१९ असार २०८३, शुक्रबार

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

असार १७, २०८३
काठमाडौं
त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन् ।

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

पूर्वाधार विज्ञ रहेका थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । तर उनी पराजित हुन पुगे । 

सरकारले अध्यादेश ल्याएसँगै त्रिवि सेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी बर्खास्त भएका थिए । त्यसपछि रिक्त पदमा थापा नियुक्त भएका हुन् । यस्तै त्रिवि सेवा आयोगको सदस्यमा  प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

शहरी विकास, शिक्षा, पर्यटनलगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका थापा सचिवबाट अवकास पाएपछि बागमती सरसफाइ अभियानमा सक्रिय भएका थिए । 

उनी २०३१ सालको एसएलसी बोर्ड टपर हुन् । कलकत्ता विश्वविद्यालयबाट आर्किटेक्ट इन्जिनियर पढेका थापाले दिल्ली स्कुल अफ ल्यानिङ एन्ड आर्किटेक्चरबाट अर्बन प्लानिङमा मास्टर्स गरेका छन्। 

अर्बन प्लानिङको अध्ययनका लागि उनी एक वर्ष अमेरिकामै बसेका थिए। व्यवस्थापन र प्रशासनसम्बन्धी विभिन्न देशबाट तालिम लिएका थापा आवास नीतिका विज्ञ पनि हुन्। 

salt training

कमेन्ट गर्नुहोस्