
नेपाली कांग्रेस प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत निर्णय गर्दै सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएको हो ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा सभापति थापालाई २१ फागुनमा हुने निर्वाचनपश्चात प्रधानमन्त्री बनाउने निर्णय भएको हो । यसले आगामी निर्वाचनमा कांग्रेसलाई बलियो शक्ति बनाउने विश्वास पार्टीका नेताहरूमा छ ।
पूर्व प्रशासक तथा राजनीतिक विश्लेषक जेनेन्द्र जीवन कांग्रेसले समयको वेग, युवा शक्तिको माग तथा बदलिएको राजनीतिक परिस्थितिमा युवा शक्तिलाई अघि बढाउनु सुखद् भएको बताउँछन् ।
‘एकातिर बालेन र ओली भावी प्रधानमन्त्रीको रूपमा अघि बढिरहेका बेला कांग्रेसजस्तो पुरानो दलले गगनजीलाई अघि बढाउनु उपयुक्त हो,’ उनले लोकान्तरसँग भने, ‘यो समयको आवश्यकता थियो। कांग्रेसभित्र र बाहिरको तप्काले पनि चाहेको विषय केन्द्रीय समितिले सम्बोधन गर्नु सकारात्मक हो।’

विशेष गरेर २३ र २४ भदौको जेनजी विद्रोहपश्चात पार्टी राजनीति, युवाको आवश्यकता, समाजको चरित्र तथा भूराजनीतिक परिवेश पनि बदलिन थालेको छ। नयाँ–नयाँ दल र पात्रहरूले राजनीतिमा जबरजस्त हस्तक्षेप बढाउन थालेका छन्। पुराना पुस्ताका नेताहरू विस्तारै पाखा लाग्दै गएका छन्। कांग्रेस आफैंले ठूलो संघर्ष गरेर विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको छ।
‘प्रस्ट र भ्रष्ट’ भनेर कांग्रेसभित्र कित्ताकाट हुन थालिसकेको अवस्था छ। ‘सुक्दै गएको रूख’ मा अहिले ‘नयाँ पालुवा’ पाएको विश्लेषण जीवन गर्छन्।
‘जेनजी विद्रोहपश्चात रूपान्तरणको मागलाई सम्बोधन गर्न सक्ने उपयुक्त पात्र नै गगन हुन्,’ उनले थपे, ‘यसले प्रमाणित गर्छ कि पार्टी मात्र होइन, राज्य हाँक्ने जिम्मेवारी नै पुरानो दलले युवाको काँधमा सुम्पियो।’
गगनलाई अघि यसकारण सार्यो कांग्रेसले
विगतको अभ्यास हेर्दा कांग्रेसभित्र निर्वाचन जितेर आउने व्यक्तिलाई मात्र प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने अवस्था थियो। पार्टी संसदीय दलको नेता जो बन्छ, उही प्रधानमन्त्री बन्ने कांग्रेसको परिपाटी थियो । तर, चुनावअघि घोषणा गर्ने प्रचलन भने थिएन। यसपटक फरक परिस्थिति निर्माण भएको छ।
प्रधानमन्त्री बन्ने र देश हाँक्ने कुरा २०७९ सालमै भएको निर्वाचनमा गगनले गरेका थिए। काठमाडौं क्षेत्र नम्बर ४ मा मत माग्न जाने क्रममा उनले प्रधानमन्त्री बन्ने भन्दै मत मागेका थिए।

उनले त्यो सहित अन्य एजेन्डाका कारण चुनाव जिते। आएर पार्टी संसदीय दलको नेतामा चुनाव लडे । २५ मत पाएर तत्कालीन सभापति शेरबहादुर देउवासँग पराजय भोगे। त्यसपश्चात् पनि पटक-पटक दलको नेता परिवर्तन गर्ने प्रयासमा कहिले अर्का नेता शेखर कोइरालासँग मिलेर, त कहिले एक्लै प्रयास गरिरहे।
त्यो प्रयासले सार्थकता भने पाएन। उनले सार्वजनिक कार्यक्रम र भाषणहरूमा दलको नेता परिवर्तन गर्छौं भनिरहे।
यसपटक भने गगनले विशेष महाधिवेशन गराउँदै पुराना नेतालाई सत्ताच्युत मात्र गरेनन्, पार्टी सभापति बने र चुनावअगावै केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने माहोल बनाए ।
गगनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले सात बुँदामा कारण खुलाएका छन् । पहिलो, विशिष्ट परिस्थितिको माग भएको उनको भनाइ छ ।

दोस्रो भनेको ‘पाँच तथ्यमा समीक्षा सहज’ हुने विश्वास शर्माको छ। प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि मतदातालाई एकातर्फ भोलिको अन्योलबाट आजै मुक्ति मिल्ने भन्दै शर्माले भनेका छन्, ‘अर्कातर्फ, सम्भावित प्रधानमन्त्रीको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज हुने छ।’
तेस्रोमा, परिवर्तित समयलाई सम्बोधन गर्ने क्षमता, चौथो प्रधानमन्त्रीमा खोजिने परिपक्वता तथा पाँचौमा संघर्षमा सबल र सत्तामा अब्बल प्रमाणित गर्न पनि गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको विश्वप्रकाशको मत छ। शर्माले छैटौंमा भूगोल, भावना र टीम स्पिरिट तथा सातौंमा मधेशमा उम्मेदवारी, समग्र मधेशलाई सम्मान भन्दै आफ्नो प्रस्तावलाई केन्द्रीय समितिबाट पास गराएका छन्।
के हुन्छ फाइदा?
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाएर कांग्रेसलाई के फाइदा हुन्छ ? भन्ने सवाल स्वाभाविक हो। किनभने, दिनप्रतिदिन कांग्रेस कमजोर बन्दै गएको छ। उमेर पुगेका सीमित र बुढा नेताको चंगुलमा फसेको कांग्रेस जनतामाझ रक्षात्मक बन्दै गएको अवस्थामा नयाँ निर्णय आएको हो ।
‘यसले कांग्रेस पार्टी मात्र होइन, सिङ्गो देशलाई नै रूपान्तरणको जग बलियो बनाउन निर्णायक फाइदा गर्छ,’ विश्लेषक जेनेन्द्र जीवन थप्छन्।
अघिल्लो निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएको थियो। मतदाताहरूले कतिपय क्षेत्रमा रूख चिह्नमा भोट हाल्नै पाएका थिएनन् । त्यसमाथि विवादित पुराना तथा ‘भ्रष्टको ट्याग लागेका’ नेताहरूले टिकट पाएका थिए।
‘टिकट बेचेको, श्रीमान-श्रीमतीलाई टिकट दिएको’ जस्ता प्रचारले कांग्रेसको शाख गिरेको थियो। आफूलाई प्रजातान्त्रिक तथा पुरानो दल भन्ने कांग्रेसले आस्था र विचार नै नमिल्ने दलको चुनाव चिह्नमा कार्यकर्तालाई भोट हाल्न लगाएको थियो । यसले पार्टीको समानुपातिक मत नमज्जाले घट्यो ।

नयाँ आएको दलले फाइदा लुट्दा कांग्रेस दिनप्रतिदिन बद्नाम हुँदै गयो । त्यसमाथि एमालेसँग मिलेर सरकार बनाउन गरेको गठबन्धनले ‘प्रचण्डपथमा लागेको कांग्रेस अब ओलीपथमा’ भन्ने भाष्य नै निर्माण भयो, जसको असर यति पर्यो कि आफूलाई लोकतान्त्रिक विचारधाराको हिमायती भन्ने कांग्रेसप्रति जनताको वितृष्णा बढ्दै गयो ।
जेनजी विद्रोहका कारण यी सबै दागहरू मेट्ने अवसर कांग्रेसले पाएको विश्लेषण हुने गरेको छ । त्यसमाथि झन् राजनीतिक अनुभवले खारिएको र उमेरमा ५५ नकटेको नेतृत्वले कांग्रेस हाँक्दा र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्दा समानुपातिक मत बढ्ने, प्रत्यक्षमा पनि नतिजा सुध्रिने र लोकरिझ्याइँमा चलेको समाजमा थिति र विधिसंगत तथा प्रणालीगत राजनीतिक गतिविधि संस्थागत हुने बुझाइ विश्लेषकहरूको छ ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप-प्राध्यापक समेत रहेका भ्रष्टाचार नियन्त्रण, सुशासन र शासकीय सुधारका विषयका शोध एवं अध्ययनकर्ता डा. दीपेश घिमिरे विषम परिस्थतिमा कांग्रेसजस्तो इतिहास बोकेको दलले चुनावअगावै प्रधानमन्त्री घोषणा गरेर जानुलाई उपयुक्त ठान्छन्।
‘संसदीय व्यवस्थामा पहिले नै प्रधानमन्त्री घोषणा गर्ने र चुनावमा जाने भन्ने हुँदैन । तर विषम परिस्थितिमा कांग्रेसले गरेको निर्णय उपयुक्त छ,’ उनी भन्छन्।
हुन पनि नेपालको राजनीतिमा प्रधानमन्त्रीको कुर्सी केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको म्युजिकल चेयर बनेको थियो। जेनजीले त्यसलाई बदलिदिएपश्चात कांग्रेसले पनि आफूभित्र सुधार खोजेको अनुभूति भएको छ । घिमिरे पनि समानुपातिकमा फ्रेस व्यक्तिलाई अघि बढाउनु र प्रत्यक्षमा पनि एकाधबाहेक नयाँ उम्मेदवारलाई कांग्रेसले टिकट दिनु सकारात्मक भएको तर्क गर्छन् ।
‘विशेष महाधिवेशनबाट सिङ्गो सेट फेरेर कांग्रेस नयाँ दल भएको छ । जुन एमाले र इभन रास्वपा पनि हुन सकेको छैन,’ घिमिरेले थपे ।
