
कञ्चनपुरको बेलौरी–६ को पूर्व–दक्षिण कुनाबाट हल्का हावासँगै एउटा ड्रोन उडिरहेको छ । तल्लो बगरमा हरियालीले ढाकिएको उखुको फाँट, मध्यान्हको घाम र त्यसको बीचमा उभिएका छन् आसरेराम वडायक, उनको हातमा ट्याब छ, आँखामा विश्वास र ओठमा मुस्कान।
त्यस ड्रोनबाट छरिँदै छ कीटनाशक, न कुनै गन्ध, न स्वास्थ्य जोखिम । आधुनिक कृषि प्रविधिको प्रयोग देख्दा लाग्छ, यो कुनै विकसित राष्ट्रको दृश्य हो, तर होइन यो कथा हो नेपालकै एउटा गाउँको र यसका नायक हुन्- पहिले वैदेशिक रोजगारी सपना बोकेर काठमाडौं गएका, अहिले सुदूरपश्चिमकै उत्कृष्ट कृषकका रूपमा सम्मानित – आसरेराम वडायक।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौं पुगेका थिए ।
काठमाडौंको एक ‘पोलिहाउस’मा टमाटर खेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौंबाट टमाटरको बिउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन् ।
‘काठमाडौंबाट फर्किएपछि शुरूमा आधा कट्ठा जमिनमा तीन वटा पोलि हाउस बनाएर टमाटर खेती गरेँ । खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्त नगर गएर दुई दिनको तालिम लिएँ,’ वडायकले विगत सम्झँदै भने ।
तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषि यन्त्र जोडेका छन् । उनी हाल वार्षिक २६ लाखसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धान खेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् ।

खेती विस्तार गरेर वार्षिक एक करोडसम्म कमाउने लक्ष्य उनले राखेका छन् । ‘व्यवसायीक खेतीलाई अझ बढाउँछु । त्यसका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम शुरू भइसकेको छ । हालसम्म खेतीबाट प्राप्त आम्दानीले एक करोड बढी मूल्यका कृषि यन्त्रहरू खरिद गरेको छु । ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाखमा ड्रोन खरिद गरेको छु । ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भइरहेको छ,' उनले भने ।
सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकोमा उनले एक बिघामा करिब १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
वडायक सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रूपमा सम्मानित भइसकेका छन् ।
को हुन् वडायक ?
कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्ती बोझाका ३८ वर्षीय किसान आसरेराम वडायक ६ बिघामा धान, गहुँसहित उखु र आलु खेती गर्छन् ।
उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य शृङ्खला वृद्धि भई उनले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ, त्यसको प्रतिफल नै मुनाफा हो,’ उनले भने ।
विगत ८ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका वडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रूपमा उखु र आलु, तोरी र मुसुरो खेतीलाई एकसाथ अगाडि बढाएका छन् ।
मिश्रित बालीमा लाभैलाभ
वडायक कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका वडायकलाई मिश्रित खेतीको अवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो ।
उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर उनले तालिम पाए । जसबाट उनी निकै प्रभावित भए ।

‘उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर चार्जमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ,’ उनले भने ।
वडायक पछिल्लो समय उखु र थारू आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोगसमेत पाउँदै आएका छन् ।
खेतीमा नयाँ प्रविधि
उखु खेतीबाट पनि कृषक वडायकले राम्रो आम्दानी लिँदै आएका छन् । साढे २ बिघामा उखु खेती गर्दै आएका उनी प्रति बिघा सरदर ११ सय क्विन्टल उत्पादन गर्छन् ।
उखु खेतीमा उनले बिउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी बर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिन्छ ।
वडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा छरुवा खेती समेत सुरु गरिएको छ । वडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् । छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बिउ छरिन्छ ।
यसमा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरू आकर्षित भएका छन् । जसबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ ।
कृषि कार्यमा यान्त्रिकीकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनले वार्षिक वर्ष २० देखि २५ लाख आम्दानी गरिरहेका छन् ।
आसरेराम भन्छन्,‘कृषि भनेको जमिन जोत्न मात्रै नभई ज्ञान र प्रविधिको मेल हो। मिहिनेतसँगै सोच बदल्न सके, गाउँमै बसेर पनि करोडौंको आम्दानी गर्न सकिन्छ ।’
हातमा हलोको साटो ट्याब र ड्रोन समातेर उनले खेतीलाई सम्मानजनक व्यवसाय बनाएका छन्। वडायक अन्य कृषकहरूका लागी प्रेरणाका स्रोत हुन् ।