१४ असार २०८३, आइतबार

विश्वकप अघि नेपालले युएईलाई ७ विकेटले हरायो

माघ २०, २०८२
काठमाडौं
विश्वकप अघि नेपालले युएईलाई ७ विकेटले हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटको औपचारिक अभ्यास खेलमा नेपाल युएईसँग विजयी भएको छ । मंगलबार भएको वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर १४८ रन बनायो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६१ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५० रन बनाए । कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट हुँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८ रन जोडे ।  

युएईका मुहम्मद रोहिदले एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । युएईका सोहेब खानले सर्वाधिक ३८ रन बनाए । यस्तै हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट भए ।  

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । टी–२० विश्वकपको १०औँ संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

आगामी विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिज टी–२० विश्वकपका पूर्वविजेता हुन् । अन्तिम समयमा बंगलादेशले विश्वकप बहिस्कार गरेपछि स्कटल्यान्डले खेल्ने अवसर पाएको हो ।

 

 

 

salt training

कमेन्ट गर्नुहोस्