
२०६३ जेठ २३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा स्वागत गर्न विमानस्थलमै आएका थिए– भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह ।
नेपालका समकक्षीको स्वागत गर्न भारतीय प्रधानमन्त्री विमानस्थलमा आउनु एउटा दुर्लभ संयोग थियो ।
कोइरालालाई मनमोहन सिंहले दक्षिण एसियाकै सबैभन्दा ठूलो नेताको संज्ञा दिएका थिए । कोइरालापछि नेपालका प्रधानमन्त्रीले १० पटक भारत भ्रमण गरे, तर उनीहरूलाई त्यो तहको सम्मान भएन ।
२१ औं शताब्दीको पहिलो जनआन्दोलनको नेतृत्व गरेका कोइरालालाई दिएको सम्मान नेपालमा भएको राजनीतिक परिवर्तनप्रतिको समर्थन थियो ।
भारतीय संस्थापनको जानकारीमै नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीको जगमा जनआन्दोलन भएको थियो ।
नेपाली इतिहासको आधुनिक कालखण्डमा कोइरालालाई भरतमा गरिएको सम्मान अतुलनीय थियो ।
सरकारी ओहोदामा नभएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिल्लीमा त्यही स्तरको सम्मान पाए, जुन २० वर्षअघि कोइरालाले पाएका थिए ।

अहिले पनि अघिल्लोपटक जस्तै एउटा संयोग छ ।
भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको जगमा भएको फागुन २१ को चुनावपछि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गरेको सम्मानलाई भारतले दिएको महत्त्वका रूपमा यसलाई बुझ्नु पर्छ ।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीको विश्लेषण पनि त्यही छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावलगत्तै पनि लामिछाने र बालेनलाई बधाई दिएका थिए । नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको बेला निमन्त्रण पनि । तर, बालेनले तत्काल विदेश भ्रमणमा जाने रूचि देखाएनन् ।
नेपालमा भएको ठूलो राजनीतिक परिवर्तनपछि भारतले उदाएको नयाँ शक्तिसँग सम्बन्ध बढाउन खोज्यो र रास्वपा सभापति लामिछानेलाई निमन्त्रण दियो ।
चुनावमा झण्डै दुुईतिहाइ बहुमत ल्याएको दलको नेताको हैसियतमा रविले भातको भ्रमण गरे । जेठ १८ गते विमानस्थलमा उत्रिएसँगै लामिछानेले भारतमा न्यायो सम्मान पाए ।
राष्ट्रपति कार्यालयमा हुने ‘गार्ड अफ अनर’बाहेक प्रधानमन्त्रीकै झल्को दिनेगरी उनले भारतमा सम्मान पाए ।
भाजपा कार्यालयमा मंगलबार उनलाई बाजागाजासहित स्वागत भयो, अध्यक्ष नितिन नवीनले दोसल्ला ओडाएर स्वागत गरे ।
लगत्तै भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्त भयो । मंगलबार साँझ नै उनले भारतीय गृहमन्त्री अमित शाहसँग समेत भेटवार्ता गरे ।
बुधवार रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । रविसँगको भेटपछि मोदीले नेपाली भाषामै ट्वीट गर्दै लेखेका छन्– नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं ।
रविले मंगलबार हिन्दूस्तान टाइम्समा ‘एउटा आकांक्षी नेपाल र उदीयमान भारत कसरी पुन: जोडिन सक्छन्’ भन्ने लेख लेखेका थिए । रविको सो लेखले भारतमा समेत चर्चा पायो ।
लामिछानेले मोदीसँग एक घण्टा कुरा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

रवि भारत भ्रमणमा रहेको समयमा प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे बहस भइरहेको छ । बालेनको अभिव्यक्तिलाई लिएर संसदका दुवै सदन अवरुद्ध बनेका छन् ।
लिपुलेक–लिम्पियाधुरासम्बन्धी विवाद समाधानका लागि बेलायतलाई समेत सामेल गराउने बालेनको प्रस्तावलाई भारतले सिधै अस्वीकार गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबारको पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा समस्या समाधानमा तेस्रो देशको संलग्नता आवश्यक नरहेको प्रस्ट जवाफ दिए ।
नेपालको तर्फबाट समेत भारतको भूमि मिचिएको भन्ने बालेनको अभिव्यक्तिको आशयबारे सरकारका प्रवक्ताले बचाउ गर्न खोजेका छन् । यो विषयमा बालेनबाटै जवाफ नआई सदन चल्ने सम्भावना देखिएको छैन ।
नयाँ सरकार बनेपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्ने नेपालको परम्परा छ ।
नयाँ राजनीतिक परिवर्तनपछि बनेको सरकारका प्रमुखले भ्रमण नगरेको समयमा सत्तारूढ पार्टीका सभापतिको भ्रमण अर्थपूर्ण हुने नै भयो ।
मोदीसँग एक घण्टा लामो छलफलमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन, तर दिल्लीमा रविले पाएको स्वागत र सम्मान भने उल्लेखनीय छ ।
विगतमा रोटीबेटी भनिने नेपाल–भारत सम्बन्ध अहिले कनेक्टिभिटीमा रूपान्तरित भएको छ । नून–तेलदेखि दैनिक उपभोग्य सामानमा नेपाल भारतसँगै परनिर्भर छ ।
विश्वको चौथो आर्थिक शक्ति बन्न लागिरहेको भारतसँगको राम्रो सम्बन्धले मात्र नेपालले आर्थिक समृद्धिको आकांक्षा पूरा गर्नेछ ।
नेपालमा उदाएका नयाँ शक्तिहरूले राख्ने सुझबुझपूर्ण कूटनीतिक सम्बन्धले मात्र नेपालको आगामी दिन सहज हुनेछन् ।