२५ जेठ २०८३, सोमबार
नयाँ राजनीतिक विकासक्रम

एकै दिनका दुई अर्थपूर्ण भेटले लिन खोजेको राजनीतिक कोर्स, दिन खोजेको सन्देश

पुस ८, २०८२
काठमाडौं
एकै दिनका दुई अर्थपूर्ण भेटले लिन खोजेको राजनीतिक कोर्स, दिन खोजेको सन्देश

राजनीतिक निकासको विकल्प प्रतिनिधिसभा पुन:स्थापना कि आमनिर्वाचन भनेर मुलुक दुई कित्तामा विभक्त भइरहेको समयमा सोमबार (पुस ७) गते महत्त्वपूर्ण राजनीतिक भेटवार्ता भए– शेरबहादुर देउवा र केपी शर्मा ओली तथा रवि लामिछाने र बालेन शाहबीच ।

देउवा–ओलीभन्दा रवि–बालेन भेटले धेरैको ध्यान खिच्यो । सहकारी ठगी मुद्दामा अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति लामिछाने र काठमाडौंका मेयर बालेनको भेटले एकप्रकारको राजनीतिक तरंग सिर्जना गरेको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुखदलहरू पुन:स्थापना र सर्वपक्षीय सरकार गठनका लागि एक ठाउँमा उभिएको र पुस महिनाभित्रै प्रतिनिधिसभा पुन:स्थापनाका लागि पृष्ठभूमि बनिरहेको समयमा भएका यी भेट निकै अर्थपूर्ण छन् ।

पहिला देउवा–ओली भेटको चर्चा

भदौ २४ को मध्याह्नसम्म सत्ता सहकार्यमा रहेका देउवा–ओली केही समय मौन बसे पनि परिस्थिति सामान्य बन्दै गएपछि निरन्तर औपचारिक–अनौपचारिक संवादमा छन् ।

मंसिर १८ गते पहिलो औपचारिक भेटपछि कांग्रेस संसद् पुन:स्थापनाको मागसहित रिट लिएर सर्वोच्च अदालतमा गएको थियो । अलमलमा रहेको कांग्रेस ओलीसँग भेटको २ दिनपछि सर्वोच्च जानु अनौठो संयोग बनेको थियो ।

देउवासँग भएको सो भेटबारे ओलीले खुलेर प्रतिक्रिया दिएका थिए । ‘हामीले देशको चिन्ता गर्‍यौं, त्यसका नतिजा बिस्तारै देखिँदै जानेछन् । देउवाजीसँग अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ । तोरीको बिउ भए पो आज छरे भोलि उम्रिन्छ, बकुल्लाको बिउ उम्रिन समय लाग्छ । बकुल्ला (एक प्रकारको सिमी)को बिउ रोपेका छौं । अब बिग्रिएछ कि भनेपछि बल्ल उम्रिन्छ,’ मंसिर २५ गते सम्पादकहरूसँगको भेटमा ओलीले भनेका थिए ।

कांग्रेस–एमाले सत्ता सहकार्य शुरू गर्नुअघि २०८१ असार १५ गते दही–चिउरा खाने बहानामा आरजुलाई लिएर देउवा बालकोट पुगेका थिए । त्यसको २ दिनपछि अर्थात् असार १७ गते मध्यरातमा कांग्रेस–एमाले सहकार्यको सम्झौता भएको थियो ।

null

त्यस्तै, शैलीमा पत्नी राधिकालाई लिएर ओली मंसिर १८ गते महाराजगञ्ज पुगे । अलमलमा रहेको कांग्रेस लगत्तै पुन:स्थापनाको माग लिएर सर्वोच्च पुग्यो । पुस ७ मा महासचिव शंकर पोखरेललाई लिएर ओली दोस्रोपटक (औपचारिक रूपमा) महाराजगञ्ज पुगे । आसन्न राष्ट्रिय सभा निर्वाचनमा दुई दलको सहकार्यलगायत विषयमा छलफल भएको दुवै दलका प्रभावशाली नेताहरूको विश्लेषण छ ।

ओली–देउवा प्रतिनिधिसभा पुन:स्थापनामार्फत अहिलेको राजनीतिक संकट समाधान गर्नुपर्ने मान्यतामा छन् । शुरूमा ओलीले मात्र उठाइरहेको पुन:स्थापनाको माग चुनावको अनिश्चिततासँगै धेरैले उठाउन थालिसकेका छन् ।

कांग्रेस–एमालेको संस्थापन सर्वोच्च अदालतबाट नै पुन:स्थापनामार्फत निकास आउँछ भन्ने विश्वासमा छ । पुन:स्थापना हुन्छ भन्ने भरमा रहेका उनीहरूले प्लान ‘बी’को बारेमा धेरै चर्चा गरेका छैनन् ।

कांग्रेस–एमालेका बहुमत सदस्य प्रतिनिधिसभा पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव नभए प्रतिनिधिसभा पुन:स्थापना हुने प्रतिक्रिया दिएका छन् ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि चुनाव अनिश्चित भए प्रतिनिधिसभा पुन:स्थापना हुने बताएका थिए ।

कांग्रेस–एमालेको संस्थापन सर्वोच्च अदालतबाट नै पुन:स्थापनामार्फत निकास आउँछ भन्ने विश्वासमा छ । पुन:स्थापना हुन्छ भन्ने भरमा रहेका उनीहरूले प्लान ‘बी’को बारेमा धेरै चर्चा गरेका छैनन् ।

रवि–बालेन भेटको हलचल

फिल्म निर्देशनबाट राजनीतिमा आएका असीम शाहको कमलपोखरीमा रहेको स्टुडियोमा घण्टौं लामो संवादपछि काठमाडौं महानगरका मेयर बालेन र रास्वपा सभापति लामिछाने एउटै गाडीमा फर्किँदै गरेको तस्वीर सार्वजनिक भएपछि त्यसले राजनीतिमा नयाँ तरंग सिर्जना गर्‍यो । खासगरी नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्छ भन्नेहरू हिजोको भेटबाट उत्साहित देखिएका छन् ।

वैकल्पिक भनिए पनि विगतमा बालेन र रविको सम्बन्ध त्यति सौहार्द थिएन । ०७९ वैशाखको चुनावमा बालेन स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौंको मेयरमा विजयी भएपछि उनको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिस्तरमा फैलियो । बालेन–हर्क साम्पाङको उदयपछि रवि टेलिभिजन करिअर बिट मारेर राजनीतिमा होमिएका थिए ।

बालेनको बुझाई– मेरो लोकप्रियताका कारण रविहरू राजनीतिमा आएको भन्ने रहेको उनीसँग संगत गरेकाहरू बताउँछन् । रवि राजनीतिमा आउनुमा बालेन–हर्क साम्पाङ र गोपी हमालको जीत एउटा सन्दर्भ भएको रास्वपा नेताहरू पनि स्वीकार गर्छन् ।

पार्टी गठन गरेको ४ महिनामै ०७९ साल मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रविको पार्टी रास्वपा संसदमा एउटा निर्णायक शक्तिको रूपमा उदायो । संख्यात्मक रूपमा २१ सिट भएपनि शहरी मतदातामा रास्वपाले जबरजस्त छाप छाड्न सफल भयो । रवि पहिलो प्रयासमै सांसद निर्वाचित भए । सरकारमा उपप्रधानसहित  गृहमन्त्रीको पोर्टफोलियो पाए ।

उनी गृहमन्त्री बनेको समयमा बालेनसँग उनको विवाद भएको थियो । खासगरी काठमाडौं उपत्यकाको खोला किनारमा अनधिकृत ढंगले बसोबास गरेका सुकुम्बासीलाई हटाउने मामिलामा गृह मन्त्रालयबाट पर्याप्त सहयोग नभएकोमा बनेन रूष्ट भएका थिए ।

स्रोतका अनुसार त्यसपछि रवि–बालेनबीच प्रत्यक्ष संवाद हुन सकेको थिएन । सरकारबाट बाहिरिएको डेढ वर्षयता रवि सहकारी ठगी मुद्दामा अल्मलिए ।

भदौ २३–२४ को घटनाका कारण उत्पन्न परिस्थितिले रवि र बालेनलाई एक ठाउँमा बस्नुपर्ने परिस्थिति सिर्जना गर्‍यो ।

null

मिल्नुपर्ने दुवैको बाध्यता

भदौ २३ गतेको जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको भन्दै काठमाडौंका मेयर बालेन एमालेको तारो बनेका छन् । अर्कै सन्दर्भमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर दिएको भड्किलो अभिव्यक्तिलाई भदौ २४ गतेको घटनासँग जोडेर पनि उनको चर्को आलोचना हुँदै आएको छ । भदौ २४ को घटनापछि केही समय बालेन रक्षात्मक बनेर मौन बसे ।

विश्लेषक सौरभले ‘लुसिफर’को संज्ञा दिएपछि एमालेका महेश बस्नेत लगायतले बालेनलाई सोही उपनामले कटाक्ष गरेका थिए । भदौ २३ गते आन्दोलन दमन गरेको भन्दै बालेनले मध्यरातमा तत्कालीन प्रधानमन्त्री ओलीलाई मानवीयता नभएको ‘आतंकवादी’भनेर लेखेका थिए ।

भदौ २४ गते राष्ट्रिय सम्पदामा आगजनी र विध्वंश मच्चिएपछि रोक्नका लागि बालेनले सार्वजनिक अपिल गर्नुपरेको थियो । आन्दोलनको एउटा ‘फ्याक्टर’ रहेका बालेनले संसद् विघटन गर्नुपर्ने सर्त अगाडि सारेका थिए । सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेका थिए ।

भदौ २३–२४ को घटनालाई बालेन–रविहरूले क्रान्ति र युवाको विद्रोह भन्ने गरेका छन् । जबकि ओलीले भदौ २४ को घटनालाई विध्वंश भनेका छन् । भदौ २३ र २४ को घटनालाई फरक–फरक ढंगले हेर्नुपर्ने धेरैको मत छ ।

बालेनले आन्दोलन दबाउन भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई पटक–पटक दबाब दिएका थिए । सिंहदरबार जल्दा दमकल नपठाएको भनेर चर्को आलोचना भएपछि बालेनले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै त्यसको खण्डन गरेका थिए ।

अर्कोतर्फ, भदौ २४ गते जेल तोडेर कैदी भगाएको आरोप रविमाथि लाग्ने गरेको छ । भदौ २४ गते नख्खु कारागारबाट बाहिरिएका रवि केही दिनपछि आफैँ कारागारमा गएका थिए ।

भदौ २४ को घटनालाई हेर्ने दृष्टिकोणमा समानता भएका कारण रवि–बालेन मिल्नका लागि दबाब या बाध्यता सिर्जना भयो ।

अदालतको आदेशले थुनामुक्त भएपछि पुस ५ गते शनिबार चितवनमा आयोजित कार्यक्रममा रविले भदौ २४ को घटना २३ गतेको दमनको विरुद्धमा जनताले घर–घरबाट गरेको ‘विद्रोह’ भएको बताएका थिए ।

‘आगामी चुनावमा सहकार्य सँगसँगै भदौ २३–२४ मा भएको आन्दोलनलाई संस्थागत गर्नका लागि पनि त्यसका स्टेक होल्डर मिल्नुपर्ने अवस्था सिर्जना भयो,’ रवि–बालेन भेटको सन्दर्भमा रास्वपा स्रोत भन्छ ।

बालेनसँग भेट्न यसपटक रविले उत्सुकता र पहलकदमी लिएका थिए । उनले जेलबाट मुक्त भएलगत्तै वैकल्पिक शक्तिहरूसँग सहकार्य हुनेमा शुभेच्छुकलाई आश्वस्त पार्दै त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए ।

यद्यपि, रविले मंगलबार चितवन पुगेर बाहिर आफूखुसी व्याख्या नगर्न आग्रह गरेका छन् । बरु उनले जेनजी आन्दोलनबाट चिनिएका हामी नेपाल एनजीओका सुधन गुरुङ र वर्तमान सरकारका मन्त्री कुलमान घिसिङसँग समेत संवाद गर्ने बताएका छन् ।

पुस ७ गते पार्टी कार्यालयबाट सम्बोधन गर्ने क्रममा उनी रास्वपा छाडेर गएका सुमना श्रेष्ठ र सन्तोष परियारप्रति नरम नै सुनिए । रास्वपा छाडेकी सुमनालाई अगाडि सारेर बालेनले पार्टी खोल्नेसम्मका चर्चा भएका थिए ।

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी घोषणा सभामा पुगेर सुमनाले आफू नयाँहरू मिल्नुपर्छ भन्ने ठाउँमा रहेको र त्यो प्रयास जारी राख्ने बताएकी थिइन् ।

सोमबारको भेटमा रविले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेकोसम्मका टिप्पणी बाहिर आएका छन् । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले गरेको संकेतले पनि त्यस कुरालाई बल मिल्छ । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्यका लागि भइरहेको छलफलमा सहभागी खनालले बोलेको कुरा व्यक्तिगतभन्दा पनि संस्थागतजस्तो देखिन्छ ।

यद्यपि, रविले मंगलबार चितवन पुगेर बाहिर आफूखुसी व्याख्या नगर्न आग्रह गरेका छन् । बरु उनले जेनजी आन्दोलनबाट चिनिएका हामी नेपाल एनजीओका सुधन गुरुङ र वर्तमान सरकारका मन्त्री कुलमान घिसिङसँग समेत संवाद गर्ने बताएका छन् ।

विभिन्न मुद्दा–मामिला र झमेला बाँकी नै रहेको अवस्थामा बालेनको नाम अगाडि सार्दा जनतामा आकर्षण बढ्ने रास्वपा नेताहरूको बुझाइ छ ।

मिडियामा नबोल्ने र मानिसहरूसँग त्यति सहज ढंगले नखुल्ने भएकाले बालेनको भित्री मक्सद बुझ्न कठिन छ । तर, १५ महिनापछि काठमाडौंको मेयरको कार्यकाल सकिँदै गरेका बालेन फेरि त्यही पदमा दोहोरिने हुन् या संसदीय निर्वाचन लड्ने भन्ने क्लियर भएको छैन ।

पुन:स्थापनाका पक्षमा बन्दै गरेको माहोल

अर्कातर्फ, फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित बन्दै गएको र प्रतिनिधिसभा पुन:स्थापनाको माहौल बन्दै गइरहेको देखिन्छ ।

पुस ५ गते शनिबार काठमाडौंको भृकुटीमण्डपबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव सारिए राजनीतिक दुर्घटना हुन्छ भनेर पुन:स्थापनाको संकेत गरेको स्रोतहरू बताउँछन् ।

निर्वाचन आयोगले प्राविधिक तयारीको काम गरे पनि सरकारले राजनीतिक माहोल बनाउने काम नगरेको दलहरूको आरोप छ । उसो त सुशीला कार्की सरकारको नियुक्ति सम्बन्धमा संवैधानिक परीक्षण हुन बाँकी छ ।

चुनाव अन्योलपूर्ण बन्दै गइरहेको समयमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेता देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गरेका छन् । परन्तु, यो भेटले पनि चुनावको माहौल बनिहाल्ने छाँट छैन ।

संसद् पुन:स्थापनाको पक्षमा सडकमा संघर्ष र अदालतमा कानूनी लडाइँ लडिरहेको एमाले र पुन:स्थापनाको विरोध गरेको रास्वपाको कुन लाइनले ‘प्रिभेल’ गर्छ, केही दिनमा निर्क्यौल हुनेछ ।

पढ्नुहोस्, यो पनि:

EXCLUSIVE: पाक्दै गरेको खजाना: पुसभित्रै संसद् पुन:स्थापना, जेनजीसहितको सर्वपक्षीय सरकार

रवि-बालेन वार्ताको भित्री कथा : भेट जुराउन लामो समयदेखि संवादमा थियो शिशिर र कुमारको टीम
 

salt training

कमेन्ट गर्नुहोस्