
दाङको राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली व्यक्ति आलम जोल्हालाई राजपुर गाउँपालिका-४ स्थायी ठेगाना भएका दिवंऊत सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानूनी तवरबाट नागरिकताको प्रमाणपत्र दिलाउने उद्देश्यले नागरिकता प्रमाणपत्रका लागि तथा जन्मदर्ता गर्दा सिफारिस गरिएका व्यक्ति स्थानीय हुन होइनन् भनी जाँचीबुझी सिफारिस गर्नुपर्नेमा नगरेको आयोगले जनाएको छ ।
कागजातमा अनाधिकार एवं गैरकानूनी तरिकाले मृत्युदर्ता प्रमाणपत्र सच्याउने, केरमेट गर्ने, थपघट गर्ने, हेरफेर गरी सनाउल्ला जोल्हाको मिति २०३८।०१।१५ गते नै मृत्यु भइसकेकोमा २०४१।०१।१५ गते मात्र मृत्यु भएको भनी झुट्टा व्यहोराको मृत्युदर्ता प्रमाणपत्र तयार गराएको आयोगले जनाएको छ ।