त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन् ।
त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
पूर्वाधार विज्ञ रहेका थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । तर उनी पराजित हुन पुगे ।
सरकारले अध्यादेश ल्याएसँगै त्रिवि सेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी बर्खास्त भएका थिए । त्यसपछि रिक्त पदमा थापा नियुक्त भएका हुन् । यस्तै त्रिवि सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शहरी विकास, शिक्षा, पर्यटनलगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका थापा सचिवबाट अवकास पाएपछि बागमती सरसफाइ अभियानमा सक्रिय भएका थिए ।
उनी २०३१ सालको एसएलसी बोर्ड टपर हुन् । कलकत्ता विश्वविद्यालयबाट आर्किटेक्ट इन्जिनियर पढेका थापाले दिल्ली स्कुल अफ ल्यानिङ एन्ड आर्किटेक्चरबाट अर्बन प्लानिङमा मास्टर्स गरेका छन्।
अर्बन प्लानिङको अध्ययनका लागि उनी एक वर्ष अमेरिकामै बसेका थिए। व्यवस्थापन र प्रशासनसम्बन्धी विभिन्न देशबाट तालिम लिएका थापा आवास नीतिका विज्ञ पनि हुन्।