
आप्रवासन नीतिबारे भइरहेका बहसबीच टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कले अमेरिकाले भारतीय प्रतिभाबाट ठूलो लाभ उठाएको बताएका छन्। उनले अमेरिकामा पुगेका दक्ष भारतीयहरूले देशको प्रगति र नवप्रवर्तनमा उल्लेखनीय योगदान दिएको बताए।
जेरोधाका सह–संस्थापक निखिल कमाथसँगको एक अन्तर्वार्तामा मस्कले आप्रवासन नीति र उद्यमशीलताबारे चर्चा गर्दै भने, 'अमेरिकाले भारतबाट आएका प्रतिभासम्पन्न व्यक्तिबाट अपार लाभ पाएको छ। भारतबाट आएका दक्ष जनशक्तिले अमेरिकालाई निकै फाइदा पहुँचाएका छन्।'
मस्कका भनाइले प्राविधिक क्षेत्रदेखि नवप्रवर्तनसम्म विभिन्न क्षेत्रमा भारतीय मूलका व्यक्तिहरूले खेलेको भूमिकालाई पुनः उजागर गरेको छ। उनले नयाँ सोच, विविधता र सीपयुक्त जनशक्तिले अमेरिकाको आर्थिक वृद्धि र नवप्रवर्तनलाई टेवा पुर्याइरहेको बताए।
तर, मस्कले आप्रवासन नीतिमा सन्तुलन आवश्यक रहेको टिप्पणी गरे। बाइडेन प्रशासनको क्रममा सीमा नियन्त्रण कमजोर भएको भन्दै उनले अवैध आप्रवासन बढेको दाबी गरे। 'बाइडेन प्रशासनमा सीमा नियन्त्रणबाटै हात धुनेजस्तै स्थिति भयो। ठूलो संख्यामा अवैध आप्रवासीहरू प्रवेश गरे, जसमा नकारात्मक छनोटको असर पनि देखियो,' मस्कले भने।
उनका अनुसार खुला सीमा नीति समस्याजनक हुन्छ, किनकि यसले आपराधिक पृष्ठभूमि भएका व्यक्ति समेत सहजै देशमा प्रवेश गर्न सक्ने वातावरण बनाउँछ।
अमेरिकी नागरिकका रोजगार प्रतिभाशाली आप्रवासीले खोस्ने धारणा कत्तिको वास्तविक हो भन्नेबारे मस्कले शंका व्यक्त गरे। उनले भने, 'मेरो अनुभवमा दक्ष जनशक्तिको हरेक क्षेत्रमा अभाव छ। प्रतिभाशाली मानिसहरूले खाली ठाउँ भर्दैछन्, कसैको रोजगार खोस्दै होइनन्।'
मस्कले उद्यमशीलता चाहने युवाहरूलाई मूल्य सिर्जना गर्न, कठोर परिश्रम गर्न र असफलताको सम्भावनालाई स्वीकार गर्न सुझाव दिए।
उनका अनुसार कम्पनीहरू विदेशीसँग प्रतिस्पर्धी मूल्यमा जनशक्ति लिन चाहान सक्छन् । 'हामीले चुनौतीपूर्ण काम पूरा गर्न पर्याप्त प्रतिभा खोज्नै गाह्रो हुन्छ,' उनले भने।
भारतीय उद्यमीहरूका लागि सन्देश दिँदै मस्कले भने, 'जो कुनै व्यक्ति लिन्छ भन्दा बढी योगदान दिन चाहन्छ, उसप्रति मेरो सम्मान हुन्छ। यही प्रवृत्ति अपनाउनुपर्छ।'
उनका अनुसार समाजमा योगदान दिनु अन्ततः खुशीको खोजीसँग जोडिन्छ।
'उपयोगी वस्तु र सेवा बनाउनेतर्फ ध्यान दिनुहोस्। यदि मूल्यवान काम गर्नुहुन्छ भने पैसा आफैँ पछिपछि आउँछ,' उनले भने।
कम्पनी बनाउने जो कोहीका लागि मस्कको सुझाव छ: 'कडा परिश्रमका लागि तयार हुनुहोस्। असफलता आउने सम्भावना सधैँ रहन्छ। तर तपाईंको काम, समय र लगानीले सिर्जना गरेको मूल्य बढी छ कि छैन, यही कुरा सबैभन्दा महत्त्वपूर्ण हो।'