३० जेठ २०८३, शनिबार
विषादीविरुद्ध अभियान

‘विषादीरहित भान्सा’ बनाउन अभियानमा निस्किएका हुमाकान्त

माघ ३, २०८२
बुटवल
‘विषादीरहित भान्सा’ बनाउन अभियानमा निस्किएका हुमाकान्त

हुमाकान्त काफ्ले विषादी, भेटेरिनरी र बीउ-बिजन व्यवसायी थिए। उनी तरकारी बालीमा प्रयोग हुने जीवनाशक रासायनिक विषादी, पशुपन्छीका लागि आवश्यक औषधि र तरकारीको बीउ-बिजन बिक्री वितरणमा रमाएका थिए। उनी व्यवसायी रहेका बेला चितवन, नवलपरासी र रूपन्देहीसहित जिल्लामा हरियो तरकारी उत्पादन राम्रो थियो।

उनीकहाँ विषादी किन्न किसान, सामान्य नागरिकदेखि संघ/संस्थाका प्रतिनिधिहरू पनि आउने गर्थे। कृषिजन्य सामग्री बिक्री गर्ने सम्बन्धले उनले किसानलाई माया पनि गर्थे। विषादीको बिक्री र बढ्दो प्रयोग हुँदा त्यसबारे उपभोक्तालाई सही ज्ञान नहुँदा त्यसको असर मानव स्वास्थ्यमा परिरहेको समाचार उनले सुनिरहेका थिए। उनलाई विषादीको सही प्रयोग गर्न नजान्दा देखिएका असरले मन भित्रैदेखि घच्घच्याइरहेको थियो।

त्यसपछि हरियो तरकारीमा प्रयोग हुने विषादी, घरमा साङ्ला, मुसा र धमिरा मार्न भइरहेको पेस्टिसाइड प्रयोग र किसान दोहोरो जोखिममा परेको महसुस गरी उनी भान्सालाई विषादीरहित बनाउने अभियानमा निस्किए। चितवनको भरतपुर महानगरपालिका–२७ का काफ्लेले नेपालीको भान्सामा विषादी प्रवेशमा रोकथामको उपाय लिएर सचेतना अभियान सञ्चालन गरिरहेको बताउँछन्। नागरिकमा सामाजिक चेतना फैलाउँदै समुदायस्तरमा भान्सामा विषादी रोकथामको चेत र जिम्मेवारीको भावना विकास गर्न पाइला चालेको उनको भनाइ छ।

विगत एक वर्षदेखि उपभोक्ताको भान्सामा विषादी प्रयोग रोकथामबारे जान्नैपर्ने कुराहरू लिएर उनी गाउँ-टोलका किसानकहाँ पुगिरहेका छन्। अझै ठीक माध्यमबाट विषादी प्रयोग नगरी हेलचेक्र्याइँ गर्दा आम नेपाली उपभोक्ताको स्वास्थ्य खतरामा परेको उनको बुझाइ छ। ‘म व्यवसायमा जोडिएको साढे दुई दशक पुग्यो’, उनी भन्छन्, ‘औपचारिक रूपमा एक वर्षदेखि किसानलाई विषादी प्रयोगपछिको वेयटिङ पिरियड (पर्खनुपर्ने समय) र किसानलाई विभिन्न रोग जन्माइरहेको विषादीको मात्रा कम्तीमा भान्सासम्म न्यूनीकरण गर्ने अभियान चलाइरहेको छु।’

फलफूल र तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गराउनेबारे किसान र उपभोक्तामा सचेतना जगाउन गाउँ-गाउँमा डुलिरहेको उनको भनाइ छ।

‘भारतमा सत्यमेव जयते कार्यक्रमबाट प्रभावित भएर मैले कम्तीमा नागरिकलाई सचेतना फैलाउन सक्छु भनेर यो काम थालेको हुँ’, उनी थप्छन्, ‘उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने तरकारीमा अत्यधिक विषादी भेटिएको छ। खान अयोग्य तरकारीबाट जोगाउने मेरो उद्देश्य हो।’

गाउँ-टोलमा महिलाहरूको सहभागितामा उनले यो अभियान चलाइरहेका छन्। नेपाली समाजमा भनिन्छ– भान्सा नै औषधालय हो। प्रायः रोगहरूको रोकथाम स्वस्थ खानपानबाटै हुन्छ। तर, पछिल्ला वर्षमा नेपालीको भान्सामा तरकारी र फलफूलको नाममा ‘विष’ पुगिरहेको उनी बताउँछन्।

तरकारीमा कीरा मार्न र बढी फलाउन विषादी प्रयोग भइरहेको छ। कुन औषधि (विषादी) प्रयोग गरेपछि कति दिन पर्खिएर बजारमा लैजाने भन्ने ज्ञान धेरै नेपालीमा छैन। त्यस्तै, काँचै खाने तरकारीहरू मुला, गाजर, साग, काँक्रामा पनि विषादी बढी हुने गरेको उनी बताउँछन्। यस्ता वस्तुलाई पनि पानीमा राम्रोसँग धोइपखाल्ने र कम्तीमा आधा घण्टा पानीमा डुबाएपछि मात्र प्रयोग गर्न उनी सुझाउँछन्।

उनका अनुसार यतिसम्मको ज्ञान पनि बहुसंख्यक उपभोक्तासम्म पुग्न सकेको छैन। कम्तीमा यति ज्ञान उपभोक्ताले लिन जरुरी रहेको ठानेर उनी अहिले अभियान चलाइरहेको बताउँछन्। बजारका ताजा र आकर्षक चम्किला फलफूलमा मन्द विष नै हुन्छ। हरियो तरकारी तथा फलफूलको प्रकृति र अवस्था हेरेर किनेर ल्याएको केही दिनपछि मात्रै उपभोग गर्दा विषादीबाट थोरै भए पनि बच्न सकिने अभियानकर्मी काफ्लेको भनाइ छ।

स्थानीय क्षेत्रमा उत्पादित तरकारी र बाहिरबाट आउने तरकारीमा विषादीको जाँचमा खेलाँची भइरहेको उनी बताउँछन्। भैरहवा भन्सारमा रहेको प्रयोगशाला र बुटवल कृषि उपज तथा थोक बजारमा रहेको विषादी अन्वेषण प्रयोगशालाबाट प्रभावकारी जाँच भएको पाइँदैन। यसप्रति तीनै तहका सरकारले अनुगमन अभियान चाल्नुपर्ने उनले बताए।

तरकारी खेतीमा रासायनिक विषादीको अत्यधिक प्रयोग भएका वस्तु खाँदा क्यान्सर, एन्जाइटी, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपाङ्गता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको छ।

नेपालमा ६५ प्रतिशत रोग विषादीको कारणले आएको छ भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले औँल्याएको उनी बताउँछन्। विषादीको अवैध प्रयोग र नियमन एवं अनुगमन हुन नसक्दा तरकारी बालीको विषले किसानदेखि उपभोक्तासम्म पिल्सिँदै आएका छन्। फलफूल र तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरे पनि यस्तो मापदण्ड पालना भए/नभएको प्रभावकारी नियमन नभएको उनको भनाइ छ।

‘दिनदिनै बजार जान आवश्यक छैन। किनभने धेरै तरकारी किनेर ल्याउनुभयो भने फ्रिजिङ गर्नुहुन्छ’, उनी भन्छन्, ‘फ्रिजमा ४० डिग्रीभन्दा माथि (चिसो) मा ३ दिनसम्म राखे ६० प्रतिशत विषादी चिसोको कारणले मर्छ। अर्को, कहिलेकाहीँ थोरै चाहिएर ल्याएर पकाइहाल्नुपर्ने भए कमसेकम २० देखि २५ मिनेटसम्म मनतातो नुनपानी, सोडापानी र कागती हालेर डुबाइदिनुपर्छ। डुबाएपछि पानीमा एक प्रकारको लेयर तैरिन्छ।’

यति जानकारी विद्यार्थी, समाज र घरमा काम गर्ने दिदीबहिनी र आमाहरूलाई सिकाउन सके नयाँ जन्मिने जेनेरेसन र हामीलाई लाग्ने रोग आधाभन्दा कम हुने काफ्लेको भनाइ छ। अनि बोक्रा फाल्ने चिजहरू बोक्रा फालेर पकाउनुपर्ने उनको सुझाव छ। ‘बोक्रा फाल्दा ६० प्रतिशत विषादी त्यहीँ हट्छ। किनभने घाउ लागेकोमा मात्र विष भित्र पस्छ’, उनी भन्छन्, ‘अमिलो हुने चिजमा विषादी कम हुन्छ।’

बजारमा गएर तरकारी छामेर छोड्ने गर्दा हातमा विषादी सर्ने गर्छ। कतै घाउ वा चोटपटक भए त्यहीँबाट विषादी शरीरमा जाने उनी बताउँछन्। त्यही हातले नाक/मुख पुछ्ने गरिन्छ। ‘जति चाहिन्छ त्यति मात्रै किन्नुपर्छ। पहिला आँखाले हेर्ने, मूल्य पनि बाहिरै बसेर सोध्ने र त्यसपछि बल्ल किन्नुपर्छ,’ उनी भन्छन्, ‘धेरै चम्किलो वस्तु नकिन्दा राम्रो। टल्काउन पनि विषादीको प्रयोग भइरहेको छ। हाम्रो कन्सेप्ट राम्रो किन्ने हुन्छ। नराम्रो चिज हामी लाजले पनि किन्दैनौँ। त्यो चेतना हटाउन जरुरी छ। काउली, टमाटर र काँक्रा धेरै टल्किने हुन्छन्। त्यसमा अपवादबाहेक शतप्रतिशत विषादी छ।’

माछा-मासुमा पनि विषादी हुने गरेको उनको भनाइ छ। सकेसम्म मारेर ल्याएको माछा नखान उनको सुझाव छ। ‘जिउँदो माछा आए त्यसमा विषादी हुँदैन, मरेको माछा खान हुँदैन। त्यसमा फर्मालिनको प्रयोग भएको हुन्छ। फर्मालिनमा डुबाएर राखे जस्ताको तस्तै देखिन्छ। माछामा साइपरमेथ्रिन प्रयोग हुन्छ। त्यसमा धेरै विषादी प्रयोग हुँदैन’, उनी भन्छन्।

मासुमध्ये खसी-बोकामा पनि धेरै एन्टिबायोटिक प्रयोग हुँदैन। उनका अनुसार खसी-बोकामा नाम्ले/माटेको लागि अल्बेन्डाजोल मात्र प्रयोग हुन्छ। त्यसले बढी असर गर्दैन।

 

salt training

कमेन्ट गर्नुहोस्