
देशकै लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यको नेपाल टूरअन्तर्गत यही माघ २४ गते बुटवलमा कन्सर्ट हुने भएको छ ।
ब्याकअप इभेन्टस्को आयोजनामा हुने कन्सर्ट रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलको कम्पाउण्डमा ७ फेब्रुअरीमा हुनेछ ।
ब्याकपअ इभेन्टस्ले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी तीव्र पारिएको जानकारी दिएको हो । नेपाल टुरअन्तर्गत बन्दीपुर, चितवन, हेटौंडा र बुटवलमा आयोजना गरिएको हो ।
ब्याकअप इभेन्टस्का सञ्चालक सविन अर्यालले शिक्षा क्षेत्रको प्रबर्द्धनका लागि ३० वर्षभन्दा मुनिका युवाहरूको पहलमा कार्यक्रम राखिएको बताए ।
कन्सर्ट हेर्नका लागि विद्यार्थीलाई सहुलियतका १ हजार र नर्मल टिकट १ हजार ५०० राखिएको उनको भनाइ छ ।
ब्याकअप इभेन्टस्का सल्लाहकार सन्तोष टन्डनले नेपथ्यसँग बुटवल झुम्ने बताए । कार्यक्रम साँझ सवा चार बजेबाट शुरू भएर सवा ८ बजे सकिने उनको भनाइ छ ।
कार्यक्रममा ६ हजार जना सहभागी हुने आयोजकको अपेक्षा छ ।
नेपथ्यको प्रमुख गायक अमृत गुरुङ हुन् । गुरुङ नेतृत्वको नेपथ्य ब्यान्डले विगत ३० वर्षदेखि प्रस्तुति दिँदै आएको छ ।
संगीतमा रुचि राख्ने र संस्कृति प्रेमीलाई एउटै प्लेटफर्ममा एक साथ ल्याउने उद्देश्यले कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।