
लगातार तेस्रो हारसँगै नामिबियाको आगामी आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।
ग्लोबल छनोट प्रतियोगिताको शनिबार सम्पन्न आफ्नो तेस्रो खेलमा नामिबियाको टोली पपुवा न्यू गिनी (पीएनजी)सँग तीन विकेटले पराजित भयो ।
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नामिबियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय २२ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १९.४ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जारी विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिने पहिलो टोली पनि बनेको नामिबिया । समूह ‘ए’ मा लगातार तीन खेल जितेर ६ अंक बटुलेको बंगलादेश पहिलो स्थानमा छ ।
बंगलादेश ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ । दुई खेलबाट चार अंक जोडेको आयरल्यान्ड दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको अमेरिका तेस्रो स्थानमा छ ।
तीन खेलबाट दुई अंक जोडेको पीएनजी चौथो स्थानमा आसीन छ । तीनवटै खेलमा पराजित भएको नामिबियाले भने अंक बटुल्न सकेको छैन ।
समूह ‘ए’ बाट तीनवटा टोलीले ‘सुपर–६’ चरणमा स्थान बनाउने छन् । अन्तिम खेलमा विजयी भए पनि नामिबिया ‘सुपर–६’ चरणमा पुग्ने छैन ।
अन्तिम खेलमा विजयी भए नामिबियाको अंक दुई हुनेछ । तर, समूह चरणमा अमेरिका र पीएनजीबीच खेल हुन बाँकी छ । उक्त खेलमा विजयी हुने टोलीको चार अंक पुग्नेछ ।
जारी ग्लोबल छनोट प्रतियोगिताबाट चारवटा टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान रहेको छ । त्यसैले यो प्रतियोगिता सहभागी १० वटै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।