०७ असार २०८३, आइतबार

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् विशेषता

माघ १२, २०८२
काठमाडौं
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् विशेषता

नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ ।

यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका विभिन्न प्याकेजहरूलाई सेवाग्राहीले रुचाएपछि त्यसैलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

यो अफरमा पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरू यथावत् उपलब्ध छन् ।

नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि प्याकेज (Package for Differently Able Person) तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरूका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरू समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि यथावत् राखिएको कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिएको छ ।

यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरूले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ । पहिले *1415*2*4# डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था हुनेछ ।​​

प्रवक्ता मानन्धरका अनुसार विन्टर अफरअन्तर्गतका विभिन्न प्याकेज यही माघ ११ गतेदेखि उपलब्ध छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध रहने उनले जानकारी दिए ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी थप विस्तृत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्