
एक महिनासम्म चलेको केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय लिन नसकिरहेको नेपाली कांग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवा फर्किँदा उत्साही बनेको छ ।
जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सिंगापुर गएका देउवा १८ दिनपछि फर्किँदा संस्थापन पक्षका नेताहरू उत्साहित बनेका हुन् ।
१५ औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि भन्नेमा निर्णय लिन कांग्रेसलाई सकस परिरहेको छ । यस्तै, सकसबीच देउवा फर्किएर संवादमा जुटिसकेका छन् ।
शनिबार उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर निवासमै भेट गरे ।
इतर पक्षले चुनावअघि महाधिवेशनका लागि दबाब बढाएपछि संस्थापन टुंगोमा पुग्न सकेको थिएन । त्यसैले नेताहरूकै आग्रहमा देउवालाई सिंगापुरबाट छिट्टै झिकाइएको नेताहरू बताउँछन् ।
देउवा फर्किँदा शुक्रबार राति उनलाई स्वागत गर्न कार्यवाहक सभापति खड्का र नेता महत एयरपोर्ट पुगेका थिए । भोलिपल्टै उनले निवासमा आफूनिकट रहेर अहिले पनि सक्रिय रहेका नेतासँग पहिलो संवाद गरेका हुन् ।
चुनावअघि महाधिवेशन गर्न नहुनेमा पूर्व पदाधिकारी ६ जनाले दबाब बढाइरहेका छन्, जसमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत छन् । यो टीमका महतलाई भेटेर देउवाले पहिलो प्राथमिकतामा आफूलाई नजिकबाट सहयोग गर्ने नेतालाई राखेको एक नेताले बताए ।
‘चुनावअघि महाधिवेशन गर्न नहुनेमा बहालवालाभन्दा पूर्व पदाधिकारीले बढी जोडबल गर्नुभएको छ । तर, सभापतिले आउनेबित्तिकै आफूलाई नजिकबाट सहयोग गर्ने नेताहरूबाट संवादको थालनी गर्नुभयो,’ देउवानिकट एक नेताले भने, ‘पहिलो चरणमा नेताहरूको मुड बुझ्ने, परिस्थिति आकलन गर्ने र केन्द्रीय समितिबाट लिन सकिने सम्भावित निर्णयको तयारी गराउने पक्षमा उहाँ भएको पाएका छौं ।’
भेटेर फर्किएका नेता महतले भेटका क्रममा देउवाले निर्वाचन र महाधिवेशन दुवैबारे चासो राखेको जानकारी दिए । ‘सभापतिजी फर्किनुभएपछि हिजो उहाँसँग भेट भएको थियो । अन्य केही नेतासँग पनि संयुक्त कुराकानी भयो । भेटका क्रममा उहाँले निर्वाचन आइरहेको छ, एकजुट भएर अगाडि बढ्नुस् भन्नुभयो,’ भेटमा सहभागी भएका नेता महतले लोकान्तरसँग भने, ‘महाधिवेशनको विषय टुंग्याउन कार्यवाहकसहितको जिम्मेवारी दिइएको छ । सकेसम्म सहमतिमा टुंग्याउनुस्, सल्लाह गर्नुस् भन्नुभएको छ ।’
१८ दिनपछि देउवा फर्किँदा कांग्रेसको यसपटकको अवस्था फरक छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाले फागुन २१ गतेको निर्वाचनअघि १५ औं महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् ।
मंसिर वा पुस मसान्तभित्र महाधिवेशन गर्नैपर्ने उनीहरूको मत छ ।
जेनजी आन्दोलनपछि परिस्थिति धेरै नै फेरिएको भन्दै उनीहरूले अहिलेकै नेतृत्वलाई लिएर निर्वाचनमा गए पार्टीले शर्मनाक पराजय बेहोर्नुपर्ने मत राखिरहेका छन् ।
नियमित महाधिवेशन गर्न सक्दै नसकिए ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशनलाई अब रोक्न नसकिने उनीहरू बताउँछन् ।
पुस १६ देखि १९ सम्म गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएका महामन्त्री थापाले समेत विकल्प सुझाएका छन् । बिहीबारको केन्द्रीय समितिमा थापाले नियमित गर्नै नसकिने हो भने मंसिर २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्नुको विकल्प नभएको प्रस्ताव राखेका थिए ।
‘डेढ महिना भयो, छलफल भएको छ । सकिन्छ, सम्भव छ भने अधिवेशन गरौं । सक्दै सकिँदैन, निर्वाचन भाँडिन्छ भन्ने सभापति र सबै नेताको निष्कर्ष हो भने ठीक हो भन्नुपर्यो, नियमित महाधिवेशनको च्याप्टर क्लोज गरौं,’ थापाले बिहीबारको बैठकमा भनेका थिए, ‘मंसिरको २७ र २८ गते विशेष अधिवेशन गरौं । यो गर्न पाइँदैन भन्न मिल्दैन ।’

यी दुईमध्ये एक महाधिवेशनको विकल्प नभएकोमा गगन, विश्व र शेखर एकै ठाउँमा उभिएका छन् । नियमित नभए विशेषमा जानुको विकल्प नभएको मत राखिरहेका छन् ।
अर्कोतिर, संस्थापन निकटका २४ केन्द्रीय सदस्यले समेत हस्ताक्षर गरेर निर्वाचनअघि महाधिवेशनको प्रक्रिया आरम्भ गर्न माग गरेका छन् ।
संस्थापननिकटकै नेताले केन्द्रीय कार्यालयमा निर्वाचनअघि महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएपछि संस्थापनले केही दबाब महसुस गरेको नेताहरू बताउँछन् ।
‘यसअघि पूर्व पदाधिकारी र केही पदाधिकारीले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिँदा बहुमतबाट पनि पेल्न सकिन्छ कि भन्ने थियो । तर, २४ बढी केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन प्रारम्भ गर्नुपर्ने लिखित प्रस्ताव नै केन्द्रीय कार्यालयमा दर्ता गराए,’ एक नेताले भने, ‘सभापति फर्किनुअघि नै यसरी जिम्मेवार नेताहरूले हस्ताक्षर बुझाएपछि संस्थापनले केही दबाब महसुस गरेको छ ।’
कार्यवाहक सभापति खड्काले समेत हस्ताक्षर बुझेकोमा केन्द्रीय कार्यालयका कर्मचारीप्रति असन्तुष्टि जनाएका छन् । ‘शुक्रबारको केन्द्रीय समिति बैठकमा शेखर कोइरालाले २४ नेताको हस्ताक्षरबारे चासो राख्नुभएको सुन्यौं,’ कांग्रेस स्रोतले भन्यो, ‘यता कार्यवाहक सभापतिले केन्द्रीय सदस्यको हस्ताक्षर किन बुझेको भन्दै केन्द्रीय कार्यालयका कर्मचारीसँग असन्तुष्टि नै व्यक्त गर्नुभएको रहेछ ।’
निर्वाचनलाई परिणाममुखी बनाउन पनि महाधिवेशनको प्रक्रिया थालिहाल्नुपर्ने पक्षमा उनीहरू उभिएका हुन् । यसरी उभिनेमा संस्थापनलाई सहयोग गर्दै आएका प्रभावशाली नेताहरू छन्, जसमा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा. डिला संग्रौला र उदयशमशेर राणा रहेका छन् ।
त्यस्तै, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्की पनि रहेका छन् ।
पार्टीभित्र नियमित र विशेष दुवै महाधिवेशनको मागलाई पेलेरै जान पूर्व र वर्तमान पदाधिकारीले सुझाएका छन् । तर, संस्थापनभित्रै, प्रदेश र जिल्लासम्मै नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्ने विषयमा आवाज उठिरहेको छ ।
शनिबार पोखरामा प्रदेशस्तरीय भेला गरी नेताहरूले नेतृत्व नफेरी चुनावमा गए पार्टीले गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश सभापति शर्माले नै मंसिरभित्रै नियमित नभए विशेष महाधिवेशन अब टार्न नसकिने बताएका छन् । ‘हामी अब अलमल छाडेर, स्पष्ट दृष्टिकोण लिएर निर्भीकताका साथ अगाडि बढ्नबाट चुक्नुहुँदैन, जसका लागि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्ने प्रण गर्दछौं,’ प्रदेशस्तरीय भेलाको निर्णयमा भनिएको छ ।
तल्लो तहसम्मै नेताहरू विभाजित हुन थालेपछि संस्थापनले केन्द्रीय समितिको बैठकबाट बहुमतले निर्णय गर्नेसम्मको तयारी गरेको नेताहरू बताउँछन् ।
देउवा फर्किएपछि शनिबार कार्यवाहक सभापति खड्काले ६ भाइ नेतासँग छलफल गरेका थिए । शनिबार नै संस्थापनले काठमाडौंमा छुट्टै भेलाको पनि आयोजना गरेको थियो ।
सभापति पर्किएपछिको यो भेलाको उद्देश्य ‘नियमित र विशेष महाधिवेशन नस्वीकार्ने’ रहेको एक नेताले जानकारी दिए ।
देउवासामु कार्यवाहक सभापति खड्काको ब्रिफिङ, खड्काको ६ नेतासँगको छलफल र संस्थापनको भेलापछि उनीहरू केन्द्रीय समितिबाटै पेलेर जानुपर्ने निचोडमा पुगेको एक नेताले जानकारी दिए ।
‘सभापति फर्किएपछि एकैदिन नेतासँग संवाद गर्ने, भेला गर्नेदेखि कोर टीमका नेतासँग सभापतिले भेट्नुभएको छ । यो भनेको केन्द्रीय समितिमा बहुमत भएकाले आवश्यक पर्दा पेलेर जान, नभए बहुमतबाट भए पनि महामन्त्रीद्वय र शेखर कोइरालाको मागलाई भोटिङबाट टुंग्याउन तयार हुनुपर्छ भन्ने सन्देश हो,’ देउवा निकटका ती नेता भन्छन्, ‘२४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि महाधिवेशन मागे पनि उनीहरू सभापतिको आग्रहमा फिर्ता हुन्छन् भन्ने बुझाइ छ ।’
यसरी हस्ताक्षर गरेकाहरूलाई निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापनको लाइनमा ल्याउने गरी नेताहरूलाई खटाइएको छ ।
देउवाले साउद, खाँण, महत र कार्कीसँग भेट गरेर असन्तुष्टलाई विश्वासमा लिने वातावरण र चुनावको पक्षमा माहोल सिर्जना गर्न भनेको समेत दाबी नेताहरूको छ ।

देउवानिकटका नेता डा. प्रकाशशरण महत समयको चापले मात्रै निर्वाचनअघि महाधिवेशन हुन नसक्ने बताउँछन् ।
‘हाम्रो महाधिवेशनअघि क्रियाशील सदस्यताको प्रक्रिया एकदमै लामो छ । यसैले तत्काल सदस्यता टुंग्याएर महाधिवेशन गर्ने र निर्वाचनमा होमिने कुरा एकदमै चुनौतीपूर्ण छ । यसैले तत्काल कार्यतालिका ल्याएर सदस्यता अभियान चलाएर टुंग्याउनुपर्छ, अनि वैशाखमा महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो मत हो,’ उनले भने, ‘यस्तो गर्दा तत्काल महाधिवेशनको कार्यतालिका पनि आउँछ, सदस्यताको काम अघि बढ्दा निर्वाचनको मुखमा पार्टी परिचालन हुन्छ । यो व्यावहारिक हुन्छ भन्ने हाम्रो कुरा हो ।’
तर, फागुनको चुनाव वैशाखमा सरे महाधिवेशन अगाडि नै गर्न सकिने उनी बताउँछन् ।
‘हामीले अहिले नै फागुनको निर्वाचन समयमा हुँदैन भनेर आकलन गर्नु उचित हुँदैन । क्रियाशील सदस्यता पुससम्म सकाउने र वैशाखमा महाधिवेशनको कार्यतालिका ल्याएर जान सकिन्छ,’ महतले भने, ‘केही गरी चुनाव वैशाख–जेठमा सर्यो भने हाम्रो आन्तरिक कार्यतालिका संशोधन गरेर फागुनमा गर्ने गरी १५ औं महाधिवेशन अगाडि सार्न सकिन्छ । हामीले यी विकल्पमा पनि छलफल गरेका छौं ।’
महामन्त्रीद्वय भने चुनावअघि नै नियमित वा विशेषको विकल्पबाट पछाडि नफिर्कने प्रस्ट अडानमा छन् । महामन्त्री थापानिकट स्रोतले पनि महामन्त्रीहरूको पोजिसन यही रहेको जानकारी दियो ।
‘सक्दा नियमित, नभए विशेष महाधिवेशनको विकल्प छैन भन्नेमा महामन्त्रीद्वयको प्रस्ट मत छ,’ महामन्त्रीद्वयसँग निकट स्रोतले भन्यो, ‘उहाँहरू भोलिको बैठकमा कसरी प्रस्तुत हुनुहुन्छ, यसैले धेरै कुरा निर्धारण हुन्छ । उहाँहरूको पेल्ने रणनीति हो भने हामी पनि आफ्नै तयारीमा हुन्छौं ।’
सोमबार दिउँसो २ बजे केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति खड्काले अनौपचारिक छलफल गर्दैछन् । यही छलफलपछि मात्रै केन्द्रीय समिति बैठक राख्ने तयारी छ । यसैबीच, महामन्त्री शर्माले पनि सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
सोमबारको बैठकमा देउवा सहभागी नहुने !
शुक्रबार नेपाल फर्किएका देउवाले सोमबारको केन्द्रीय समिति बैठकमा सहभागी नहुने मनस्थिति बनाएका छन् । असोज २८ गते कार्यसमितिलाई सम्बोधन गर्दै देउवाले अब सक्रिय राजनीतिमा नआउने प्रस्टै संकेत गरेका थिए ।
पछिल्लो समय इतर पक्षले बढाएको दबाबपछि स्वदेश फर्किए पनि देउवा तत्काल बैठकमै सहभागी हुने र देखिने गरी निर्णय प्रक्रियामा सहभागी हुने पक्षमा छैनन् ।
देउवालाई भेटेर फर्किएका नेताद्वय प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीले देउवाले बैठकमा सहभागी हुने कुनै संकेत नदिएको बताए ।
‘उहाँ आफैंले बैठकमा सहभागी हुन्छु पनि भन्नुभएन । हामीले सोध्ने कुरा पनि भएन,’ महतले लोकान्तरसँग भने, ‘कार्यवाहकको जिम्मेवारी दिइएको छ । सहमतिमा टुंगोमा पुग्नुस् भन्ने भाषाले उहाँ फेरि बैठकमा सहभागी हुनुहुन्छ भन्ने लागेको छैन ।’
नेता, मिडियादेखि सबैले देउवाले अब सक्रिय राजनीति छाडे भन्ने भाष्य बनाइरहेका छन् । यसैले आफूनिकटका नेतासँग परामर्श गरे पनि देउवाले बैठकमै उपस्थित भएर सहमतिको प्रयास नगर्ने मनस्थिति बनाएको देखिन्छ ।
नेता कार्कीले पनि सबैलाई मिलेर अगाडि बढ्न सभापतिले आग्रह गरेको बताए ।
‘कांग्रेसको आन्तरिक समस्याले उहाँ चिन्तित हुनुहुन्छ । निर्वाचन र महाधिवेशनबारे पनि मिलाएर सहमति गरेर अघि बढ्नुपर्छ भन्ने उहाँको मत छ’ कार्कीले भने, ‘तर, फेरि कांग्रेसको औपचारिक बैठकमा सहभागी हुनेबारे उहाँको प्रस्ट कुनै सन्देश थिएन ।’