
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार योग्यता पूरा गरेका इच्छुक उद्यमीहरूलाई परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
प्रतिष्ठानका अनुसार कार्यविधिको दफा ४ र अनुसूची–१ अनुसार तोकिएका क्षेत्रभित्र नवीन सोच, सीप, ज्ञान र क्षमता भएका उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ ।
आवेदन दिनेहरूका लागि परियोजना प्रस्ताव अनलाइनमार्फत पनि पेश गर्न सकिने व्यवस्था गरिएको छ । आवेदकले प्रस्ताव https://sams.iedi.gov.np मार्फत पठाउन सक्नेछन् ।
स्टार्टअप उद्यम कर्जा योजना नयाँ सोच र नवप्रवर्तनमार्फत व्यवसाय सुरु गर्न चाहने उद्यमीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको जनाइएको छ ।