
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत विपक्षी रहेको भ्रष्टाचार मुद्दामा बकपत्रका लागि दुवै पक्षका साक्षीलाई उपस्थित गराउन विशेष अदालतले आदेश गरेको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरज श्रेष्ठको इजलासले सोमबार उक्त आदेश गरेको हो ।
‘वादीका साक्षी विशेष सरकारी वकिल कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीहरूको साक्षी निज प्रतिवादीहरूमार्फत झिकाई भौतिकरूपमा वा श्रव्यदृष्य माध्यम (भिडियो कन्फ्रेन्सिङ)मार्फत उपस्थित गराई बकपत्रको निमित्त इजलाससमक्ष पेस गर्नु,’ आदेशमा भनिएको छ ।
साथै, प्रस्तुत मुद्दाको विषयसम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ मंसिर २८ गते भएको निर्णयसहितको फाइल झिकाउन समेत आदेश गरिएको छ ।
पतञ्जली योगपीठको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी भ्रष्टाचार भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा सोमबार पहिलोपटक सुनुवाइ भएर आदेश भएको हो ।