
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि उनका छोरा तथा सांसद निकोलस मादुरो गुएराले कडा दिएका छन्। आफ्ना आमाबुबालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै गुएराले यसलाई 'अपहरण' को संज्ञा दिएका छन्।
मादुरो गुएराले अमेरिकी कदमको आलोचना गर्दै भनेका छन्, "यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य मान्न थालियो भने, अब संसारको कुनै पनि देश सुरक्षित रहने छैन।" उनले यस कार्यलाई अन्तर्राष्ट्रिय मर्यादाको उल्लंघन बताएका छन्।
उनले अगाडि थपे, "आज भेनेजुएलामाथि यस्तो भएको छ, भोलि कुनै पनि त्यस्तो देशमाथि हुन सक्छ जसले (अमेरिकाको) दबाबमा झुक्न अस्वीकार गर्छ। यो केवल एउटा क्षेत्रीय समस्या मात्र होइन, बरु विश्वव्यापी राजनीतिक स्थिरताका लागि सिधै खतरा हो।"
सांसद गुएराले अमेरिकालाई आफ्ना बुबा (निकोलस मादुरो) र आमा (सिलिया फ्लोरेस) लाई तत्काल रिहा गर्न माग गरेका छन्। अमेरिकी अभियोग पत्रमा आफ्नो नाम पनि समावेश गरिएकोमा उनले कडा निन्दा गरेका छन्। अमेरिकाले मादुरोका छोरालाई पनि लागुऔषध तस्करी र आपराधिक षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ।
यसैबीच, न्युयोर्कको संघीय अदालतमा पेश गरिएका राष्ट्रपति मादुरोले पनि आफूलाई अपहरण गरिएको दाबी दोहोर्याएका छन्। उनले न्यायाधीशसँग भने, "म निर्दोष छु, म अपराधी होइन। म अझै पनि मेरो देशको राष्ट्रपति हुँ।"
गत जनवरी २ मा अमेरिकी विशेष बलले भेनेजुएलामा सैन्य कारबाही गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अमेरिकामा कोकिन तस्करी गर्न आतंकवादी संगठनहरूसँग साँठगाँठ गरेको र अवैध हतियार राखेको गम्भीर आरोप छ। मादुरोका छोराले यसलाई राजनीतिक प्रतिशोध र सार्वभौम राष्ट्रमाथिको प्रहार बताएका छन्।