
रुद्रकली ! अनि खगेन्द्र !
आखिर तिमीहरू पनि होमियौ
खाडीको यो निर्दयी ५० डिग्री रापमा ।
हो, गन्तव्य उही थियो,
तर प्रस्थानको रंग आकाश–जमिन फरक ।
म निस्किँदा
स्वजनका ओजिला आँखा छल्दै,
काँधमा विवशताको झोला भिरेर,
त्रिभुवन विमानस्थलको भीडमा
एउटा ‘अज्ञात’ नाम बनेर हराएको थिएँ ।
बोकेर आँखामा आँसु,
र, मनमा भविष्यको मधुरो धिपधिप ।
तर तिम्रो बिदाइ
समाचारको मुख्य पृष्ठ बन्यो ।
राष्ट्रिय सम्मानका ढोल पिटिए,
ताली र भाषणले आकाश गुञ्जियो ।
फरक यत्ति हो—
म मानवरूपी खगेन्द्र
पेटको आगो निभाउन खाडी आएँ,
तिमी पशुरूपी खगेन्द्र
शासकको शोख पूरा गर्न आयौ ।
घर त हामी दुवैले छाड्यौँ—
मैले आफ्नै सपनाको जग हाल्न,
तिमीले कूटनीतिका नाममा थोपारिएको
मूर्खताको भारी बोक्न ।
शायद, मभन्दा धेरै दुःखी छौ तिमी ।
किनकि यो मरुभूमिमा
पसिना बगाउँदा–बगाउँदै
यदि कहिल्यै मेरो सास रोकियो भने,
म बाकसमा प्याक भएर पनि
एकपटक देशको माटो छुन पाउनेछु ।
तर खगेन्द्र,
तिम्रो पाइलाले अब
कहिल्यै नेपाल टेक्ने छैन ।
त्यो वनपाखा, त्यो शीतल हावा
अब तिम्रा लागि स्मृतिमा मात्रै रहनेछ ।
एउटा नेपालीका रूपमा
हार्दिक बिदाइ,
मेरो प्यारो खगेन्द्र ।
मेरी प्यारी रुद्रकली ।
योगेश पौडेल
विराटनगर- १२ मोरङ
हाल: प्रभु बैंक, काठमाडौं