०७ असार २०८३, आइतबार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ३ फरक मुद्दामा छुट्टै अनुसन्धान गर्दै अख्तियार

मंसिर २१, २०८२
काठमाडौं
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ३ फरक मुद्दामा छुट्टै अनुसन्धान गर्दै अख्तियार
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा थप तीन वटा फरक मुद्दामा छुट्टै अनुसन्धान अगाडि बढाएको छ ।

आइतबार ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै आयोगले थप तीन वटा पूरक अनुसन्धानका लागि अधिकृत तोकेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको हो ।

‘विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता/भ्रष्टाचार गरेको भन्ने समेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने,’ अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन सबै सुविधा/पूर्वाधारहरू निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको हुने व्यवस्था रहेकोमा छिने डाँडा/रिट्टेपानी डाँडा कटानका लागि सम्झौताविपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिएको विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ ।

यस्तै, प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीबीचको सम्झौताअनुसार परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गरेको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ ।

फरक-फरक प्रकृति र फरक-फरक समय अवधिका वारदात फरक-फरक निर्णयकर्ता भएको विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्