१६ असार २०८३, मंगलबार

सुरक्षा क्षमता अभिवृद्धिका लागि करिब ८.८ अर्ब अमेरिकी डलर खर्च गर्दै भारत

पुस १६, २०८२
काठमाडौं
सुरक्षा क्षमता अभिवृद्धिका लागि करिब ८.८ अर्ब अमेरिकी डलर खर्च गर्दै भारत

भारतको रक्षा मन्त्रालयले रक्षा खरिद परिषद् (डिफेन्स एक्विजिसन काउन्सिल– डीएसी) मार्फत स्थलसेना, नौसेना र वायुसेनाका लागि रडार, रेडियो, स्वचालित टेकअफ–ल्यान्डिङ रेकर्डिङ प्रणालीसहित विभिन्न उपकरण खरिद गर्न करिब ७९० अर्ब रुपैयाँ (८.७८ अर्ब अमेरिकी डलर) बराबरको प्रस्ताव स्वीकृत गरेको छ ।

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सोमबार बसेको डीएसी बैठकले ती प्रस्तावलाई स्वीकृति दिएको हो ।​ डीएसीले थलसेनाका आर्टिलरी रेजिमेन्टका लागि ‘लोइटर म्युनिसन’ प्रणाली खरिदलाई स्वीकृति दिएको छ । 

साथै, थलसेनाका लागि कम उचाइमा प्रयोग हुने हलुका रडार, पिनाका रकेट प्रणालीका लागि दीर्घदूरी निर्देशित रकेट गोला–बारुद तथा एकीकृत ड्रोन पहिचान र अवरोध प्रणाली (एमके–टु) खरिद गर्ने प्रस्ताव पनि पारित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लोइटर म्युनिसन प्रणाली सामरिक लक्ष्यमा सटीक प्रहारका लागि प्रयोग गरिनेछ । कम उचाइका हलुका रडारले साना आकारका, कम उचाइमा उड्ने मानवविहीन हवाई प्रणाली पहिचान र ट्र्याक गर्न सहयोग गर्नेछन् ।

पिनाका रकेट प्रणालीको दायरा र सटीकता वृद्धि गर्दै उच्च मूल्यका लक्ष्यमा प्रभावकारी प्रहार गर्न दीर्घदूरी निर्देशित रकेट खरिद गर्न लागिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । उन्नत दायरासहितको एकीकृत ड्रोन पहिचान र अवरोध प्रणाली (एमके–टु) ले सामरिक युद्ध क्षेत्र तथा पछिल्लो क्षेत्र (हिन्टरल्याण्ड) मा भारतीय थलसेनाका महत्त्वपूर्ण सम्पत्तिको सुरक्षा गर्ने अपेक्षा गरिएको छ ।

भारतीय नौसेनाका लागि उच्च आवृत्तिको सफ्टवेयर–डिफाइन्ड रेडियो (एचएफ एसडीआर) म्यानप्याक खरिद तथा उच्च उचाइ र दीर्घदूरीका रिमोटली पाइलटेड एयरक्राफ्ट सिस्टम (हेल आरपास) लिजमा लिने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

मन्त्रालयका अनुसार भारतीय महासागर क्षेत्रमा निरन्तर गुप्तचर, निगरानी र अनुगमन (आइएसआर) का लागि आवश्यक संख्यामा आरपास प्रणाली लिजमा लिइनेछ ।

भारतीय वायुसेनाका लागि स्वचालित टेकअफ–ल्यान्डिङ रेकर्डिङ प्रणाली, अस्त्र एमके–टु मिसाइल, फुल मिशन सिमुलेटर तथा स्पाइस–१००० दीर्घदूरी निर्देशन किट खरिदलाई पनि स्वीकृति दिइएको छ ।

मन्त्रालयले भनेको छ, 'स्वचालित टेकअफ–ल्यान्डिङ रेकर्डिङ प्रणाली समावेश हुँदा सबै मौसममा उच्च गुणस्तरको स्वचालित रेकर्डिङ उपलब्ध भई हवाई सुरक्षा वातावरणमा रहेका कमजोरी पूर्ति हुनेछन् ।'

उन्नत दायरासहितका अस्त्र एमके–टु मिसाइलले ठूलो स्ट्यान्डअफ दूरीबाटै शत्रुका विमान निष्क्रिय पार्ने वायुसेनाको क्षमता अभिवृद्धि गर्ने मन्त्रालयको भनाइ छ । 

त्यसैगरी, लाइट कम्ब्याट एयरक्राफ्ट तेजसका लागि फुल मिशन सिमुलेटरले सुरक्षित र कम लागतमा पाइलट तालिमलाई सुदृढ बनाउनेछ भने स्पाइस–१००० प्रणालीले भारतीय वायुसेनाको दीर्घदूरी सटीक प्रहार क्षमतामा थप वृद्धि गर्ने मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्