
भारतको कफी निर्यात सन् २०२५ मा मूल्यका हिसाबले दुई अर्ब अमेरिकी डलर नाघ्ने देखिएको छ ।
विश्व बजारमा आपूर्ति समस्या देखिँदा कफीको मूल्य तीव्र रूपमा बढेकाले पछिल्ला पाँच वर्षमा भारतको कफी निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको हो ।
कफी बोर्डले जारी गरेका अनुमति पत्रका आधारमा चालु क्यालेन्डर वर्षको डिसेम्बर १६ सम्म भारतबाट कफी निर्यात एक अर्ब नौ सय ६८ मिलियन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको एक अर्ब छ सय ३० मिलियन अमेरिकी डलरको तुलनामा २१ प्रतिशत बढी हो ।
रुपैयाँ मूल्यका आधारमा पनि निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । चालु क्यालेन्डर वर्षको हालसम्म कफी निर्यात सत्र हजार एक सय छ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तेह्र हजार छ सय २४ करोड रुपैयाँभन्दा २६ प्रतिशत बढी हो ।
आधिकारिक स्रोतका अनुसार चालु क्यालेन्डर वर्ष तथा चालु आर्थिक वर्ष दुवैमा कफी निर्यात दुई अर्ब अमेरिकी डलर नाघ्ने निश्चित देखिएको छ । चालु आर्थिक वर्षको अप्रिलदेखि डिसेम्बर सोह्रसम्मको अवधिमा कफी निर्यात एक अर्ब चार सय २० मिलियन अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको एक अर्ब दुई सय २३ मिलियन अमेरिकी डलरभन्दा बढी हो ।
ब्राजिल र भियतनामजस्ता प्रमुख उत्पादक मुलुकमा आपूर्तिसम्बन्धी चिन्ता बढेपछि पछिल्ला वर्षहरूमा विश्व बजारमा कफीको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको बताइएको छ ।
मूल्यका हिसाबले निर्यात बढे पनि परिमाणका आधारमा भने चालु क्यालेन्डर वर्षमा कफी निर्यात घटेको छ । युरोपका प्रमुख बजारमा रहेका केही खरिदकर्ताले तुलनात्मक रूपमा सस्तो कफी उपलब्ध हुने अन्य मुलुकतर्फ आपूर्ति सरेपछि भारतबाट निर्यात हुने कफीको मात्रा घटेको हो ।
डिसेम्बर १६ सम्म भारतले तीन लाख ६६ हजार टन कफी निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तीन लाख ९१ हजार टनको तुलनामा छ प्रतिशत कम हो ।
भारतीय रोबस्टा र अरेबिका कफीले लन्डन र न्यूयोर्कका अन्तर्राष्ट्रिय टर्मिनल मूल्यभन्दा प्रिमियम मूल्य पाउँदै आएका छन् ।
हाल भारतीय रोबस्टा पार्चमेन्ट एबी कफीको प्रिमियम प्रति टन एक हजारदेखि एक हजार एक सय अमेरिकी डलरसम्म रहेको छ भने रोबस्टा चेरी एबीको प्रिमियम चार सयदेखि चार सय ५० अमेरिकी डलर आसपास छ । त्यस्तै, भारतीय अरेबिका पार्चमेन्ट कफी न्यूयोर्क मूल्यभन्दा प्रतिपाउन्ड १२ देखि १५ सेन्ट प्रिमियममा कारोबार भइरहेको छ ।
विश्वको सातौं ठूलो कफी उत्पादक मुलुक भारत निर्यातका हिसाबले पाँचौं स्थानमा रहेको छ । विश्वभर कफी उत्पादन गर्ने मुलुकहरूको कुल निर्यातमा भारतको हिस्सा करिब पाँच प्रतिशत रहेको छ ।
पछिल्ला चार वर्षयता कफीको मूल्य उच्च रहेकाले भारतको कफी निर्यात लगातार एक अर्ब अमेरिकी डलरभन्दा माथि रहँदै आएको छ । भारतीय कफीका प्रमुख पाँच गन्तव्य मुलुकमा इटाली सबैभन्दा अगाडि छ, जसले कुल निर्यातको करिब अठार प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसपछि जर्मनी एघार प्रतिशत, बेल्जियम करिब सात दशमलव चार सात प्रतिशत, रसियन फेडेरेसन पाँच दशमलव २८ प्रतिशत र संयुक्त अरब इमिरेट्स करिब पाँच प्रतिशत हिस्सासहित प्रमुख गन्तव्यमा परेका छन् ।