
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बूढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले १४ व्यक्ति र जाग्रिति/एम.के/नेपाल जेभी, धनगढी, कैलालीलाई समेत प्रतिवादी कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानूनको प्रतिकूल हुने गरी लक्षित बोलपत्रदातालाई ठेक्का दिन योग्यताको सर्त तथा मापदण्डलाई बदनियतपूर्वक परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो ।
तत्कालीन नगरप्रमुख शाहसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेश राज रेग्मीलाई प्रतिवादी कायम गरिएको छ ।
त्यसैगरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी र खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब-इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्तबहादुर थापालाई पनि प्रतिवादी कायम गरिएको छ ।
त्यसैगरी, जागृति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहलाई पनि प्रतिवादी कायम गरिएको छ ।
सबै जना प्रतिवादीहरूविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति :