
झापामा एक युवकको हत्यामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक अझै फरार छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षीनगरपालिका–१० निवासी १९ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या गरिएको हो । प्रहरीले हत्यामा संलग्न शिवसताक्षी–१० कै २७ वर्षीय सुनिल साह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मुख्य अभियुक्त सुनिल साहले विगत नौ महिनादेखि नै सरोज शर्माको अपहरण गरी उनको परिवारसँग करोडौं रुपैयाँ फिरौती असुल्ने योजना बनाइरहेका थिए ।
सरोज शर्माले सस्तोमा सुन पाए केही आफैंले किन्ने र काठमाडौंमा चिनजान भएका मानिसलाई पनि किनाइदिने भन्दै सुनिल साहलाई सुन खोज्न भनेको प्रहरीले जनाएको छ । सुनिल साहले विगत नौ महिना अगाडिदेखि नै सरोजसँग भएको पैसा लुट्ने र उनलाई अपहरण गरी छिमेकी मुलुकमा लगेपछि आफन्तहरूबाट करोडौं रुपैयाँ असुल्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।
सोही योजनाअनुसार कात्तिक ९ गते दिउँसो साढे तीन बजे आफ्नै गाडिएको सुन हेर्न आउनका लागि सरोजलाई ललाइफकाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाई सुनिल र निजकै नातामा पर्ने भान्जा राहुलले फलाम (हथौडा) लगायतका वस्तु प्रयोग गरी टाउकोमा प्रहार गरेर सोही स्थानमा मारेको देखिएको झापाका प्रहरी प्रवक्ता प्र.ना.उ. खगेन्द्रबहादुर खड्काले बताए ।
सोही राति नै एक सहयोगी भारतीय नागरिक (हाल फरार) को साथमा ती तीन जनाले लासलाई मृतककै गाडीमा हालेर झापा गाउँपालिका–५ स्थित ठुलोबाँध मार्गमा पर्ने बिरिङ खोलाको पुलमुनि माटोमा गाडेका थिए ।
कात्तिक १३ गते मृतकको गाडी बिर्तामोड–१३ स्थित निर्वाझोडा सिमसार जंगलमा जलेको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको थियो । प्रहरीले घटनास्थलबाट अभियुक्त सुनिल साहको एउटा चप्पल फेला पारेको थियो, जसले उनलाई पक्राउ गर्न सजिलो भएको थियो ।
गाडी नजिकै सुनिल साहको चप्पल फेला परेपछि उनको खोजी तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले अभियुक्तहरूको मोबाइलको प्राविधिक विश्लेषण गर्दै सुनिललाई विराटनगरस्थित सीमावर्ती क्षेत्र रानीबाट कात्तिक १४ गते नियन्त्रणमा लिएको थियो ।
साथै, राहुललाई पनि खोजतलासकै क्रममा शिवसताक्षीनगरपालिका–१० स्थित निजकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूले सोधपुछको क्रममा बिरिङ खोलाको पुलमुनि शव गाडिएको बताएका थिए । त्यसका आधारमा प्रहरीले कात्तिक १५ गते बिहान करिब १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा सरोज शर्माको शव फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, पक्राउ परेका दुवै जनाविरुद्ध अपहरण, शरीर बन्धक, अप्राकृतिक मृत्यु तथा ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनामा संलग्न फरार भारतीय नागरिकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।