
अमेरिकामा आप्रवासन नियन्त्रण अभियान तीव्र बनाइएका बेला मिनेसोटा राज्यको मिनियापोलिस शहरमा संघीय एजेन्टले फेरि एक अमेरिकी नागरिकलाई गोली हानी हत्या गरेका छन् ।
उक्त घटनापछि शहरमा प्रदर्शन चर्किएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सशस्त्र संघीय अधिकारीहरू तत्काल फिर्ता बोलाउन माग गरिएको छ ।
मिनियापोलिस प्रहरी विभागका प्रमुख ब्रायन ओ’हारा अनुसार, ३७ वर्षीय एक पुरुषलाई धेरै पटक गोली लागेपछि शनिबार अस्पतालमा मृत्यु भएको हो । ती व्यक्ति मिनियापोलिसकै बासिन्दा तथा अमेरिकी नागरिक रहेको ओ’हाराले बताए ।
मृतकका अभिभावकले उनको नाम एलेक्स प्रेट्टी भएको र उनी सघन उपचार कक्ष (आईसीयू)मा कार्यरत नर्स रहेको जानकारी दिएका छन् ।
घटनाको पृष्ठभूमिमा मिनियापोलिसमा पछिल्ला केही हप्तादेखि आप्रवासन प्रवर्तन तथा अन्य संघीय एजेन्ट तैनाथ गरिएका थिए । ट्रम्प प्रशासनको आप्रवासनविरोधी नीतिअन्तर्गत उनीहरूले शहरका विभिन्न स्थानमा छापा मार्दै आएका छन् ।
यसअघि जनवरी ७ मा ३७ वर्षीया रिनी गुडको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) अधिकारीले उनको गाडीमा गोली चलाउँदा मृत्यु भएको थियो । सो घटनायता मिनियापोलिसमा दैनिक रूपमा प्रदर्शन हुँदै आएको छ । गत साता पनि शहरमा एक छुट्टै घटनामा संघीय एजेन्टले एक भेनेजुएलाली नागरिकलाई गोली हानेका थिए ।
मिनेसोटाका गभर्नर टिम वाल्जले सेन्ट पलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो विषय अब केवल आप्रवासन प्रवर्तनको मात्र रहेन । यो हाम्रो राज्यका नागरिकविरुद्ध संगठित क्रूरताको अभियान बनेको छ, र आज त्यो अभियानले फेरि एक जनाको ज्यान लिएको छ ।’ उनले घटनाको अनुसन्धान मिनेसोटा राज्यले नै गर्ने प्रतिबद्धता जनाए ।
अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस)ले भने सीमा सुरक्षा गस्तीका एक एजेन्टले हतियार बोकेका व्यक्तिले प्रतिरोध गरेपछि आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ । डीएचएसकी प्रवक्ता ट्रिसिया म्याकलफलिनका अनुसार, हतियारसहित आएका व्यक्तिले एजेन्टहरूलाई निहत्था पार्ने प्रयासको तीव्र प्रतिरोध गरेपछि आत्मरक्षाका रूपमा गोली चलाइएको हो ।
यस घटनाप्रति राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मिनेसोटाका गभर्नर टिम वाल्ज र मिनियापोलिसका मेयर जेकब फ्रेलाई आलोचना गरेका छन् । उनले आप्रवासन अधिकारीहरूले बरामद गरेको भनिएको बन्दुकको तस्वीर सेयर गर्दै ‘स्थानीय प्रहरी कहाँ थिए? आईसीई अधिकारीहरूको सुरक्षा किन गरिएन?’ भन्ने प्रश्न उठाएका छन् ।
घटनाको भिडियो सार्वजनिक
घटनास्थलमा खिचिएका भिडियोहरूमा प्रेट्टी सडकमा उभिएर मोबाइल फोनमार्फत संघीय एजेन्टहरूको भिडियो खिचिरहेको देखिन्छ । भिडियोमा एक एजेन्टले प्रेट्टी र अन्य प्रदर्शनकारीमाथि पेपर स्प्रे प्रयोग गरेको देखिन्छ । प्रेट्टीले स्प्रे रोक्ने र अन्यलाई मद्दत गर्ने प्रयास गरिरहेका बेला केही एजेन्टहरूले उनलाई जमिनमा लडाएर टाउको र शरीरमा प्रहार गरेका थिए ।
जमिनमा थिचेर राखिएको अवस्थामा एक एजेन्टले बन्दुक निकालेपछि लगातार गोली चलाइएको भिडियोमा देखिन्छ ।
खुला स्रोत अनुसन्धान गर्ने संस्था बेलिङक्याटले भिडियो विश्लेषणपछि गोली चल्नुअघि नै प्रेट्टीबाट बन्दुक हटाइएको जस्तो देखिने बताएको छ । संस्थाका अनुसार कम्तीमा १० राउन्ड गोली चलेको सुनिन्छ, जसमा अधिकांश गोली व्यक्ति जमिनमा ढलेपछि चलाइएको देखिन्छ ।
प्रहरी प्रमुख ओ’हाराले मृतक वैध रूपमा हतियार बोक्ने अनुमति प्राप्त व्यक्ति भएको विश्वास गरिएको बताए । मिनेसोटा राज्यमा अनुमति लिएर हतियार खुला रूपमा बोक्न पाइन्छ ।
ओ’हाराले सार्वजनिक शान्तिका लागि आग्रह गर्दै संघीय निकायहरूलाई पनि मर्यादा, मानवता र अनुशासन पालना गर्न आग्रह गरे । ‘हामी सबैलाई शान्त रहन अनुरोध गर्दछौ’, उनले भने।
ट्रम्प प्रशासनले मिनियापोलिसमा आईसीई र अन्य संघीय अधिकारीहरूको तैनाथीलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानको तयारीका रूपमा औचित्य पुष्टि गर्दै आएको छ । तर स्थानीय बासिन्दा र निर्वाचित जनप्रतिनिधिहरूले सशस्त्र संघीय अधिकारीहरूको उपस्थितिले सुरक्षा बढ्नुको सट्टा डर फैलिएको आरोप लगाएका छन् ।
शनिबारको पत्रकार सम्मेलनमा प्रहरी प्रमुखसँगै उपस्थित मेयर जेकब फ्रेले ट्रम्प प्रशासनको निरन्तर आप्रवासन नियन्त्रण अभियानको कडा आलोचना गरेका छन् ।