
गृह मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन र नागरिकताबाट वञ्चित योग्य व्यक्तिको विवरण सङ्कलन गरी कानुनअनुसार नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रअनुसार गत असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्या सम्बन्धमा भएको छलफलपछि उक्त निर्देशन दिइएको उल्लेख छ। सचिवस्तरीय निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सुस्ता क्षेत्रभित्र सुरक्षाका दृष्टिले संवेदनशील स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको छ।
यस्तै, उक्त क्षेत्रमा बसोबास गर्ने धेरै व्यक्तिले नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएकाले नागरिकता पाउन योग्य व्यक्तिको सूचना सङ्कलन गरी प्रोफाइल तयार गर्न भनिएको छ। योग्य व्यक्तिलाई प्रचलित नागरिकता ऐन तथा नियमावलीअनुसार प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
प्रचलित कानुनअनुसार नागरिकता प्रदान गर्न नमिल्ने अवस्था भए त्यसको आधार र कारण स्पष्ट उल्लेख गरी नीतिगत पहलका लागि गृह मन्त्रालयमा प्रतिवेदन पठाउन पनि जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको छ।