
पूर्वमहान्यायाधिवक्ता रमेश बडालले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्काल हिरासत मुक्त गर्नुपर्ने माग गरेका छन् ।
विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराइएका पौडेलको पक्षमा मंगलबार बहस गर्दै बडालले अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अहिलेसम्म कसुर स्थापित हुने कुनै प्रमाण पेस गर्न नसकेको दाबी गरे ।
त्यसकारण पौडेललाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने बडालको माग छ ।
बडालले वर्तमान सरकारले विपक्षी राजनीतिक दलका नेतालाई सिध्याउने उद्देश्यले पूर्वाग्रह राखेर अनुसन्धान निकायमाथि दबाब सिर्जना गरेको आरोप लगाए । उनले सरकार विपक्षी नेतामाथि प्रतिशोध साँध्ने उद्देश्यले प्रमाणबिनै पक्राउ गर्ने बाटोमा अघि बढेको जिकिर गरे ।
‘सरकार मुसिलोनी र हिटलरको बाटोमा हिँडेर विपक्षी राजनीतिक दलका नेतालाई प्रतिशोध साँध्न बिनाकुनै प्रमाण पक्राउ गरिरहेको छ’, बडालले भने ।
पौडेल भागेर जाने व्यक्ति नभएको भन्दै बडालले अनुसन्धानमा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनलाई हिरासतमुक्त गर्नुपर्ने बताएका हुन् ।
चुन्न प्रसाद शर्मा र कमल किशोर मालपानीको श्रीराम टोबाकोको २० प्रतिशत सेयर अर्को कम्पनीले किन्दा विष्णु पौडेलले दबाब दिएको भन्ने पूरक अभियोगमा कसैले बयान दिएकै आधारमा उनलाई पक्राउ गर्न नमिल्ने बडालले तर्क गरे ।
‘त्यो सेयर किन्न दबाब दिएको भन्ने कुरा कतै एसएमएसबाट वा संवादबाट देखिएको छ ? के त्यो सेयर विष्णु पौडेलले किनेका हुन् ? विष्णु पौडेलको परिवारको नाममा वा आफन्त, नातेदारको नाममा आएको हो ?’, बडालले भने ।
पौडेललाई दिइएको जरुरी पक्राउ पुर्जीको समर्थन तथा म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । उनको तर्फबाट कानुन व्यवसायीहरूले विशेष अदालतमा बहस गरिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले २० दिन म्याद थप मागेको छ ।