२६ जेठ २०८३, मंगलबार

प्रकाशचन्द्र खतिवडाको कविता : साथी

कात्तिक २९, २०८२
काठमाडौं
प्रकाशचन्द्र खतिवडाको कविता : साथी

मेरो एउटा साथी छ

अचेल मलाई सराप्ने गर्छ

म उसलाई औधी माया गर्छु

उसको र मेरो घर आमने-सामने छ

ऊ के गर्छ ?

म के गर्छु ?

दुई जनालाई नै थाहा छ

म उसको त्यति चियो चर्चाे गर्दिनँ

जति ऊ मेरो गर्छ

मेरा पाइला पाइला नियाल्छ ऊ

मलाई ठेस लाग्दा रमाउँछ ऊ

म रुँदा किन हाँस्छ ऊ ?

ऊ रुँदा म उसको आँसु पुछि दिन्छु ।

साथी, हो

उसको घर डड्दा आगो निभाउँछु म

मेरो डड्दा किन मुस्कुराउँछ ऊ ?

सानोमा एउटै थालमा खाएका हामी

सानोमा एउटै खाटमा सुतेका हामी

घाँस दाउरा पनि त सँगै गरेकै हो

मेला पर्वमा पनि त सँगसँगै हिँडेकै हो

एउटै कापी ताना तान गरेर

स्कूलमा क ख ग पनि लेखेकै हो

मैले त केही बिगारेजस्तो लाग्दैन

अरूको कुरा सुनेर रिसाएको हुन सक्छ ऊ

अहिले मलाई देख्दा मुन्टो बटार्छ ऊ

मेरो छाया समेत हेर्न मान्दैन ऊ

म स्पष्टीकरण दिउँ भन्छु

मसँग बोल्न चाहँदैन ऊ ।

मेरो आँगनको बाटो नहिड भन्छ ऊ

मेरो धाराको पानी नखा भन्छ ऊ

ममाथि किन साँधिरहेछ वैरभाव ?

एक दिन मर्ने कुरा उसले बिर्सिदिन्छ

सँगसँगै डण्डिबियो खेलेको हामी

सँगसँगै टोपी लुकाइ खेलेको हामी

सँगसँगै भाले जुधाइ खेलेको हामी

सँगसँगै गाई  बाख्रा चराएका हामी

अनेकन स्मृतिहरूले सताउँछ मलाई

सायद, ऊ पनि छट्पटिनु नै पर्ने हो ।

भनिएको कुरा मलाई सोधेको भए हुन्थ्यो

एकलकाँटे निर्णय गरी

कति कठोर हुन सकेको ऊ ?

मेरो बिग्रिएकोमा उसले खुशी माने पनि

उसको नबिग्रियोस भन्छु म

ऊ रोएको मलाई मन पर्दैन

ऊ सधैभरी हाँसिरहोस भन्छु म

मेरो मनोभाव व्यक्त गरुँ कसरी ?

ऊ टेडिएर हिँडेपछि

मुर्खजस्तो त लागेको थिएन ऊ

महामुर्खको चाला देखाउँछ किन ऊ ?

ऊ मलाई  काँडाले घोपूँ भन्छ

म उसलाई  फूलको गुच्छा दिउँ भन्छु ।

- सुन्दरहरैंचा –६, दुलारी, मोरङ

salt training

कमेन्ट गर्नुहोस्