१४ असार २०८३, आइतबार
प्रस्तावित अमेरिकी अधिग्रहणविरुद्ध प्रदर्शन

ग्रीनल्याण्डबारे ट्रम्पलाई युरोपेली नेताहरूको चेतावनी- ट्यारिफको धम्की स्वीकार्दैनौं

माघ ४, २०८२
काठमाडौं
ग्रीनल्याण्डबारे ट्रम्पलाई युरोपेली नेताहरूको चेतावनी-  ट्यारिफको धम्की स्वीकार्दैनौं

ग्रीनल्याण्ड गाभ्ने प्रस्तावको विरोध गर्ने आठ मित्र राष्ट्रहरूमाथि नयाँ आयात कर (ट्यारिफ) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई युरोपेली नेताहरूले कडा शब्दमा निन्दा गरेका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले यो कदमलाई पूर्ण रूपमा गलत भनेका छन् भने फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले यसलाई नमान्ने करार दिएका छन् ।

ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट अमेरिकामा आयात हुने सामानमा आगामी फेब्रुअरी १ देखि १० प्रतिशत ट्यारिफ लागू हुने घोषणा गरेका थिए । उनका अनुसार यो कर पछि बढेर २५ प्रतिशतसम्म पुग्न सक्छ र ग्रीनल्याण्डसम्बन्धी सम्झौता नभएसम्म लागू रहनेछ ।

ट्रम्पले अर्धस्वायत्त डेनिस क्षेत्र ग्रीनल्याण्ड अमेरिकी सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको दाबी गर्दै आएका छन् र आवश्यक परे बल प्रयोग गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।

यसैबीच, शनिबार ग्रीनल्याण्ड र डेनमार्कमा हजारौं मानिसहरू सडकमा उत्रँदै प्रस्तावित अमेरिकी अधिग्रहणविरुद्ध प्रदर्शन गरेका छन् ।

ग्रीनल्याण्डको जनसंख्या कम भए पनि प्राकृतिक स्रोतले धनी छ । उत्तर अमेरिका र आर्कटिक क्षेत्रको बीचमा रहेको यसको अवस्थिति क्षेप्यास्त्र आक्रमणको अवस्थामा प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्न र क्षेत्रीय जहाजहरूको निगरानीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

ट्रम्पले यसअघि वासिङ्टनले ग्रीनल्याण्ड सजिलो तरिकाले वा कठिन तरिकाले प्राप्त गर्ने बताएका थिए ।

युरोपेली देशहरूले डेनमार्कको समर्थनमा ऐक्यबद्धता जनाउँदै आर्कटिक क्षेत्रको सुरक्षा नाटोको साझा जिम्मेवारी हुनुपर्ने तर्क अघि सारेका छन् ।

फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतले तथाकथित ‘अनुगमन (रिकोनिसेन्स) मिसन’ अन्तर्गत सीमित संख्यामा सैनिक ग्रीनल्याण्ड पठाएका छन् ।

शनिबार आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा नयाँ ट्यारिफको घोषणा गर्दै ट्रम्पले ती देशहरूले अत्यन्तै खतरनाक खेल खेलिरहेको टिप्पणी गरेका छन् । 

उनले अमेरिकामा निर्यात हुने सामानमा अर्को महिनादेखि लागू हुने १० प्रतिशत ट्यारिफ जुन महिनामा २५ प्रतिशत पुग्ने र ग्रीनल्याण्डको पूर्ण र सम्पूर्ण खरिदका लागि सम्झौता नहुन्जेलसम्म कायम रहने बताएका छन् ।

यसप्रति प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले भने, ‘नाटो सहयोगीहरूको सामूहिक सुरक्षा सुनिश्चित गर्न खोजिरहेका मित्र राष्ट्रहरूमाथि ट्यारिफ लगाउनु पूर्ण रूपमा गलत हो । हामी यो विषय अमेरिकी प्रशासनसँग प्रत्यक्ष रूपमा उठाउनेछौं  ।’

फ्रान्सका राष्ट्रपति माक्रोँले भने, ‘यस सन्दर्भमा ट्यारिफको धम्की अस्वीकार्य छ । हामी कुनै पनि प्रकारको डरधम्कीबाट प्रभावित हुने छैनौं ।’

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले ‘हामीलाई ब्ल्याकमेल गर्न दिइने छैन’ भनेका छन् । उनले स्विडेनले युरोपेली संघका अन्य देशहरू, नर्वे र बेलायतसँग मिलेर संयुक्त प्रतिक्रिया खोज्न गहन छलफल गरिरहेको पनि बताएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न युरोपेली संघ सधैं दृढ रहने बताएका छन् । उनका अनुसार यसको शुरूआत सदस्य राष्ट्रहरूको भू–भागको सम्मानबाट हुन्छ ।

डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ट्रम्पको धम्की ‘अप्रत्याशित’ रहेको प्रतिक्रिया दिएका छन् ।

उता, युरोपेली संसदमा रहेको कन्जरभेटिभ ईपीपी समूहका प्रमुख तथा जर्मन सांसद म्यानफ्रेड वेबरले ट्रम्पको कदमले गत वर्ष वार्ता भई अझै अनुमोदन नभएको युरोपेली संघ–अमेरिका व्यापार सम्झौतामाथि प्रश्न उठाएको बताएका छन् ।

ब्रसेल्स र वासिङ्टनबीच भएको उक्त सम्झौताअनुसार युरोपेली संघका सबै सामानमा अमेरिकाले १५ प्रतिशत ट्यारिफ लगाउने र २७ सदस्यीय युरोपेली संघले केही अमेरिकी उत्पादनमा शून्य प्रतिशत ट्यारिफ लागू गर्ने सहमति भएको थियो ।

वेबरले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘ईपीपी युरोप–अमेरिका व्यापार सम्झौताका पक्षमा छ, तर ग्रीनल्याण्डबारे डोनाल्ड ट्रम्पको धम्कीका कारण हाल यो सम्झौता अनुमोदन गर्न सम्भव छैन ।’ उनले अमेरिकी उत्पादनमा लागू गरिने शून्य प्रतिशत ट्यारिफ पनि स्थगित गर्नुपर्ने बताएका छन् ।

तर संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले डेनमार्कसँग उत्तरी क्षेत्रमा आवश्यक काम गर्न पर्याप्त स्रोत र क्षमता नभएको दाबी गरेका छन् ।

उनले फक्स न्यूजसँग भनेका छन्, ‘अमेरिकाको छातामुनि ग्रीनल्याण्डवासीहरूको जीवन अझ सुरक्षित, बलियो र समृद्ध हुनेछ ।’

ट्रम्पले ‘ट्यारिफ’ आफूलाई सबैभन्दा मनपर्ने शब्द भएको बारम्बार बताउँदै आएका छन् । उनले यसलाई विश्वका देशहरूलाई ह्वाइट हाउसको चाहनाअनुसार नीति मिलाउन बाध्य पार्ने एउटा कठोर औजारका रूपमा हेर्ने स्पष्ट गरेका छन् ।

तर पछिल्लो घोषणा ग्रीनल्याण्ड अधिग्रहण गर्ने उनको पुनः सक्रिय प्रयासमा ठूलो स्तरको वृद्धि मानिएको छ, जबकि उक्त कदमप्रति व्यापक विरोध कायमै छ ।

ट्यारिफ घोषणाको तत्काल कारण स्पष्ट नभए पनि ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै यसबारे संकेत गरेका थिए ।

हालका हप्ताहरूमा उनले सैन्य बल प्रयोगसहित विभिन्न विकल्प खुला रहेको बताएका थिए । तर यो घोषणा अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको भविष्यबारे छलफल गर्न उच्चस्तरीय कार्य समूह गठन गर्ने सहमति गरेको केही दिनमै आएको हो ।

वासिङ्टनका कूटनीतिक र राजनीतिक वृत्तमा उक्त कार्य समूहलाई डेनमार्क र उसका युरोपेली सहयोगीका लागि ‘सबैभन्दा राम्रो सम्भावित अवस्था’का रूपमा हेरिएको थियो, जसले कम्तीमा निर्णय ढिलाइ हुने अपेक्षा गरिएको थियो ।

तर पछिल्लो ट्यारिफ घोषणाले विषयलाई अझ तात्कालिक बनाएको छ र महत्त्वपूर्ण नाटो सहयोगी तथा व्यापारिक साझेदारसँगको सम्बन्धमा तनाव उत्पन्न गरेको छ ।

जनमत सर्वेक्षणअनुसार ८५ प्रतिशत ग्रीनल्याण्डवासी अमेरिका सामेल हुने प्रस्तावको विरोधमा छन् ।

ट्यारिफ घोषणा हुनुअघि नै शनिबार डेनमार्कका विभिन्न शहर र ग्रीनल्याण्डको राजधानी नूकमा ट्रम्पको योजनाविरुद्ध प्रदर्शन गरिएको थियो ।

डेनमार्कको राजधानी कोपेनहेगनमा प्रदर्शनकारीहरूले ‘ह्यान्ड्स अफ ग्रीनल्याण्ड’ र ‘ग्रीनल्याण्ड ग्रीनल्याण्डवासीका लागि’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

इनुइट नामक ग्रीनल्याण्डी संस्थाहरूको छाता संगठनकी प्रमुख क्यामिला सिजिङले ‘डेनिस राज्यको सम्मान र ग्रीनल्याण्डको आत्मनिर्णयको अधिकारको माग’ गरेको बताइन् ।

नूकमा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सन पनि ‘ग्रीनल्याण्ड बिक्रीमा छैन’ र ‘हामी आफ्नो भविष्य आफैं बनाउँछौं’ लेखिएका प्लेकार्डसहित अमेरिकी वाणिज्य दूतावासतर्फ मार्च गर्ने प्रदर्शनकारीहरूसँग सहभागी भएका थिए ।

यी प्रदर्शनहरू अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डलको कोपेनहेगन भ्रमणसँगै भएका हुन् । प्रतिनिधिमण्डलका नेता तथा डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले ट्रम्पको अभिव्यक्तिलाई ‘रचनात्मक नभएको’ टिप्पणी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्