२४ जेठ २०८३, आइतबार
नाम र दाम दुवै कमाउने कलाकार

‘वनकी चरी’देखि ‘झलिको’सम्म : लोक-संगीतका नयाँ स्टार अर्जुनको सफल उडान

मंसिर २०, २०८२
बुटवल
‘वनकी चरी’देखि ‘झलिको’सम्म : लोक-संगीतका नयाँ स्टार अर्जुनको सफल उडान


तिमी मेरो आत्मा हौ
सधैं साथमा छौं
सधैं साथमा छौं
झलिको तिम्रो याद
अलिको हिमालभन्दा नि !

पछिल्लो तीन साता ‘झलिको’ गीतले युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा एकछत्र ‘कब्जा’ जमाएको छ । लोकगायक अर्जुन सापकोटाको यो गीत रिलिज हुनासाथ चर्चाको शिखरमा पुग्यो ।

उसो त युवा गायक अर्जुनका पछिल्ला हरेकजसो सृजना बजारमा ‘हिट’ हुँदै आएका छन् । तर, पछिल्लो ‘झलिको’ गीतले अझै बढी सफलता दिलाएपछि अर्जुनलाई देशभर दर्शक/स्रोतासँग पुग्न भ्याइनभ्याइ छ । ‘मैले यो गीत डेढ वर्ष लगाएर बनाएको हुँ, यो गीत बजारमा ल्याउनुभन्दा अघि जसलाई सुनाए, सबैले राम्रो रेस्पोन्स दिनुभएको थियो’ अर्जुन भन्छन्, ‘दर्शकहरूले मन पराउनुहुन्छ भन्ने विश्वास चाहिँ थियो, तर, सबै जनाले यो लेबलसम्म ग्रहण गर्नुहुन्छजस्तो चाँहि फिल थिएन । झलिकोले अलि वाइडर अडियन्स पायो ।’

यसअघि पनि उनका गीतहरू राम्रै चलेका थिए । मेला महोत्सवमा यसअघि पनि उनी धेरै खोजिने कलाकारमध्यमै पर्छन् । तर, यो गीतले प्रत्यक्ष दर्शकसँग ‘इन्टरर्‍याक्ट’ गर्न सजिलो भएको उनको अनुभव छ ।

गीतले परदेशीको पीडा बोलेको छ । गीतले आम नेपालीको वास्तविक (सत्य) कथा भनेको छ । गीतमा गायक अर्जुन आफैं र बुटवलकी कुसुम भण्डारीले अभिनय गरेका छन् । कुसुमले पहिलो अभिनय गरेको गीत ‘सुपरहिट’ भएपछि उनको पनि अहिले बुटवलमा निकै चर्चा छ ।

अर्जुनको गायन यात्रा

सानैदेखि गीत-सङ्गीतमा रुचि राख्ने अर्जुन गीत गाउन थालेको डेढ दशक भयो । लोकसंगीतमा व्यवसायिक करिअरको शुरूआत गरेको एक दशक भए पनि सापकोटाले गाएका गीत दर्शक र स्रोताले रुचाएर ‘नोटिस’ गर्न थालेको ‘वनकी चरी’बाट हो । लोकप्रिय र ‘स्टेज’ कार्यक्रममा रुचाइएका अर्जुनको वनकी चरी आफैंले बनाएर बजारमा ल्याएपछि उनी पछाडि फर्किनु परेको छैन । लोकगायनका ‘स्टार’ २७ वर्षीय अर्जुनले छोटो समयमा नाम र दाम दुवै कमाएका छन् ।

‘आफ्नै सृजनामा आफैं विश्वास गरेर काम गरेपछि राम्रो हुन्छ भन्ने ऊर्जा अनि हुटहुटी थपिँदै गएको छ,’ अर्जुन भन्छन्, म हाम्रो घरपरिवारबाट प्रभावित भएर गीत-सङ्गीतमा लागेको हुँ । मेरो बाबालाई गायक बन्न ठूलो रहर थियो । तर, समय, परिस्थिति र अनेक समस्याका कारण बन्न पाउनुभएन । घरमा बाबाले गाउने/बजाउने गर्नुहुन्थ्यो । सानैदेखि मैले पनि गीत गुनगुनाउँथें, स्कूलमा मैले होमवर्क नगर्दा टिचरले गीत गाउने पनिसमेन्ट दिनुहुन्थ्यो । त्यस्ता चिजहरूले पनि मलाई यो गायक बनाएर अहिलेको स्थानमा पुर्‍याएजस्तो लाग्छ ।’

‘वनकी चरी’पछि अर्जुनका ‘हावा चिसो चिसो हजुरलाई जाडो भयो होला गलबन्दी लिसियो’, ‘बस्यौ अलग्गै’, ‘दु:ख साटम्ला’, ‘पानी परेको तिम्रो याद आएर बेसी झरेको’, ‘नगर पीर माया’, ‘बम्बै जाने रेल’, ‘डाँडैको टुनी’ सफल सृजना हुन् । उनका प्राय: गीत करोड क्लबमा पुगेका छन् । केही गीत थोरै ‘भ्यूज’ले करोड क्लबमा पुग्न बाँकी छ । ‘झलिको’ तीन सातामै १ करोड १० लाख भ्यूज गइसकेको छ ।

null

सँगै उनले स्वर भरेका गीत ‘लौ न नि भैया हान्देउ गुलेलीले’, ‘दुई दुना चार’, ‘फुल्यो गुराँस’, ‘मौरी रसैमा’लगायत गीत पनि करोड क्लबमा पुगेका छन् । माया प्रेमलाई मात्र नभई समाजलाई सन्देश दिने गीत पनि सृजना गर्ने अर्जुनले अहिलेसम्म स्वर भरेका व्यवसायिक गीत मात्र १०० भन्दा बढी पुगेका छन् । ‘मेरा सृजना पनि चार/पाँच वटा करोड क्लबमा छन् । मैले आवाज दिएका अरू गीत पनि करोडभन्दा माथि ‘भ्यू’ पुगेका छन्,’ उनी भन्छन्, ‘भ्यूज त जसको जति पनि जान सक्छ । तर, दर्शक र स्रोताले कसरी हेर्नुहुन्छ, कसरी रेस्पोन्स गर्नुहुन्छ भन्ने कुरा ठूलो हो, देश-विदेशमा मैले दर्शक र स्रोताको ठूलो माया पाएको छु, यसैमा म पूर्ण सन्तुष्ट छु ।’

एउटा ठिटो अर्जुन सापकोटा बनेर सुपरिचित

अहिले सापकोटालाई नचिन्ने र उनको स्वर नसुन्ने लोक-सङ्गीत प्रेमी सायदै होलान् । कम उमेरमै गीतको आयतन र आयाम दुवै फैलान सफल उनी विषयवस्तु छनोट र प्रस्तुति दुवैमा मात्रै सफद्य छैनन्, आफ्नो गीतमा उत्कृष्ट अभिनय गर्न  पनि अति सिपालु छन् । दर्शक-स्रोता हुरूक्कै पार्ने गीतहरू अर्जुन आफैं बनाउँछन् र सुहाउँदो गायिकालाई गाउन र अभिनयका लागि मोडललाई प्रस्ताव गर्छन् ।

केही वर्ष अघिसम्मका गीतले समाजमाका पीडा, हिजोका बाध्यता र जीवनशैली समेटेका हुन्थे । तर, अहिले त्यस्तो छैन । सबैको हातमा मोबाइल छ, इन्टरनेट छ । विगतमा रोजगारीको लागि मानिस भारत जान्थे । अहिले खाडी, गल्फ, युरोप हुँदै अमेरिकासम्म नेपाली पुगेका छन् ।

null

अहिले युरोप, अमेरिका र खाडी मुलुकमा जाँदा नेपालीले भोगिरहेको समस्या, भाव र बिम्ब गीतमार्फत् कलाकारले उजागर गरेका छन् । ‘समय धेरै परिवर्तन भइसकेको छ, त्यसैले गीतका विषय नयाँ तरिकाले बदलिएका छन् । नयाँ गीत बनाउने क्रम पनि चलिरहेको छ,’ अर्जुन भन्छन् ।

अर्जुन लोक-सङ्गीतका धेरै हस्तीहरू जन्माएको स्याङ्जाको गल्याङमा वि.सं. २०५५ माघमा जन्मिएका हुन् । अर्जुन सानै छँदा उनको परिवार बसाइँसराइँ गरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ मा झरेको थियो । उनले व्यवस्थापन संकायबाट स्नातक तह उत्तीर्ण गरेका छन् । ‘लोकगायनबाट म एकछिन पनि हराउन सक्दिनँ, नशा-नशामा गीत-सङ्गीतको आवाज बग्छ । एउटा सामान्य परिवारको मान्छे यही क्षेत्रलाई कर्म बनाएर स्याङ्जाबाट नवलपरासी हुँदै काठमाडौं आएँ, एउटा ठिटोलाई अर्जुन सापकोटा बनायो, गीत-सङ्गीत त मेरो आमा बराबर हो,’ उनी भन्छन् । अहिले देश डिजिटल युगमा अघि बढ्दै जाँदा गाउँले मात्र होइन सहरमा पनि लोकगीतलाई अपनत्व दिन थालेको उनको बुझाइ छ ।

अहिलेको बजार टिकटक

अहिले कलाकारले गीत बजारमा ल्याएपछि टिकटकमार्फत् पहिले चर्चामा आउँछ । टिकटकमार्फत् नै ‘अडियन्स’हरू युट्युबमा पुगेर गीत पूरा हेर्ने र सुन्ने गर्छन् । अहिले मान्छे नै टिकटकमा छ, जसले पनि टिकटक चलाउँछ, टिकटक नहेर्ने कोही छैन । ‘साना बालबालिकादेखि बुढा बा-आमाले पनि टिकटक बनाउने गर्नुहुन्छ,’ सापकोटा भन्छन्, ‘मार्केट डिजिटल भइसक्यो, डिजिटल प्लाटफर्म, जति धेरै टिकटक बन्छ उति धेरै हामीलाई आम्दानी हुन्छ ।’

युट्युब पनि गीत हेर्ने प्लाटफर्म नै हो । साँच्चै टिकटक म्यूजिकको लागि बनेको टिकटक हो, जहाँ मानिसहरू रमाइरहेका छन् । अरू प्लाटफर्मबाट भन्दा अहिले कलाकारको टिकटकबाट कमाइ गर्छन् ।

आर्टिस्ट अर्जुन थप्छन्, ‘टिकटकमा हेर्ने युट्युबसम्म नपुग्ला, टिकटकमा गीत सुनेर सृजनालाई माया गर्नुभयो होला । टिकटकमार्फत\ युट्युबमा गएर हेर्ने बनाउन ठूलो चुनौती पनि छ । फेरि राम्रो सृजना भएर मान्छे युट्युबमा पनि पुग्नुहुन्छ ।’

अर्जुनको ‘झलिको’ गीतमा लाखौं टिकटक बनेका छन् । यो गीतमार्फत् टिकटक बनाउनेहरूलाई उनको चार जनाको टिमले ‘रिपोस्ट’, कमेन्ट र लाइक पनि गरिरहेका छन् । उनले मात्र होइन, उनको आमा, बाबा, भाइ, बहिनी र श्रीमतीले पनि उनको गीतमा बनेका टिकटकहरूमा लाइक, कमेन्ट र रिपोस्ट गरिरहेका हुन्छन् । ‘झलिको’ गीतमा २० लाखभन्दा बढी टिकटक बनेको अर्जुनको अनुमान छ । भलै टिकटकले यो गीतबाट कति बने भन्ने सम्पूर्ण डाटा तीन महिनामा एकमुष्ट दिने गरेको अर्जुन बताउँछन् ।

सङ्गीत भनेको सङ्गत हो

आफूलाई मात्र फाइदा होइन लोक-सङ्गीतलाई पनि फाइदा हुनुपर्छ भन्ने उनको सोच छ । उनी साँच्चै नेपाली लोक-सङ्गीत हेर्न र सुन्न मन लाग्ने बनाउन सकियोस् भन्ने धारणा राख्छन् । अर्जुनका लागि सङ्गीत भनेको सङ्गत हो भन्ने लाग्छ । ‘सङ्गीत भनेको सङ्गत हो, जस्ताको सङ्गत भयो, जस्तो संस्कार भयो, जस्तो हुर्काइ भयो, त्यस्तै मान्छे बन्छ । त्यस्तै सुन्छ, त्यस्तै हुन्छ,’ सापकोटा भन्छन्, ‘म आफैं पनि सङ्गीतकार हो, म आफैं पनि गीत बनाउँछु । गीत-सङ्गीतले मान्छेलाई मोटिभेसन पनि गराएको छ ।’

null

जस्ताको सङ्गत गरियो मान्छे त्यस्तै बन्ने सापकोटाको बुझाइ छ । ‘जस्तोको सङ्गत गर्छु भोलि म त्यस्तै बन्छु, जस्तो सुन्छु म त्यस्तै बन्छु, जस्तो खान्छु म त्यस्तै बन्छु,’ उनी भन्छन्, ’त्यही भएर बोल्दा पनि राम्रो बोलौं, सुन्दा पनि राम्रो सुनौं नै भन्नुको कारण पनि त्यही हो ।’

डिजिटल वर्ल्डमा क्षमता भएकालाई अवसरले पछ्याउँछ

गीत-सङ्गीतलाई मनोरञ्जनको क्षेत्र पनि मानिन्छ । लहैलहैमा रहर गर्न आउने पनि छन् । साँच्चै यहीँ सांगीतिक क्षेत्रमा केही गर्ने हो भनेर आउने कमै जना मात्र छन् । यो क्षेत्रमा व्यवसाय गरेका एकपटक भए पनि एउटा गीतमा खेल्छु वा गाउँछु भन्ने पनि छन् । डाक्टर पनि ‘यसो गीतहरू पनि लेख्छु/बनाउँछु’ भनेर लागिरहेका छन् । सुरक्षा क्षेत्रका पनि ‘जागिर पनि गर्छु यता गीत पनि बनाउँछु/अभिनय पनि गर्छु’ भन्नेहरू पनि देखिन्छन् । यो आजभोलि गीत-सङ्गीतको बजार फरक भइरहेको छ ।

‘रियल’ गीत-सङ्गीतबाट अगाडि बढ्नुपर्छ भन्नेहरूको लागि यो क्षेत्रमा सङ्घर्ष ठूलो छ । ‘सबैको हातमा डिजिटल वर्ल्ड भइसक्यो, टिकटक बनाएर पनि चलिहाल्छन् । आफैं गीत गाएर फेसबुकमा हाले पनि चल्छन् । आफैं नाचेर देखाउने कला पनि आफ्नै हातमा छ, कसैलाई गुहार्नै पर्दैन,’ उनी भन्छन्,’ क्षमता भएका नाचेर हाले पनि अवसरले पछ्याइहाल्छ । अहिले सजिलो समय पनि भएको छ ।’

अहिले अर्जुनको व्यस्तता पनि निकै बढो छ । अबको दुई महिना सबै मेला महोत्सवमा पुग्नेछन् । सँगै नयाँ वर्ष सन् २०२६ मा विदेशका विभिन्न कार्यक्रममा सहभागी भएर प्रस्तुति दिने कार्यक्रम रहेको उनले बताए ।

यो पनि 

एकपछि अर्को गीतबाट मन जितिरहेका अर्जुन [भिडियो]

 

salt training

कमेन्ट गर्नुहोस्