०९ असार २०८३, मंगलबार

१ करोड २५ लाख बढी ठगी गरेको आरोपमा ३ जना पक्राउ

मंसिर १७, २०८२
काठमाडौं
१ करोड २५ लाख बढी ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानूनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको बताए ।

उनले आज मात्रै करोडौं ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए । उनले भने, 'तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगीका घटना बढ्दो नै छ ।'

सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।

अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

नवलपरासी घर भई हाल काठमाडौं बस्ने दिलबहादुर सारू मगरले सर्बिया पठाउने भनेर चार लाख ५० हजार ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।

त्यस्तै सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई तीन लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरिएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ ।

उनीहरू तीनै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्