
मोरङको लेटाङ–२ बुधबारेस्थित गौतम परिवारको सानो घरमाथि आजभोलि शोकको कालो बादल मडारिएको छ ।
घरको हरेक कुनामा निःशब्दता र पीडा भरिएको छ, जहाँ १३ वर्षीया अंशु गौतमको हाँसो गुञ्जिन्थ्यो । 'अहिले हाम्रो लागि आँसु र भात बराबर भएको छ,' ७० वर्ष नाघेका हजुरबुबा श्रीविलास भन्छन् । उनकी नातिनीको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि न्याय नपाएको पीडाले यो परिवारलाई हरेक पल पोलिरहेको छ ।
यो परिवारका लागि दैव सधैँ निष्ठुरी रह्यो । वि.सं. २०३४ सालमा ताप्लेजुङको हरियाली काख छाडेर मोरङ झरेको यो परिवारले कहिल्यै सुखको सास फेर्न पाएन । चिस्याङ खोलाले जग्गा बगाएपछि सुकुम्वासी बने । जीवनभर दुःख र संघर्षसँग जुध्दै आएका श्रीविलासका लागि नातिनी अंशुको हत्या जीवनकै सबैभन्दा ठूलो र असह्य बज्रपात बनेको छ ।
घरनजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने अंशु हँसिली स्वभावकी थिइन् । असोज २१ गते दिउँसो पनि उनी खेल्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । अरु बेला कतै जानु परे साइकलमा मात्रै जान्थिन् ।
हजुरबुबा श्रीविलास त्यो क्षण सम्झँदै भन्छन्, 'म जान्छु है बुबा भनेकी थिई । मैले नजा, सानै छस्, यताउता नहिँड् भनेको थिएँ । तर एकैछिनमा ऊ गइहाली।' त्यो नै उनको परिवारसँगको अन्तिम संवाद बन्यो।
साँझसम्म पनि अंशु घर नफर्केपछि परिवार आत्तियो । रात बित्यो, दिन बित्यो, तर अंशुको कुनै खबर आएन । उनको पर्खाइमा परिवारको निद्रा र भोक सबै हरायो ।
हराएको १८ दिनपछि कात्तिक ७ गते घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा अंशुको शव क्षतविक्षत अवस्थामा फेला पर्यो । त्यो दर्दनाक क्षण सम्झँदा हजुरबुबाको मुटु अझै काँप्छ ।
'कसैले फोन गरेर लास छ भन्यो । म दौडेर गएँ,' उनी भन्छन्, 'एउटा चप्पल एकातिर, अर्को अलि पर थियो । नातिनीको चप्पल देख्नेबित्तिकै उसकी आमा बेहोश भइन् । त्यो दृश्य म कसरी वर्णन गरुँ ? शरीरका अंगहरू छुट्टिएका थिए । टाउको कुहिएको थियो । छालासहितको कपाल छुट्टिएको थियो । त्यो दृश्य देखेपछि म पनि बेहोस जस्तै भएँ ।'
अहिले अंशुका बुबा नवीन र आमा विनालागयत परिवारका सबैको अवस्था विक्षिप्त छ । छोरीको हत्याको पीडाले उनीहरू अर्धचेत अवस्थामा छन् । हजुरआमा दिनभर नातिनी पढ्ने स्कूल हेरेर बसिरहन्छिन् । गौतम परिवारको काठको दुईतले घर छ । घरको बरन्डामा बसेर नातिनी पढ्ने विद्यालय हेर्ने गर्छिन् । घर र विद्यालय नजिकै पर्छ ।
घरमा कोही मान्छे पुग्नेबित्तिकै हजुरआमाले नयाँ खबर केही ल्याउनु भयो कि भनेर सोध्ने गर्छिन् । यो परिवारले एउटै मात्र माग राखेको छ– न्याय ।

हत्यारा पक्राउ नपरेसम्म र उसलाई कानूनी कठघरामा नउभ्याएसम्म अंशुको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनीहरूको अडान छ । अंशुको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 'प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने,' उनीहरू बताउँछन् ।
मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले घटनाबारे अनुसन्धान भइरहेको बताइन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
'घटनाको अवस्था हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिन्छ,' ती प्रहरी अधिकृतले भने, 'हाम्रो अनुसन्धानले पनि त्यस्तै देखाउँछ । अनुसन्धान पनि संकुचित हुँदै गएको छ ।'
प्रहरी नायब उपरीक्षक चुडालका अनुसार अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि प्रदेश प्रहरीका विशेष टोली र विज्ञहरूको समेत सहयोग लिइएको छ ।
प्रहरीले अनुसन्धान संकुचित हुँदै गएको र छिट्टै अपराधीलाई कानूनी दायरामा ल्याउने आश्वासन दिएको छ । तर, प्रहरीको यो आश्वासनले मात्र गौतम परिवारको मनमा लागेको घाउमा मलम लगाउन सकेको छैन ।
हजुरबुबा श्रीविलास भन्छन्, 'अपराधी पत्ता लागेपछि केही सन्तोष हुन्थ्यो कि ! जे हुनु भइगयो, अब कराएर, रोएर मेरी नातिनी फर्केर आउँदिन । तर, यस्तो गर्नेलाई कडाभन्दा कडा सजाय हुनैपर्छ ।'
गौतम परिवारको यो पीडा शब्दमा वर्णन गर्न सकिँदैन । हत्याराले सजाय नपाएसम्म अंशुको आत्माले शान्ति पाउँदैन र परिवारको मन पनि शान्त हुनेछैन ।