६८ लाख ३६ हजार १७ खाताहरू खुलिसकेका थिए । यसै वर्षदेखि नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ता र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको तथ्यांक राख्न शुरू गरेको देखिन्छ । पहिलो वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू १७ लाख ५४ हजार ५६६ रहेका थिए । त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू ५ लाख १५ हजार ४६५ रहेका थिए । र, देशभर १ हजार ९०८ वटा एटीएमहरू सञ्चालनमा आइसकेका थिए ।

२०७४ सालसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरू घटेर १४९ वटामा सीमित भएका थिए । यस वर्षसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २६ लाख ६९ हजार ७३२ पुगिसकेको थियो । इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू बढेर ७ लाख ८३ हजार ८५१ पुगेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्ने संख्या पनि १ करोड ९७ लाख ५४ हजार ३६ वटा पुगिसकेको थियो । र, देशभर २ हजार ८१ वटा एटीएम मशिनहरू पनि विस्तार भैसकेका थिए ।

त्यस्तै, ०७५ असार महिनासम्म आइपुग्दा देशमा बैंक तथा वित्तीय संस्थाको संख्या १५१ वटा, मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ५० लाख ८६ हजार ६९ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको संख्या ८ लाख ३४ हजार ३०२ पुगिसकेको थियो ।

यति बेलासम्म देशभर २ हजार ७९१ एटीएम मशिनहरू विस्तार भएका थिए भने बैंकमा खाता खोल्नेको संख्या पनि २ करोड ३५ लाख ४४ हजार ९५९ पुगिसकेको थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताहरू बढ्दै

आर्थिक वर्ष २०७५/७६ को असार महिनासम्म आइपुग्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढेर १७० पुगेको थियो । यस वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ताहरू करिब ३३ लाखले बढेर ८३ लाख ४७ हजार १८७ पुगेका थिए । इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको संख्या ९ लाख १७ हजार ३४४ पुगेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्म बैंकहरूमा कुल ३ करोड २४ लाख ५४ हजार २०४ वटा निक्षेप खाताहरू खुलिसकेका थिए । मोबाइल बैंकिङ प्रयोगकर्ताहरू पनि बढेर १ करोड १३ लाख ६ हजार ७९७ पुगिसकेका थिए । इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरू पनि १० लाख ३१ हजार २२७ पुगेका थिए । यति बेलासम्म देशभर ४ हजार १०६ वटा एटीएम मशिनहरू सञ्चालनमा आइसकेका थिए ।

२०७८ सालदेखि २०८० सालसम्म आउँदा नेपालमा ५ करोड ११ लाख ७७ हजार ९२३ बैंक खाताहरू खोलिएको देखिन्छ । सँगै, मोबाइल बैंकिङ प्रयोगकर्ता पनि २ करोड १३ लाख ६३ हजार ९८९ पुगिसकेको तथ्यांकले देखाउँछ ।

२०८१ असार मसान्तसम्म ५ करोड ५८ लाख ९५ हजार ७८० बैंक खाता खुल्दा २ करोड ४६ लाख ४८ हजार बढी मोबाइल बैंकिङ प्रयोगकर्ता पुगिसकेका थिए ।

र, २०८२ साउन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६ करोड १ लाख ५८ हजार ४३३ खाता खुलिसकेका छन् ।

यता मोबाइल बैंकिङ प्रयोगकर्ता पनि २ करोड ७९ लाख ८८ हजार २४७ पुगिसकेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

मुलुक डिजिटल युगमा प्रवेश गरिसक्दा सामान्य किनमेल मात्र होइन, दशैंको दक्षिणा समेत अनलाइनमार्फत दिने प्रचलन आइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्