२५ जेठ २०८३, सोमबार

यस्तो छ दशैंमा टीका लगाउँदा भन्ने मन्त्रको अर्थ

असोज १६, २०८२
काठमाडौं
यस्तो छ दशैंमा टीका लगाउँदा भन्ने मन्त्रको अर्थ

विजयादशमीको दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दशैंघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । 
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।

आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 
  
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नास होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।
 
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । 

 जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।
 दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटोमा भीड लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्