
गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अन्यथा दाबी गरे पनि गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल प्रयोग गरेकै कारण उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै सम्बन्ध नरहेको सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको सबैभन्दा विस्तृत समीक्षापछि सार्वजनिक रिपोर्टमा भनिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा एसिटामिनोफेन अर्थात् प्यारासिटामोल अटिजमको उच्च दरसँग सम्बन्धित भएको दाबी गरेर चिकित्सा समुदायमा आक्रोश उत्पन्न गरेका थिए।
ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कडा परिश्रम गर्न’ आग्रह गरेका थिए भने स्वास्थ्य अनुसन्धानकर्ताहरूले टिप्पणीहरूले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने चेतावनी दिएका थिए। उनीहरूले ‘अटिस्टिक’ समस्या भएका व्यक्तिहरूलाई थप कलङ्कित गर्ने जोखिम बढ्ने दावी गरेका थिए।
विश्व स्वास्थ्य सङ्गठनले टाइलेनोल र पानाडोलजस्ता पेनकिलर औषधिको मुख्य तत्व प्यारासिटामोलले अटिजम निम्त्याउँछ भन्ने कुराको कुनै ठोस प्रमाण नभएको बताएको छ।
यस विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिश मेडिकल जर्नल बीएमजेमा सोमबार प्रकाशित भएको छ।
“विद्यमान प्रमाणले सन्तानमा गर्भमा रहेका समय महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा एडीएचडीबीच स्पष्ट सम्बन्ध देखाउँदैन,” बेलायतको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले समीक्षामा लेखेको छ।
यसअघिका केही अध्ययनहरूले प्यारासिटामोल र अटिजम वा अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) बीच सम्भावित सम्बन्धको सुझाव दिएका थिए।
“ती अध्ययनहरूको निचोड ‘निकै कम विश्वसनीय’ थियो,” सोमबार सार्वजनिक समीक्षा रिपोर्टमा भनिएको छ।
उनीहरूले परिवारमा अटिजम प्यारासिटामोलका कारण नै भएको वा नभएको भन्नेजस्ता सम्भावित भ्रामक कारकहरूलाई गहिराईमा अध्ययन गरेका थिएनन् वा अध्ययन पुगेको थिएन र यी विवादास्पद अघिल्ला अध्ययनहरूले पनि कसरी प्यारासिटामोलले अटिजम निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेका पाइन्छ।
समीक्षाहरूको पनि समीक्षाले यो ‘महिला स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक र निरन्तर कम लगानी’ भएको आँैंल्याउँदै राम्रो अनुसन्धानको लागि आह्वान गरेको छ।