
पर्यटन र धार्मिक विकासमा परिचित विक्रम पाँडेकाजी लुम्बिनी आउने पर्यटकको बसाइँ बढाउने अवधारणा बनाउन केन्द्रित छन् । लुम्बिनी विकास कोषका सद्भावना दूतसमेत रहेका पाँडेकाजी लुम्बिनीका आशाको आवाज रूपमा चिनिन थालेका हुन् ।
महामानव भगवान गौतमबुद्वको जन्मभूमि आउने बौद्धमार्गीलाई आकर्षित गर्न पाँडेकाजीले मायादेवी सुत्केरी मार्गको अवधारणा अघि सारेका छन् । बौद्ध पर्यटकलाई आकर्षित गरी बसाइँ लम्ब्याउन यो अवधारणा प्रभावकारी बन्ने पर्यटन व्यवसायीसमेत रहेका पाँडेकाजीको भनाइ छ ।
‘मेरो अभियान लुम्बिनीमा टुरिष्टहरूको नाइट स्टे बढाउने हो,’ पाँडेकाजी भन्छन्, ‘धेरै टुरिष्टहरू लुम्बिनीमा सेम डे आएर गइरहेका छन्,तिनीहरूलाई केही रात टिकाउन र नयाँ–नयाँ पर्यटकीय आकर्षण डेभलप गर्न सकिन्छकी भनेर जुटेको हुँ । लुम्बिनीमा पर्यटकको रात लम्ब्याउन लुम्बिनी पिस म्याराथुन,मायादेवी सुत्केरी मार्ग,त्यस्तै सिद्धार्थ गौतम घोडा चढेर ज्ञानको खोजीमा जानुभएको बौद्धिष्ट पर्यटन पर्वको रूपमा ब्युँताउने,त्यस्तै शाक्य युवराज बुद्धत्व प्राप्त गरेपछि पहिलोपल्ट,घर फर्किँदा बसेको कुदान बसेकोले बुद्धको घरफिर्ती पर्व मनाइएको छ । यस्ता पर्वहरूमा आकर्षित गरेर लुम्बिनी आउने पर्यटकहरू बसेर र केही रात बढोस् भन्ने अभिप्राय हो ।’
यस्ता कार्यक्रम पर्यटन पर्वमा आकर्षित गरेर लुम्बिनी आउने पर्यटकहरू त्यहाँ पनि आएर केही रात बसुन् भन्ने आफ्नो अभिप्राय रहेको पाँडेकाजीको भनाइ छ । मायादेवी सुत्केरी भई शिशुलाई लिएर राजमहल फर्केको बाटो हेर्नुलाई बौद्ध धर्मावलम्बी भाग्यमानी सम्झिन् । मायादेवी सुत्केरी भएपछि आफ्नै दरबार फर्केको बाटो लुम्बिनी-तिलौराकोटको दुरी जम्मा ३७ किमी छ । लुम्बिनी–तिलौराकोट दरबारसम्मको माता मायादेवी सुत्केरी मार्गमा शान्ति पैदलयात्रा यात्रा गर्न सकिने विक्रम बताउँछन् । यसले पर्यटकको बसाइँ लम्बाउन सक्ने उनको बुझाइ छ ।
पर्यटन प्रवर्द्धनका लागि नयाँ-नयाँ सृजना,योजना र रणनीति तयार गर्न सिपालु पाँडेकाजीले बुद्ध र लुम्बिनीसँग सम्बन्धित धेरै प्रवर्द्धनका योजना अघि सारेका छन् ।
लुम्बिनी आउने पर्यटकको संख्या अपेक्षित बढ्न नसक्दा देशले ठूलो लाभ लिन सकेको छैन । आफूले अघि सारेका योजनाहरू सफल परीक्षण भएपछि विकास कोषलाई हस्तान्तरण गर्ने सोचमा उनी छन् । सबै कार्यक्रम आफ्नै स्रोत र साधनबाट गरिरहेका उनी यस्ता कार्यक्रमहरू विकास कोषले आफ्नो क्यालेन्डरमा राखेर विश्वभरका बुद्धिस्टहरूको वेबसाइडबाट हेरेर आउन सक्ने वातावरण बनाउन आवश्यक रहेको उनी बताउँछन् ।
आन्तरिक होस् वा बाह्य लुम्बिनी आउने पर्यटकको बसाइँ लम्बिन सकेको छैन । स्थलमार्ग भारत भएर आउने पर्यटक लुम्बिनी घुमेर बास बस्न उतै फर्किने गरेका छन् । पाँचौ शताब्दीमा चिनियाँ बौद्ध यात्री ह्वेन साङ लुम्बिनी आएका थिए । उनी बोधगयादेखि श्रावस्ती–पिप्रहवा हुँदै कपिलवस्तुसम्म पुगेका थिए ।
सम्राट अशोक कपिलवस्तु र लुम्बिनी आएको बाटो पनि यही हो । ‘लुम्बिनीमा बौद्ध पर्यटक बढाउन विभिन्न मार्ग बनाएर प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ । यसले लुम्बिनीसहित समग्र मुलुकले धेरै ‘बेनिफिट’ लिन सक्छ ।’
लुम्बिनीमा बुद्ध जन्मेको दिन वैशाख पूर्णिमामा बुद्ध जयन्ती मनाइन्छ । वैशाख पूर्णिमामा हरेक वर्ष लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिन्छ । तर,बुद्धसँग सम्बन्धित अरू पूर्णिमामा अहिलेसम्म ओझेल परेकोमा उनले जागृत गर्दैछन् । २६१३ वर्षसम्म सिद्धार्थले दरबार छाडेको रातमा कपिलवस्तुमा कुनै कार्यक्रम भएनन् । मध्यरातमा राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि राजसी सुखसयल त्याग गरेको दिनको स्मरण गर्दै तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । अब हरेक वर्ष असार पूर्णिमाको रातलाई यो विशेष पर्वका रूपमा मनाउनुपर्ने उनी सुझाउँछन् ।
‘कन्थक घोडा चढेर सिद्धार्थ गौतम दरबार छाड्दै गरेको दृश्यलाई ब्राण्डिङ गर्न सके आगामी दिनमा पर्यटक बढाउन सकिन्छ,’ उनी भन्छन्, ‘सिद्धार्थ गौतमले दरबार छाडेपछि ६ वर्ष तपस्या गरे । सातौं वर्षमा बोधगयामा बुद्धत्व प्राप्त गरे । सिद्धार्थले बुद्धत्व प्राप्त गरी घर फर्के,त्यो दिन फागु पूर्णिमामा हो । बुद्ध घर फर्केको दिनलाई आउँदो फागु पूर्णिमामा पनि विशेष दिन बनाउने अवधारणा बनाएको छु ।’
यस्तै लुम्बिनी–सगरमाथा पिस म्याराथुन नियमित गर्न सक्दा संसारभरको ध्यान केन्द्रित गर्न सकिने उनको भनाइ छ ।
लुम्बिनी र सगरमाथालाई जोड्ने लुम्बिनी पिस म्याराथुन सन् २००३ मा म्याराथुनको परीक्षण कार्यक्रम भयो । पश्चिमा मुलुकमा म्याराथुन पर्यटनको काम भएको सुनेका र बुझेका पाँडेकाजीले यहाँ पनि गर्न सकिन्छ कि भनेर शुरू गरेको कार्यक्रम अहिले बर्सेनि निरन्तर जारी छ । ‘चारवर्ष लगानी मात्रै भयो,पाँचौ वर्षदेखि राम्रो हुँदै गएको छ । अहिले ३०–३५ देशका व्यक्ति आउँछन्,’ उनी भन्छन्, ‘यो १४ रात १५ दिनको ट्रेकिङ हो । जाँदा विस्तारै हिँड्दै घुम्दै सगरमाथा बेस क्याम्प जाने र फर्कँदा दौडेर फर्कने हो ।’
व्यापारिक मात्र नभई सामाजिक क्षेत्रबारे पनि विशाल सोच राख्ने विक्रम कलेज पढ्दै पार्टटाइम जागिर गर्दागर्दै उनले पर्यटन क्षेत्रमा करिअर बनाउन थालेका थिए । काठमाडौंमा बस्ने उनी अहिले उमेरले ७० वर्ष पुग्न लागे । त्यमध्ये पर्यटन क्षेत्रमा काम गरेको पाँच दशक पुग्न लागेको छ । आफूले आर्जन गरेको अनुभव र ज्ञान नयाँ पुस्तालाई दिन पाए मुलुकलाई फाइँदै हुन्थ्यो भनेर लुम्बिनीमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिरहेको उनी बताउँछन् । पर्यटन व्यवसायबाट कमाएको केही प्रतिशत पैसा नै उनले पर्यटन प्रवर्द्धनका काममा खर्च गरेका छन् ।
भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारले चलाउन नसक्दा लुम्बिनीमा पर्यटकको संख्या बढ्न सकेको छैन । विमानस्थल चलेको अवस्थामा लुम्बिनी आउने बौद्धिष्ट पर्यटको संख्या उल्लेख बढ्ने र लुम्बिनीसँग पोखरा र सौराहाजस्ता मुलुकका पर्यटकीय गन्तव्यबाट लुम्बिनी आउनेको संख्या पनि पर्याप्त मात्रामा बढाउन सकिने उनी बताउँछन् । पछिल्लो समय देशभर भएको जेनजीको आन्दोलनपछि लुम्बिनी आउने पर्यटकको संख्या झनै घटेको छ ।